कोभिड–१९ संक्रमणबाट मुक्त भइसकेको अवस्था भए पनि सोच्न सक्ने क्षमता तथा एकाग्रतामा समस्या हुने एक अध्ययनले देखाएको छ। बेलायतको किङ्स कलेज र क्याम्ब्रिज विश्वविद्यालयले संयुक्त रूपमा गरेको एक बृहत् अध्ययनले यस्तो समस्या हुने देखाएको हो। कोरोना संक्रमणबाट निको भएका ८१ हजार जनामा अध्ययन गरिएको थियो।
अनलाइनमार्फत विभिन्न शीर्षक राखेर गरिएको परीक्षणमा गम्भीर लक्षण भएकाले अत्यन्त कम अंक ल्याएको पाइएको छ। कोरोना संक्रमितमा तर्क गर्ने तथा समस्या समाधान गर्ने क्षमतामा अत्यधिक असर परेको अध्ययनले देखाएको छ। अधिकांशमा विभिन्न संज्ञानात्मक समस्या पनि अध्ययनले देखाएको छ। श्वासप्रश्वासमा गम्भीर समस्या भएर मेकानिकल भेन्टिलेटरमा उपचार गरिएका बिरामीको संज्ञानात्मक क्षमतामा सबैभन्दा धेरै ह्रास भएको अध्ययनले देखाएको छ।
यसअघि कोरोना निको भएकाहरूमा ‘लङ कोभिड’ का विभिन्न असर देखिए पनि संज्ञानात्मक समस्याबारे यथेष्ट जानकारी नभएको परिप्रेक्ष्यमा प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटको ई–क्लिनिकल मेडिसिनमा हालै प्रकाशित उक्त अध्ययनको नतिजालाई अत्यन्त महत्वपूर्ण मानिएको छ। ‘लङ कोभिड अर्थात् दीर्घ कोभिडअन्तर्गत मानिसमा कमजोरी महसुस हुने, सही शब्द खोज्नमा कठिनाइ देखिने, स्थिति भ्रान्ति, एकाग्रतामा समस्यासहित विभिन्न मनौवैज्ञानिक लक्षणका कारण ‘ब्रेन फग’ को समस्या पनि आउने भनी यसअघिकै अध्ययनहरूले प्रस्ट्याइसकेका थिए।
अध्ययनमा सहभागीलाई मानिसको तर्क क्षमता, एकाग्रता, भावना प्रसंस्करण क्षमतासहितका संज्ञानात्मक क्षमता पहिचान गर्ने नौवटा शीर्षकमा विभिन्न परीक्षण गरिएको थियो। ती परीक्षणपछि सामाजिक, जनसांख्यिक, जीवनस्तर तथा व्यावसायिक सूचकहरू समेटिएका अन्य थप प्रश्नावलीमा पनि धारणा राख्न लगाइएको थियो। सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म संक्रमित भएर निको भएका तथा विभिन्न उमेर, लिंग, जातजाति, शिक्षा तथा आयको स्तर, फरक व्यवसायमा संलग्न ८१ हजार ३ सय ३७ सहभागीलाई अनलाइनमार्फत विभिन्न प्रश्न सोधेर बुद्धि परीक्षा (इन्टेलिजेन्स टेस्ट) पनि लिइएको थियो।
कोभिड–१९ ले मानिसको बहुपक्षीय संज्ञानात्मक कार्यसम्पादनलाई कतिसम्म प्रभाव पारेको छ भन्ने पत्ता लगाउन अध्ययन गरिएको थियो। अनुसन्धानकर्ताले मेडिकल सपोर्ट आवश्यक नरहेका र घरमै बसेर निको भएका विभिन्न उमेर र जनसांख्यिक समूहमा पनि संज्ञानात्मक क्षमतामा समस्या देखिएको उल्लेख गरेका छन्। यसैगरी श्वासप्रश्वासमा देखिएको गम्भीरताका आधारमा यो संज्ञानात्मक क्षमता फरक देखिएको छ भने मध्यम खाले बिरामीमा पनि यस्तो समस्या देखिएको अध्ययनको निष्कर्ष छ।
संज्ञानात्मक क्षमतामा ह्रास आउनुको जैविक आधार पत्ता लगाउन तत्काल थप अध्ययन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। रोगको लक्षण देखिएको १ देखि ६ महिनाबीचको अवधिका बिरामीमा यो अध्ययन भएकाले संज्ञानात्मक क्षमतामा कति लामो समय प्रभाव पर्ला भनेर अध्ययनले नजिताले यसै भन्न नसकिने पनि अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानकर्ताले यस्तो अध्ययन लामो समयसम्म हुनुपर्ने बताएका छन्। संज्ञानात्मक क्षमताका ह्रास आउनुको सही कारण थाहा हँुदा महामारीपछिको पुनरुत्थानका चुनौती सामना गर्न सहज हुने दाबी उनीहरूको छ।
प्रकाशित: ३० श्रावण २०७८ ०१:५६ शनिबार