६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

मानसिक स्वास्थ्यमा ध्यान नपुग्दा समस्या

पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै जादा भाइरल ज्वरोका बिरामीको चापले रोल्पा अस्पताल भरिन थालेको छ। मंगलबार पनि १५ बेडको मात्र क्षमता रहेको जिल्लाकै एक मात्र अस्पतालमा हरेक चिजको अभाव रहेको छ। कोरोना करहको आतंकले आम नागरिकमा त्रास फैलिएको लामो समय पुगिरहँदा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्न थालेको स्वास्थ्यकर्मीहरू बताउँछन्। मानसिक स्वास्थ्यका सवालमा कोही कसैको नजर पुगेको देखिँदैन।  

अहिले अस्पतालमा आउने अधिकांश बिरामी शारीरिक रोगभन्दा पनि मानसिक समस्या लिएर आउने गरेका छन्। स्वास्थ्यकर्मीका अनुसार बिरामी शारीरिक समस्या भनेर आउँछन् तर उनीहरूमा बिरामी नभई मानसिक तनाव वा त्रासले घर बनाएको हुन्छ। रेडियो, टिभीमा दैनिक देखिने सुनिने कोभिडका समाचारले आम नागरिकका मनमा चिन्ता र डर थप्दै लगेको हो।  

दैनिक अस्पतालको दैलोमा आउने दर्जनौं बिरामीलाई यतिबेला मनोविमर्श सेवाको आवस्यकता रहेको छ तर यहाँका अस्पताल तथा अन्य कुनै पनि सेवाप्रवाह गर्ने सरकारी संरचनामा एक जना पनि मनोविमर्शकर्ता छैनन्। अखबार, रेडियो, टिभीले पनि भय र त्रासका खबर बढी प्रस्तुत गरिदिनाले सर्वसाधारण थप चिन्तामा पर्ने गरेका हुन्।

‘कोभिड निको भएकाहरू सामान्य समस्यामा पनि सन्चै भएन भनेर आउँछन्। पोस्ट कोभिड ट्रमा पनि सुरु भएको छ,’ रोल्पा अस्पतालकी डा. प्रतिभा सुवेदी भन्छिन्, ‘व्यक्तिहरूले मानसिक समस्या बोक्न थालिसकेका छन्। सामान्य रुघा, खोकी र ज्वरो आउनेबित्तिकै कोरोना लाग्यो भन्दै अस्पताल आउनेहरू पनि प्रसस्तै छन्।’ उनका अनुसार यतिबेला व्यक्तिलाई काउन्सिलिङ सेवाको आवश्यकता बढी छ।  

जनमानसमा कोरोनाका यथार्थ र भ्रमबारे गतिलो सूचना प्रवाह गर्न नसक्दा पनि समस्या थपिएको चिकित्सक बताउँछन्। स्वास्थ्य क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय र तीनै तहका सरकार मानसिक स्वास्थ्यका सवालमा अनभिज्ञ छन् अथवा चासो दिएका छैनन् भन्ने अन्योल छ। त्यसो त दैनिक खबर प्रकाशन/प्रसारण गर्ने राष्ट्रिय र स्थानीय सञ्चार माध्यमले पनि कोरोनाबारे चेतनामूलक गतिला सामग्री पस्कने गरेको पाइँदैन।  

मरिन्छ कि भनेर डराउने, तनाब, आत्तिने, छटपटी, निद्रा नलाग्ने, खान मन नलाग्ने, अवहेलनामा परिन्छ कि भन्ने त्रासलगायत समस्याले जेलिएका मानिसलाई समयमै गतिलो सूचना र मनोविमर्श सेवा प्रदान गर्न सरोकारवाला चनाखो हुनुपर्ने देखिन्छ। रोल्पा अस्पतालमा देखिएका जस्तै समस्या देशैभरिका स्वास्थ्य संस्थामा भरपुर छ तर चिकित्सक अनेकन स्वार्थका कारण पनि मानसिक समस्याका विषयमा बोल्ने गरेका छैनन्।  

समयमै समस्या व्यवस्थापन गर्न सकिएन र व्यक्तिले लामो समयसम्म मानसिक समस्या झेलिरहनु पर्ने अवस्था आयो भने गम्भीर दुर्घटना हुने खतरा बढ्ने देखिन्छ। तर राज्यका जिम्मेवार पक्षले जिम्मेवारी बोध नगरिदिँदा जहिल्यै समयमै समस्या समाधान हुँदैन। एक स्वास्थ्यकर्मीका अनुसार स्थानीय सरकारलाई मानसिक स्वास्थ्य समस्या हो भन्ने जानकारी नै छैन। जनप्रतिनिधि स्वास्थ्यका बिषयमा कत्ति पनि संवेदनशील छैनन्।

प्रकाशित: २७ श्रावण २०७८ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App