६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

वडाका ३ स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न स्थानीयको माग

क्याप्शन

काठमाडौंका स्थानीयवासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। हिजो (शुक्रबार)बाट सुरु भएको खोप काठमाडाैं महानगरपालिका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ। 

तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकि सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गरे। उनले भने, ‘धेरै बाँकी छन्, भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरु। एउटा वडामा ३ वटा ठाउँ तोकि सबैले खोप लगाउने पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो। खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद।’

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ। कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताए। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको उहाँको दावी थियो। 

वडाध्यक्ष केसीले भने, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको छ।’

काठमाडौं महानगरपालिकाले भोलि (आईतबार) सम्म यो खोप लगाउने व्यवस्था गरेको छ। तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताए। 

प्रकाशित: २३ श्रावण २०७८ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App