८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले पहिलो चरणमा उपलव्ध गराएको स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिँदै। तस्बिर: दमन राई/नागरिक

खोटाङ सेवा समाज यूकेले दोश्रो चरणमा खोटाङलाई कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने १३ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलव्ध गराएको छ। पहिलो चरणमा ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको खोटाङ सेवा समाज यूकेले पुन: १३ लाख १४ हजार मूल्यको स्वास्थ्य सामग्री पठाइदिएको हो। 

दोश्रो चरणमा एक थान पोर्टेबल एक्स-रे मेसिन, चार थान प्यासिन्ट मोनिटर, चार थान स्टेण्ड माउण्टेड, २६० थान एन्टीजेन टेष्ट किट, १ हजार ४७१ ट्यावलेट भिटामिन सि र १ हजार ४७१ ट्यावलेट भिटामिन डि उपलव्ध गराएको हो। कोभिड–१९ को महामारी फैलिरहेका बेला यूकेमा खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सञ्चालन गरेको खोटाङ सेवा समाज यूकेका अध्यक्ष अध्यक्ष डा. प्रमोद कोयीले खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई भर्चुअल माध्यमबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। 

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए। कोभिड-१९ को महामारीका क्रममा उपचारका लागि अन्यत्र जानुपर्ने वाध्यता न्यूनीकरण गर्दै जिल्लामै उपचारको व्यवस्थाका लागि टेवा पुर्‍याउने लक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले स्वास्थ्य सामग्री जुटाइदिएको जनाएको छ।  

खोटाङ सेवा समाज यूकेले गत जेठ २६ गते ९० वटा थर्मल गन, ९ वटा ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १ थान बिआइपिएपी, २० थान रिजभ्र्वयर सहितको अक्सिजन मास्क, २ थान इन्ट्यूवेसन, ५ थान पेडियट्रिक पल्स अक्सिमिटर, ९० थान एडल्ट पल्स अक्सिमिटर, ५० वटा एडल्ट सक्सन ट्यूव, १० थान गाइडल्स एयरवे, ५० थान थ्रि वे अक्सिजन कारमेला २२, ५ थान हाइ फ्लो नेजल क्यानेल्ला, १ थान इलेक्ट्रिक सक्सन र ९० थान कनेक्सन पाइप र मास्क पठाएको थियो। सो स्वास्थ्य सामग्री जिल्लाका १० स्थानीय तह र जिल्ला अस्पतालमा पुग्नेगरी पठाइदिएको खोटाङ सेवा समाज यूकेले जनाएको छ।  

कोभिड-१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमा मृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला खोटाङ सेवा समाज यूकेले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको थियो। आफ्नो जन्मभूमिमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ खोटाङ सेवा समाज यूकेले प्राणघातक रोग कोभिड विरुद्ध यूकेमा अभियान सञ्चालन गरिएको विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए।  

खोटाङको सामाजिक र मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो। त्यो भन्दा अघि पनि समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन प्रदान गरेको थियो।  

प्रकाशित: २० श्रावण २०७८ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App