७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भारतले दियो वीपी प्रतिष्ठानलाई प्रतिमिनेट हजार लिटर उत्पादन क्षमताको अक्सिजन प्लान्ट

वीपीको कोभिड अस्पताल हातामा राखिएको नयाँ अक्सिजन प्लान्ट । तस्बिर : रोहित राई

भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अक्सिजन प्लान्ट सहयोग गरेको छ।  

भारतीय दूतावासमार्फत आएको नयाँ प्लान्ट प्रतिष्ठानको कोभिड अस्पतालमा आइसकेको छ। कम्पनीको इञ्जिनियर आएर इन्स्लटलेसन गरेपछि प्लान्ट सञ्चालनमा ल्याइने प्रतिष्ठानले जानकारी दिएको छ। यो नयाँ प्लान्ट प्रतिमिनेट एक हजार लिटर अक्सिजन उत्पादन गर्ने क्षमताको हो। यो प्लान्ट सञ्चालनमा आएपछि कोभिड अस्पतालका विरामीहरुलाई धेरै लाभ पुग्ने अपेक्षा गरिएको छ।  

प्रतिष्ठानका सिभिल इञ्जिनियरिङ शाखा प्रमुख विकास बस्यालका अनुसार केही दिनमा कम्पनीबाट इञ्जिनियरहरु आएर इन्स्टलेसन गर्ने बताए। ‘हामीले प्लान्ट राख्ने ठाउँ मात्र बनाएका हौं, प्लान्टलाई भारत सरकारले फाष्ट ट्रयाकबाट पठाइदिएको हो। हाम्रो खर्च भएको होइन,’ उनले भने।  

यो प्लान्ट डिन डा.सिवेन्द्र झाको बिशेष समन्वयमा भारतीय दूतावासमार्फत वीपी प्रतिष्ठानले पाएको हो। डिन झाले दूतावाससँग समन्वय गरेका थिए भने उपकुलपति डा.ज्ञानेन्द्र गिरीसँग पनि यो विषयमा दूतावासमा अधिकारीहरुसँग सम्पर्क गराएका थिए। उपकुलपति गिरी र डिन झाले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गरेको र सोही अनुसार विभिन्न योजनाका प्रस्तावहरु पनि पठाएका थिए। त्यसमध्ये दूतावासबाट अक्सिजन प्लान्ट चाँडै प्राप्त भएको डिन झाले जानकारी दिए। उनले भने,‘हामीले थुप्रै योजनाहरु प्रस्ताव गरेका थियौं, त्यसमध्ये एउटा अक्सिजन प्लान्ट चाडै प्राप्त गर्यौं।’

यो प्लान्टको मूल्य करिब अढाई करोड रहेको छ। यसबाट कोभिड अस्पतालमा पूर्ण क्षमताको प्रेसरमा अक्सिजन विरामीहरुसम्म पुर्‍याउन सकिने र जिवन उपयोगी हुने डिन झाले बताए। ‘कोभिड अस्पतालमा अक्सिजन प्रेसर कम नहोस् भनेर त्यही राख्ने सल्लाह गर्यौं, कोभिड पछि पनि त्यहाँ आइसियु विस्तार गरेर उपयोग हुन्छ,’ उनले भने।  

यसअघि प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर क्षमताको मुख्य अक्सिजन प्लान्ट सञ्चालनमा थियो। त्यहीबाट नै पाइपलाइन जोडेर कोभिड अस्पतालसम्म अक्सिजन सप्लाई गर्दा प्रेसर कम भएको गुनासो आउने गरेको थियो भने बेला बेला प्लान्टमा समस्या आएर पूर्ण क्षमतामा सञ्चालन नहुँदा अक्सिजन अभावले कोभिडका विरामी मृत्यु भएको भन्दै चर्को आलोचना पनि भइरहेको थियो। चर्को आलोचनाको बीचमा प्रतिष्ठानले गत असार तेस्रो साता २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक पनि सञ्चालनमा ल्याइसकेको छ। 

नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट यो ट्यांक सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ। अक्सिजनको ब्याकअपको रुपमा रहने यो ट्यांकले मुख्य अक्सिजन प्लान्ट नचल्दा पनि ५/६ दिनसम्म धान्न सक्ने प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए।

प्रकाशित: १६ श्रावण २०७८ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App