१० माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्। घटनाबारे प्रतिष्ठानले छानविन समिति गठन गरेर कारबाही गर्ने साथै आरोपित लेखा प्रमुख कमल रायमाझीले माफी मागेर भविष्यमा यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाउनेलगायत विषयमा सहमति भएपछि जुनियर रेजिडेन्टहरू काममा फर्किएका हुन्।  

घटनाको विरोधमा जुनियर रेजिडेन्टहरूले कोभिड अस्पताल र इमर्जेन्सीबाहेक सबै सेवा बहिष्कार गरेपछि उपचार सेवा प्रभावित भएको थियो। संयुक्त संघर्ष समितिको आन्दोलनबाहेक जुनियर रेजिडेन्टहरूले सेवा बहिष्कारको थप आन्दोलन चर्काएपछि प्रतिष्ठान पदाधिकारीले जेआरहरूसँग वार्ता थालेका थिए। प्रतिष्ठान पदाधिकारी र जुनियर रेजिडेन्ट (जेआर), कर्मचारी प्रतिनिधिबीच बुधबार र बिहीबार निरन्तर वार्ता भएको थियो। बिहीबार बिहान ९ बजेदेखि विभिन्न चरणमा भएको वार्ता राति ९ बजेतिर मात्र निष्कर्षमा पुगेको थियो। सो वार्तामा संलग्न पदाधिकारी, कर्मचारी र जुनियर रेजिडेन्टहरूले लेखा प्रमुख रायमाझीले गल्ती गरेको र कारबाही हुनुपर्ने निष्कर्ष निकालेको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ।  

वार्तामा रायमाझीले लिखित माफी माग्ने, भविष्यमा यस्ता कार्य नदोहोर्‍याउने प्रतिबद्धता गर्ने, प्रतिष्ठान प्रशासनले पनि यस्तो कार्य वा घटना नदोहोरिने वातावरण सुनिश्चित गर्ने, दोषीलाई प्रतिष्ठानले स्पष्टीकरण सोध्ने र नियमानुसार आन्तरिक कारबाही गर्ने सहमति भएको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ। सो सहमतिपछि सोसाइटीका अध्यक्ष डा. राजेन्द्र घिमिरे, उपाध्यक्ष डा. पदम नेपाली र सचिव डा. गणेश फुलाराले संयुक्त विज्ञप्तिमार्फत शुक्रबारदेखि जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएको जनाएका छन्। उनीहरूले सहमति पालना नभएमा र रायमाझीलाई कारबाही नभए सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिएका छन्।  

लेखा प्रमुख रायमाझीले अभद्र व्यवहार गरेको भन्दै डा. कार्कीले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका थिए। उनको जाहेरी दर्ता भइसकेको छ। प्रहरीमा जाहेरी दर्ता भइसकेकाले कानुनी कारबाही सम्बन्धमा भने सहजीकरण गर्ने पनि समझदारी भएको छ। गत आइतबार राति लेखा प्रमुख रायमाझीले मदिरा सेवन गरेको अवस्थामा छिमेकी आवासमा रहेका डा. कार्कीलाई गालीगलोज, धम्की र हातपातको प्रयास गरेको बताइएको छ। डा. कार्कीलाई एस टाइपमा स्थानान्तरण गरेर हाल उनी बस्दै आएको आवास पनि आफ्ना लागि प्रयोग गर्ने प्रयासमा रायमाझी लागेका थिए। सोही क्रममा एस टाइपमा कोठा खाली भएपछि सर्ने रायमाझीले डा. कार्कीलाई सार्ने प्रयास गरेका थिए। तर, डा. कार्कीले आफू तत्काल कोठा नसर्ने जफाब दिएपछि आइतबार रातिको घटना भएको थियो।  

प्रतिष्ठानका अनुसार प्रसूति विभागका प्रमुख डा. पप्पु रिजालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ। समितिको सदस्यमा नर्सिङ फ्याकल्टी रम्भा सिग्देल र कर्मचारीतर्फबाट प्रकाश श्रेष्ठ छन्। प्रतिष्ठानमा भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन दोषीलाई लिखित स्पष्टीकरण माग गर्ने र निर्धारित समयमा उचित स्पष्टीकरण नआएमा प्रतिष्ठानको नियमावलीबमोजिम कारबाही प्रक्रिया अघि बढाउने पनि प्रतिबद्धता उपकुलपति डा. गिरीले जनाएका छन्। अन्य तथ्यहरूको सम्बन्धमा छानबिन समितिको प्रतिवेदनअनुसार हुने पनि उनको भनाइ छ।

प्रकाशित: ९ श्रावण २०७८ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App