८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

स्वास्थ्यमन्त्री श्रेष्ठले गरे खोप ल्याउने प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातवरण, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले पहिलो दिन स्वास्थ्य मन्त्रालयमा उपस्थित भई खोप जसरी पनि ल्याउने प्रतिबद्धता जाहेर गरेका हुन्। प्राप्त खोप सिन्धुपाल्चोकका बाढीपीडितलाई प्राथमिकता दिने बताए।

मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको अवस्थामा खोप लिन सक्यौं भने ठूलो उपलब्धि हुनेछ।’ उनले सो क्रममा सरकारको काम गर्ने क्षमता भएको जनाउँदै नआत्तिइकन निर्भिक भएर गन्तव्यमा पुग्ने बताए। सोही क्रममा मन्त्री श्रेष्ठले चामत्कारिक रुपमा सरकार सफलतातिर जाने बताए। ‘संयुक्त टिमले काम गर्ने हो, चामत्कारिक सफलतातिर जान्छौं,’ उनले भने।  

संक्रमणदर १७.५ प्रतिशत

गत चौबिस घण्टामा संक्रमणदर १७.५ प्रतिशतमा झरेको छ। अघिल्लो दिन यो संख्या २० प्रतिशत थियो। गत चौबिस घण्टामा परीक्षण भएका १४ हजार ३ सय ५१ वटा नमुनामध्ये २४ सय ७६ जनामा कोरोना पुष्टि भएको हो। थप संक्रमितसहित नेपालमा कोरोना संक्रमणको दोस्रो लहरको अवधिमा ४ लाख ४ हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ। थप सहित नेपालमा कुल संक्रमित संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ।

गत चौबिस घण्टामा नेपालमा थप २७ जनाको मृत्यु भएको छ। थप मृतकसहित कुल मृतक संख्या ८ हजार ९ सय ४५ जना पुगेको छ। तीमध्ये दोस्रो लहरको अवधिमा ५ हजार ६ सय ६६ जनाको मृत्यु भएको हो। सो अवधिमा काठमाडौं उपत्यकामा ४ सय २७ जनामा कोरोना पुष्टि भएको छ। हाल देशभरिमा ४२ हजार ९ सय १० जना होम आइसोलेसन र २ हजार ८ सय ८४ जनाको संस्थागत आइसोलेसनमा गरी ४५ हजार ३ सय ११ जना सक्रिय संक्रमित छन्। तीमध्ये ७ सय १४ जनाको आइसियुमा र २ सय १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: १२ असार २०७८ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App