१ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना घटेसँगै सहज हुँदै जनजीवन, जोखिम कायमै

पछिल्लो साता कोरोना संक्रमणको दर घट्दै गएसँगै विराटनगरको मुख्य बजार क्षेत्रमा चहलपहल बढेको छ। एक साता अघिसम्म दैनिक १ सयभन्दा बढी संक्रमित थपिने गरेकोमा यति बेला दैनिक ५० भन्दा कम संक्रमित देखिएका छन्। दैनिक संक्रमितको संख्या घटेसँगै विराटनगर महानगरपालिकालगायत मोरङमा लगाइएको निषेधाज्ञा पनि केही खकुलो पारिएको छ । निषेधाज्ञा खकुलो भएसँगै विराटनगरको बजारमा चहलपहल बढेको हो।  

पछिल्ला दिनको तथ्यांक हेर्दा विराटनगरमा असार ३ गते ८३ जना संक्रमित देखिएकोमा असार ७ गते दैनिक संक्रमणको दर घटेर ४६ मा झरेको छ । लामो समयदेखिको लकडाउन र विराटनगर महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणमा खेलको सकारात्मक भूमिकाका कारण संक्रमण दर घट्दै गएको विराटनगर महानगरपालिका स्वास्थ्य निरीक्षक हैदर अली बताए ।  

अलीका अनुसार कोरोना संक्रमणको दर मात्रै घटेको तर अझै नियन्त्रणमा आइनसकेकाले जोखिम कायममै छ। कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु जरुरी रहेको उनले बताए । उनका अनुसार स्वास्थ्य मापदण्ड विपरीत व्यवहार गरे लकडाउन खुकुलिएसँगै पुनः कोरोना संक्रमणको दर बढ्ने जोखिम यथावत् छ। अलीले भने, ‘जोखिम यथावत रहेका कारण अनिवार्य स्वास्थ्यको मापदण्ड पालना गर्न सबैलाई महानगरको अनुरोध छ।’

कोरोना महामारीको दोस्रो भेरियन्ट नियन्त्रणका लागि महानगरपालिकाले आफ्नो क्षमताअनुसारको सेवा प्रदान गरिरहेको जनाएको छ। प्रदेशको राजधानी र भारतसँगको खुला सीमा क्षेत्र भएकाले पनि कोरोना भाइरस नियन्त्रण गर्न ठूलो चुनौती छ। ‘महानगरपालिकाको क्षमता अनुसार कोरोना संक्रमितको उपचार र सेवा प्रदान गरिरहेका छौं,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने, ‘प्रदेशको राजधानी हुनुकासाथै भारतसँगको खुला सीमा चुनौतीका रुपमा देखिए पनि नियन्त्रणका लागि सक्दो मेहनत गरिरहेका छौं। संक्रमितलाई हामीले सक्ने स्वास्थ्य सेवा घरमै गएर पनि दिने गरेका छौं।’  

महानगरपालिकाले कोरोना नियन्त्रणका लागि नगरको ३ क्षेत्रमा स्वाब नमुना संकलन गर्नुका साथै अशक्त, वृद्धि तथा बालबालिकाका लागि घरमै पुगेर मोबाइल भेनबाट स्वाब संकलन गरिरहेको छ। भारतबाट आउनेलाई रानी भन्सारमा दैनिक एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । कोरोना संक्रमित र गर्भवतिलाई स्वास्थ्य सेवा लिन घरबाट अस्पताल जान निःशुल्क एम्बुलेन्स सेवा दिनुका साथै मृतकको शव व्यवस्थापनको कार्य पनि महानगरपालिकाले गरिरहेको जनाएको छ।  

महानगरपालिकाका स्वास्थ्य निरीक्षक अलीका अनुसार बैजनाथपुरको स्वास्थ्य चौकीमा २५ बेड र आरआरएनको भवनमा ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ । बिरामीहरुलाई अस्पतालसँग समन्वय गरी भर्ना गर्ने, होम आइसोलेसनमा बसेका संक्रमितलाई अक्सिजन सेवा प्रदान गरिएको छ। महानगरपालिकाले नेपाल चिकित्सक संघसँग समन्वय गरी फोनमार्फत पनि परामर्श दिने व्यवस्था गरेको छ। जसका लागि ३० जना चिकित्सकको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिएको अलीले बताए।  

त्यस्तै कोभिड १९ ओपिडी सेवा, प्लाजमा बैंक सञ्चालन र कोसी अस्पताललाई स्वास्थ्य उपकरण तथा अस्पतालसँग समन्वय गरी बेड क्षमता बढाउनेलगायतका काम गरेको महानगरपालिकाले जनाएको छ। ‘हाम्रो क्षमता र सामथ्र्यले भ्याएसम्म नगरवासीलाई पिसिआर र एन्टिजेन परीक्षण, स्वास्थ्य उपचारलगायतको सेवा सुविधा प्रदान गरिरहेका छौं, प्रमुख पराजुलीले भने, ‘बिरामी उपचारका लागि आवतजावत गर्न एम्बुलेन्सले मात्रै नभ्याएपछि मैले चढ्दै आएको गाडी संक्रमित बोक्नका लागि प्रयोग गरिएको छ । नगरका अन्य केही व्यक्तिले पनि आफ्नो निजी गाडी दिएर सहयोग गरेका छन्।  

होम आइसोलेसनमा बसेका बिरामीलाई अक्सिजन र चिकित्सकसँग परामर्शलगायतको व्यवस्था गरेका छौं।’ महानगरपालिकाले बनाएको बैजनाथपुर स्वास्थ्य चौकी आइसोलेसन सेन्टरबाट कोरोना संक्रमणमुक्त भएका विराटनगर–१६ का भरत साहले भने, ‘यहाँबाट राम्रो सेवासुविधा प्राप्त गरें । बस्ने, खानेको राम्रो व्यवस्थाको साथै स्वास्थ्यकर्मीबाट दैनिक स्वास्थबारे जानकारी लिने गरिएको छ।’ त्यस्तै विराटनगर–३ कि मन्दिरा भण्डारीले भनिन्, ‘पोजेटिभ रिपोर्ट आएपछि महानगरपालिको गाडीले घरबाट आइसोलेसन सेन्टर र पछि नेगेटिभ भएपछि पनि उनीहरुकै गाडीमा घरसम्म ल्याइदिए। 

यस सेन्टरमा निःशुल्क खाना, बस्नको प्रबन्ध राम्रो थियो। संक्रमितहरु स्वास्थ्यकर्मीबाट समय समय अवस्थाबारे सोधखोज गर्ने र आत्मबल बलियो बनाउनका लागि हौसला दिन्थे।’ विराटनगरमा कोरोनाको दोस्रो लहरले हालसम्म १ सय ३८ जनाको मृत्यु भइसकेको छ। विराटनगरमा कुल कोरोना संक्रमित १० हजार ३८ जना पुगेको छ । ७ हजार ७ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेको महानगरपालिकाले जनाएको छ।  

प्रकाशित: ८ असार २०७८ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App