भक्तपुर भन्नेबित्तिकै धेरैलाई लाग्छ– मल्लकालीन पचपन्न झ्याले दरबार, पाँचतले मन्दिर। शिद्धपोखरी अनि मूल ढोकामै रहेको दरबार क्षेत्र। तर भक्तपुर यतिमा मात्र सीमित छैन। कला, संस्कृति र सभ्यताले जीवन्त सहर प्रत्येक दिन भक्तपुरवासीलाई समेत नौलो लाग्छ। हरेक पन्ध्र दिन र महिना दिनमा आउने यहाँको सांस्कृतिक पर्व, दाफाभजन, परम्परागत नाचगान र परम्परागत सिप–मृत्तिकाकला, वास्तुकला, हस्तकला आदिका कारण भक्तपुरलाई ‘जीवन्त कला–संस्कृति’सहितको महोत्सवै महोत्सवको सहरका रूपमा चिनिन्छ।
यही सहरले मंसिर २८ गतेदेखि पुस २ गतेसम्म चल्ने गरी पाँच दिने बृहत् भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ।
भक्तपुरको कला, संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने मुख्य उद्देश्यका साथ मंसिर २८ गतेदेखि भक्तपुर महोत्सव आयोजना गरिने भक्तपुर नगरपालिकाले जनाएको छ। पाँच दिन चल्ने यो महोत्सवमा सिङ्गो भक्तपुरलाई नियाल्ने नौलो अवसर मिल्ने छ।
नगरप्रमुख एवं महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान दिने महोत्सवको उद्देश्य रहेको बताए। ‘भक्तपुरमा आफैंमा कला र संस्कृतिले धनी सहर हो,’ उनले भने, ‘पछिल् ो समय यो ज्ञान विज्ञानले पनि भरिपूर्ण हुँदै छ।’
भक्तपुरको संवर्धनमा नगरपालिका निरन्तर लागिरहेको बताउँदै उनले अब देखाउने बेला पनि आएको बताए। ‘यो महोत्सव हामीले गरेका कामहरू देखाउने अवसर पनि हो,’ उनले भने, ‘यसबाट आएका सुझावका आधारमा हामी थप अगाडि बढ्ने छौं।’ यहाँका किसानका भकारीमा अन्न मात्र होइन, अब ज्ञान पनि भण्डारन हुँदै गएको उनी सुनाउँछन्।
महोत्सवको मुख्य लक्ष्य भक्तपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादनहरूको प्रवर्धन गरेर स्वदेशी र विदेशी पाहुनालाई आकर्षित गर्न सकियोस् भन्ने रहेको उनले बताए।
उनका जस्तै भनाइ राख्छिन् नगरकी उपप्रमुख रजनी जोशी पनि। उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई नगरका गतिविधि प्रदर्शन गर्ने अवसरका रूपमा सञ्चालन गरिने बताइन्। भक्तपुर नगरपालिकाले पुर्खाले सिर्जेका अमूल्य सम्पदाहरूको संरक्षण, प्रवर्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारेको जनाएको छ। भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीका लागि हालसम्म भएको तयारी एवं गतिविधिहरूबारे संक्षेपमा प्रस्तुतीकरण दिँदै भव्य आयोजना हुने बताए। महोत्सवमा ३२ वटा विधा ८० स्थानमा सञ्चालन हुनेछन्। महोत्सवकै अवसर पारेर भक्तपुर नगरपालिकाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको पनि उनले बताए। २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रूपमा सञ्चालन गर्ने उनी बताउँछन्।
महोत्सवको इतिहास
भक्तपुर नगरपालिकाले समय समयमा ठुला र साना महोत्सवहरूको आयोजना गर्दै आएको छ। २०५४ साल कात्तिक ६ गतेदेखि १० गतेसम्म पाँच दिनको ‘भक्तपुर महोत्सव’ र २०६९ साल असोज ६ गते एक दिने ‘भक्तपुर सडक महोत्सव २०६९’ आयोजना गरेको थियो। त्यस्तै, २०७६ पुस १६ गते ‘सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन’, २०७९ चैत १८ र १९ गते ‘सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला’ आयोजना गरेको जनाएको छ। २०८० साउन २० गते ‘भक्तपुरका पोखरीहरूको पदयात्रा मेला’ र २०८० पुस १४ गते ‘बहाबही पदयात्राका साथ योमरी उत्सव’ सफलतापूर्वक सम्पन्न गरेको छ। जसमा नगरवासीको पनि उत्तिकै सहभागिता रहेको थियो।
भक्तपुर नगरपालिकाकै आयोजनामा २०५६ सालमा ‘युनेस्को कल्चर हेरिटेज म्यानेजमेन्ट एन्ड टुरिजम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो। ‘महोत्सवमा नगरपालिकाले आयोजना गरे पनि नगरका सबैको सक्रिय सहभागिता रहन्छ,’ नगरप्रमुख प्रजापति भन्छन्, ‘यहाँका महोत्सवहरू जीवन्त रहेका छन्।’ महोत्सवको बेलामा सर्वसाधारण देखाएको उत्साह र उमङ्गले नगर झनै जीवन्त देखिने उनले सुनाए।
महोत्सवको उद्देश्य
भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरी पर्यटन उद्योगमार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको छ।
महोत्सवका अन्य उद्देश्यहरूमा यहाँका नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सिप, कला, संस्कृतिको प्रवर्धन गरी यसलाई आर्थिक गतिविधिसँग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको छ। भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी यसको व्यवसायीकरणका लागि आवश्यक सहजीकरण गर्ने पनि रहेको छ।
महोत्सवका मुख्य आकर्षणहरू
भक्तपुरमा हरेक दिन कुनै न कुनै सांस्कृतिक कार्यक्रम भइरहेको हुन्छ। नगरका विभिन्न टोलमा कार्यक्रमहरू आयोजना गरी सिङ्गो नगरलाई नै उत्सवमय बनाउने नगरपालिकाको प्रयास छ। प्रत्येक डबली चोकहरूमा विभिन्न कार्यक्रम आयोजना हुने र तिनबारे मोबाइल एप्समार्फत सटिक जानकारी दिने प्रयाससमेत नगरपालिकाले गरेको छ। आगन्तुकले ब्रोसर तथा मोबाइल एप्समार्फत कुन टोल र चोकमा कुन कार्यक्रम हुँदै छ भन्ने जानकारी लिन सक्ने र त्यहीअनुसारको आफ्नो पदयात्रा तय गर्न सक्ने नगरपालिकाले जनाएको छ।
यसपटकको महोत्सवमा बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक सांस्कृतिक नाच देखाइने आयोजकले बताएका छन्। त्यसैगरी पौभा, तस्बिर, चित्रकला, छ्वालीकला, परम्परागत पोसाकको प्रदर्शन गरिने छ। हलिमली, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी (जीवित देवी), दिपङ्कर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला प्रस्तुत गरिने छन्। परम्परागत खेलकुद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमुना देखाइने छन्। महोत्सवमा खाना महोत्सव, व्यापार मेला, दही महोत्सवः नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकुद हुने छन्।
भक्तपुर महोत्सवलाई व्यवस्थित र भव्यताका साथ सञ्चालन गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरू, जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरू, निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरू र अन्य सरोकारवालाहरूको सहभागितामा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र एक सचिवालय समिति गठन गरिएको नगरपालिकाले जनाएको छ।
किन जाने भक्तपुर ?
भक्तपुरको मौलिक सांस्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्रलगायतका सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गरेको हो। भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र मात्र नभई नेपालकै ऐतिहासिक र सांस्कृतिक केन्द्रका रूपमा समेत परिचित छ।
यहाँका शताब्दी पुराना मठमन्दिर, बहाबही, देवालय, शिवालय, पीठ, द्योछेँ, दरबार, सत्तल, पाटी पौवा र ढुंगे धारा विश्वस्तरकै वास्तुकलाका नमुना हुन्। वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँका मूर्तिकला, चित्रकला र धातुकलाका उत्कृष्टता देखेर मोहित हुन्छन्। भक्तपुर नगरपालिकाले पुर्खाले सिर्जेका ती अमूल्य सम्पदाहरूकोे संरक्षण, प्रवर्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारिरहेको छ। कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो। ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको महŒव र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवर्धनमा नगरपालिकाले जनपरिचालन गर्दै आएको छ। नयाँ पुस्तालाई भक्तपुरको मौलिकतासँग परिचित गराउँदै यसको महŒव बुझाउन नगरका कक्षा एकदेखि आठसम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यक्रम तयार गरेको छ।
भक्तपुर नगरपालिकाले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई आत्मसात् गर्दै यहाँका मूर्त र अमूर्त सम्पदामा आधारित पर्यटन उद्योगको विकास गरी सहरको आर्थिक विकासमा सहयोग पुगेको जनाएको छ। यसबाट भक्तपुरलाई सरसफाइ, सम्पदा संरक्षण र सामाजिक विकासमा नमुना नगरका रूपमा अगाडि बढाउन स्थानीय जनसहभागितामा कला, संस्कृति र सम्पदा संरक्षण कार्य अगाडि बढाइरहेको छ।
पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, सिद्ध पोखरी, लक्ष्मीनरसिंह मन्दिर, न्हुःपुखु (रानी पोखरी), भाजु पुखु, चतुर्ब्रह्म महाविहार, झौरबहि, बेताल मन्दिर, इन्द्रायणी द्योछेँ, छुमा गणेश द्योछेँलगायत टोल–टोलका पाटी, सत्तल, मठ, ढुंगेधारा, इनार, पोखरी, बहाबहीसहित सयौं सम्पदा जिर्णाेद्घार र पुनर्निर्माण सम्पन्न गरेको छ।
भक्तपुर नगरपालिकाले पर्यटन उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न विदेशी भाषा तालिम, कम्प्युटर र पाक शिक्षालगायतका सिपमूलक तालिम नियमित सञ्चालन गर्दै आइरहेको छ। स्थानीय पथ प्रदर्शकहरूलाई तालिम दिई परिचालन समितिमार्फत पथप्रदर्शकहरूलाई अनुशासित र मर्यादित गरी भक्तपुरको पर्यटन उद्योगलाई व्यवस्थित गर्दै आएको छ। बहुआयामिक भक्तपुरको नमुना झलक हेर्ने हो भने यो महोत्सव सबैभन्दा उत्तम अवसर हुने नगरपालिकाको बुझाइ छ। ‘त्यसो त भक्तपुर महोत्सवजस्तै हो,’ नगरप्रमुख सुनिल प्रजापति भन्छन्, ‘यो महोत्सवमा सिङ्गो सहरलाई एकै पटक निश्चित थलोमा देखाउने प्रयास गरिएको छ।’
प्रकाशित: १ मंसिर २०८१ ०५:४५ शनिबार