६ माघ २०७८ बिहीबार
स्वास्थ्य

परीक्षण हिच्किचाहटका कारण संक्रमण दर अपेक्षाकृत घटेन

कोरोना महामारीको दोस्रो लहर रोक्न अधिकांश जिल्लामा जारी निषेधाज्ञा डेढ महिनाभन्दा बढी भइसक्दा पनि राष्ट्रिय संक्रमण दर २० प्रतिशत हाराहारीमै छ। दुर्गम जिल्लामा संक्रमण दर अझ बढी छ। महामारी नियन्त्रणका लागि पर्याप्त परीक्षण र खोपको अभाव सँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्नुमा आममानिसमा भाइरस परीक्षणमा देखिएको हिच्किचाहट प्रमुख कारण रहेको छ।

‘अस्ती पानीले भिजेको, हिजो चिसो खाएको, आज धुलोमा गएको जस्ता बहाना’ बनाएर परीक्षण नगर्नेको संख्या अत्यधिक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। उनीहरूका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुनसक्छ भन्ने सन्देश व्यापक हिसाबले जनस्तरमा पुर्‍याउन आवश्यक छ। महामारीको यो अवश्थामा आम मानिससम्म पुग्न प्रभावकारी जोखिम सञ्चार रणनीति आवश्यक छ। भाइरस परीक्षणप्रति आम नागरिकलाई आकर्षित गर्न स्थानीय भाषामा सन्देश, टेलिफोन रिङटोनमा यो विषयमा सन्देश आवश्यक रहेको तथा परीक्षण व्यापक पार्न स्थानीय सरकार, स्वयंमसेवी समूह, आमा समूहलगायतका नागरिक समाजका समग्र सदस्यको सहयोग चाहिने विज्ञहरू बताउँछन्।  

विशेषगरी भाइरस संक्रमण व्यापक हिसाबले समुदायस्तरमा विस्तार भएको पृष्ठभूमिमा जोखिममा रहेका र दुर्गम क्षेत्रका वासिन्दासम्म पुग्न सिर्जनात्मक विधि अवलम्बन गर्नु आवश्यक छ। विपन्न तथा दैनिक घरायसी कामको बोझले थिचिएकालाई भाइरस परीक्षण गर्न राज्यले प्रोत्साहन प्याकेज दिनुपर्ने हुन्छ। परीक्षणलाई खाद्य सहयोग तथा अन्य राहातसँग जोड्न सके विपन्नहरू परीक्षण गर्न तयार हुन सक्छन्। महामारीको सही अवस्थाको आंकलन गर्न तथा जनजीवनलाई पुरानै लयमा फर्काउन भाइरसको व्यापक परीक्षणको महत्व छ।  

कोरोना भएकालाई समाजले गर्ने व्यवहार, भाइरसका विषयमा सुरुदेखि देखिएको भय, समाजिक हिसाबले अपहेलित हुनपर्ने डर यथावत् छ। कोरोनाका लक्षण हुँदाहुँदै पनि विभिन्न जिल्लाका ग्रामीण वासिन्दाहरू घरमै बस्ने र परीक्षण नगराउने गरेका समाचार सार्वजनिक भइरहेकाछन्। परीक्षणप्रतिको आम विश्वास र समयमै गरिने परीक्षणले बिरामी र तिनका परिवारजनको जीवन रक्षा गर्नसक्ने भएकाले आमजनसमुदायको भाइरसप्रतिको समग्र बुझाई अझै नकारात्मक छ। स्थानीय जनतासँग सिधा र विश्वासिलो सम्बन्ध भएका स्वास्थ्यकर्मी, गाउँका मान्यजन तथा परपरम्परागत उपचार गर्ने धामी झाँक्रीलगायतका परम्परागत उपचारकलाई सलग्न गराउँदा सर्वसाधारण परीक्षणप्रति आकर्षित हुन सक्छन्। समयमै गरिने परीक्षणले संक्रमितको उपचार गर्न सकिने र अक्सिजन स्तर धेरै घट्नबाट जोगाउन सकिने चिकित्सक मान्छन्।  

‘संक्रमण समयमै पत्ता लाग्दा कोभिड–१९को उपचार सम्भव छ भन्ने सन्देश जाँदा मानिसहरू परीक्षण गर्न सक्छन्,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्। ‘समाजमा सक्रमितलाई हेला गर्छन् भन्ने अझै पनि ठानिन्छ, गाउँमा मात्र होइन, काठमाडौंमा पनि बिरामीले धेरै च्यापेपछि मात्र अस्पताल आउने गरेका छन्। अझै पनि पोजिटिभ केसको आवश्यक कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। स्थानीय तहले पहिलो लहरमा देखाएको सक्रियता अहिले पनि उत्तिकै आवश्यक छ,’ उनी भन्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठ सरकारसँग प्रविधि र संशाधन यथेष्ट भएको तर आमजनतामा अझै पनि परीक्षणप्रति हिच्किचाहट रहेको स्वीकार्छन्। ‘हामीसँग विभिन्न देशवाट प्राप्त २० लाख भन्दा बढी एन्टिजेन टेष्ट किट छन्, देशभरका ९२ प्रयोगशालाले दिनहुँ ३० हजार पिसिआर परीक्षण गर्न सक्छन्। तर अपेक्षित परीक्षण हुन सकेको छैन। त्यसैले व्यापक परीक्षण (मास टेस्ट) गर्न सबै पालिका र आमनागरिक समाजको सहयोग आवश्यक देखिएको छ,’ उनी भन्छन्।

मन्त्रालयले यही मंगलबार ५०० स्थानिय पालिकाका प्रतिनिधिसँग जुम बैठक आयोजना गरेर परीक्षणलाई अझ व्यापक पार्न पालिका प्रमुख र स्थानीय स्वास्थ्य अधिकारीलाई अनुरोध गरेको श्रेष्ठले बताए। ‘हामीसँग एन्टिजेन छन्, स्वास्थ्यकर्मीलाई भत्ता छ, अब आवश्यक भनेको सबै पालिका र नागरिक समाजको सहयोग हो,’ उनी भन्छन्, ‘हामीले उहाँहरूलाई यो भालुको कम्पट कहिलेसम्म समाइरहने भनेर भन्यौं।’  

परीक्षण अभावमा समुदायमा भाइरसको सहज संक्रमण भैराखेको स्वीकार गर्दै भाइरस परीक्षणको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरिरहेका श्रेष्ठ थप्छन्, ‘परीक्षणका विषयमा परिवार र टोलमा जागरण आउनुपर्‍यो , यो एक्लो मन्त्रालयले मात्र गर्न सक्ने काम होइन।’ भारतबाट विभिन्न नाका हुँदै दिनहुँ ५ हजार नेपाल प्रवेश गर्ने उल्लेख गर्दै प्रमुख विशेषज्ञ श्रेष्ठ ती सबैको परीक्षण गर्न र क्वारेन्टिनमा राख्न पर्ने तर्क गर्छन्।  

‘सक्रमितको सम्पर्कमा आएका र शंकास्पद मानिसका परीक्षणलाई प्रभावकारी पार्न सके लकडाउन जारी राख्न आवश्यक हुदैन,’ उनी भन्छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल सरकारले रेडियो, टिभी तथा अन्य समाचार माध्यमवाट परीक्षण गर्न अभिप्रेरित गर्ने सन्देश अझ व्यापक गर्ने तयारी रहेको बताउछन। उनले मोबाइलको रिङ टोनमा समेत निःशुल्क परीक्षणबारे जानकारी दिने तयारी भइरहेको बताए। परीक्षणलाई व्यापक पार्न स्थानिय स्वास्थ्यकर्मी, स्वयंमसेवा र आमा समूहलाई झन् बढी सशक्त हिसाबले परिचालन गर्न लागिएको उनी बताउँछन्। ‘हामीले परीक्षणको दायरा बढाएर आवश्यक पर्नेलाई समेटेका छाैं। अब परीक्षण किट गाउँगाउँमा उपलव्ध गराउन आवश्यक छ,’ उनी भन्छन्।  

महामारी नियन्त्रणका लागि अत्यधिक जनसंख्यालाई खोप उपलब्ध गराउनुपर्नेमा नेपालको खोप अभियान पछिल्ला दिनमा अत्यन्त कमजोर बनेकोछ। हाल चीनले अनुदान दिएको १० लाख डोज खोपमार्फत जेष्ठ नागरिकलाई खोप दिइएको छ। तर यसअघि कोभिसिल्ड खोप लगाएका साढे १३ लाख जनसंख्याले दोस्रो खोप कहिले पाउने भन्न्नेमा अझै निश्चित भएका छैन। उनीहरूले पहिलो डोज लगाएको १२ साता पुगिसकेको छ। ‘हामीले कोभिसिल्डको समान फर्मुला भएको अष्ट्राजेनका खोप अन्य देशबाट खरिद गर्न र भारतवाटै पनि ल्याउन प्रयास गरिरहेका छाैं,’ प्रवक्ता डा. पौडेल भन्छन्।

प्रकाशित: ३ असार २०७८ ०७:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App