१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संक्रमित व्यवस्थापनमा जुम्लाको तातोपानी अब्बल

कोरोना संक्रमितको व्यवस्थापनमा जुम्लाको गाँउपालिका अब्बल देखिएको छ। जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिका मध्ये तातोपानी संक्रमित व्यवस्थापनमा अब्बल देखिएको हो।

चार जना लक्षण नदेखिएका संक्रमित बाहेक सबै संक्रमित संस्थागत आइसोलेसनमा राखेर व्यवस्थापन गरेको हो। संक्रमित आईसोलेसनमा आउन मानिरहेका हुदैनन्,गाउँपालिका उपाध्यक्ष गंगादेबी उपाध्यायले भनिन्,‘घरमै पुगेर कोरोना संक्रमणले पार्ने हानीका बिषयमा सम्झाईबुझाइ गरेर आइसोेलेसनमा ल्याउने गरेका छौँ। ’

उनले संक्रमितको घरदैलोमा पुगेर संक्रमितलाई संस्थागत आइसोलेसनमा ल्याउने गरेको बताइन्। कोरोना सामान्य रुघाखोकी हो। घरमै बसेर निको भइन्छ भन्ने मानसिकता यहाँका नागरिकमा हाबी छ। उनले भनिन्,‘त्यो मानसिकता चिर्न चुनौति छ। गाउँमा स्वास्थ्यकर्मी,जनप्रतिनिधि र कर्मचारी परिचालन भएर कोरोनाबाट हुने हानीका बिषयमा सचेत गरिराखेका छौँ। ’

तातोपानी गाउँपालिकामा हाल ४७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। उनीहरुको गास,बास गाँउपालिकाले बेहोरेको छ। पटक पटक स्वास्थ्यकर्मीले उनीहरुको निगरानी राख्ने गरेका छन्। चिकित्सक आइसोलेसनमै पुगेर अक्सिजनको मात्र नाँपजाँच गर्ने गरिरहेका छन्। स्वास्थ्यकर्मीले लक्षण अनुसारको औषधि दिने गरेका छन्।’

पहिले गाउँपालिकाले २० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बनायो। अहिले ४७ जना आइसोलेसनमा छन् । संक्रमित बढेको खण्डमा आइसोलेसन बेड बढाउन सकिने उपाध्यक्ष उपाध्यायले बताइन्। कोभिड अस्पतालमा १५ सिलिण्डर अक्सिजन राखिएको छ। कोरोना महामारीमा आउन सक्ने सबै समस्या संग जुध्न गाउँपालिकाले तयारी थालेको छ, स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइँले भने,‘अहिले सम्म संक्रमितको व्यवस्थापन र रेखदेख राम्रो संग भइराखेको छ। यहाँका नागरिकलाई कोरोनाबाट बचाउन हदै सम्मको प्रयास हुनेछ। ’

उनका अनुसार १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। हरेक वडामा एक जना सुचना सम्प्रेषण गर्ने व्यक्ति नियुक्त गरिएको छ। गाउँको अवस्थाको बारेमा नियमित रिर्पोटिङ्ग हुन्छ। त्यसैका आधारमा कन्टयाक्ट ट्रेसिङ र टेस्टिङ गरिन्छ। आइसोलेसनमा बसेका संक्रमित गाउँपालिकाले गरेको व्यवस्थापन प्रति निकै खुसि छन्। उनीहरुले नियमित रुपमा भेटघाट,छलफल गर्ने,पोषिलो खानेकुरा दिने, चेकजाँच गर्ने देखि हौसला दिने सम्मको काम गरिरहेको भन्दै आइसोलेसनमा संक्रमितलाई गर्ने व्यवहार प्रति सन्तुष्ट भएको बताएका छन्।

गाउँपालिकामा उपाध्यक्ष उपाध्यायको संयोजकत्वमा जनचेतना तथा प्रचारप्रसार समिति छ। त्यो समितिले कोरोनाका लक्षण, रोकथाम तथा नियन्त्रणका बिषयमा सचेतना प्रदान गर्दै आइरहेको छ। शंकास्पद लागेको ठाउँमा तत्काल स्वास्थ्यकर्मी पठाएर चेकजाँच गर्ने गरिएको स्वास्थ्य संयोजक चौलागाई बताउँछन्। ’

गाउँपालिकामा ८ वडा छन । सबै वडामा स्वास्थ्यकर्मी पुगेका छन्। उपाध्यक्ष उपाध्यायले कोरोना कहरमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधा थपिएको बताइन्। कोरोना सबैको सामुहिक समस्या हो। सामुहिक रुपमा प्रतिरोधको आवश्यकता छ। प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालले भने,‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीयतहले गर्नु पर्ने सबै पहल गरिएको छ। ’गाउँपालिकाले १ र ६ नम्बर वडा सील गरेको छ। कोरोना परिक्षणका क्रममा संक्रमित बढ्न थालेपछि गाँउ नै सील गर्नु परेको उनले बताए।

प्रकाशित: २७ जेष्ठ २०७८ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App