६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कोभिसिल्डको दोस्रो डोज नपाउँदा अन्योलमा ज्येष्ठ नागरिक

सरकारी अधिकारी भन्छन्– आत्तिनुपर्ने स्थिति छैन

कारोनाविरुद्ध कोभिसिल्ड खोपको पहिलो डोज लगाउँदै एक ज्येष्ठ नागरिक। फाइल तस्बिर: नागरिक

अर्घाखाँची भूमिकास्थान नगरिपालिका–९ निन्नुखर्कका ७० वर्षीय हुमप्रसाद घिमिरेले फागुनको अन्तिम साता कोरोना विरुद्ध कोभिसिल्ड खोप लगाए। बडा स्वास्थ्य चौकी माइकाथानामा खोप लगाएका उनलाई दोस्रो डोज तीन महिनाभित्र दिने भनी स्वास्थ्यकर्मीले बताएका थिए। खोप लगाएको १२ साता पुग्दा समेत खोप लगाउने सम्बन्धमा कुनै खबर नआउँदा उनी चिन्तित छन्। यस्तै चिन्ता पाल्पा रामपुर नगरपालिका–५ मटेरीका ६५ वर्षीय हरिप्रसाद लम्सालको छ।  

घिमिरे र लम्सालजस्तै देशभरका साढे १३ लाख ज्येष्ठ नागरिकमध्ये अधिकांशले कोभिसिल्ड खोपको पहिलो डोज लगाएको समय लगभग १२ हप्ता पुगिसकेको छ। पहिलो डोज लगाएको ८ देखि १२ साताभित्रै दोस्रो डोज लगाउनुपर्ने भनेर भनिएका कारण यो जनसंख्याले तोकिएको समयमा थप डोज नपाउँदा चिन्ता बढेको हो। खोपको दोस्रो डोज दिन ढिलो हुँदा खोपको प्रभावकारिता के हुने भनेर उनीहरूमा अन्योल सिर्जना भएको छ। विशेषगरी कोरोना भाइरसका नयाँ तथा संक्रामक प्रजातिले महामारीलाई तीव्र बनाएको बेला खोपको प्रतीक्षा गरिरहेका र संक्रमणको हिसाबले अत्यधिक जोखिममा रहेको जनसंख्याको यो तह निराश र क्रुद्ध बनेको हो।  

‘यो सरकारको गैरजिम्मेवारीको पराकाष्ठा हो। सरकारको विश्वसनीयता पटक्कै भएन,’ काठमाडांै बत्तीसपुतलीका ६९ वर्षीय खेमराज रेग्मी भन्छन्। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्षसमेत रहेका रेग्मीले फागुन २३ गते खोपको पहिलो डोज लगाएका थिए। सरकारी अधिकारीले पछिल्ला दिनमा १२ सातापछि पनि कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन मिल्ने बताएको प्रसंगमा रेग्मी भन्छन्, ‘अब कैयौं साता दोस्रो डोज नपाइनेजस्तो देखियो। त्यस्तो अवस्थामा खोपको प्रभावकारिता के हुने हो, सरकारले हामीलाई प्रस्ट जानकारी दिनु आवश्यक छ।’ यो अथवा त्यो कारणले खोप नआएको भनेर सरकार उम्कन नमिल्ने बताउँदै रेग्मी भन्छन्, ‘नागरिकको जीवनरक्षाको विषयमा सरकारले खेलवाड गर्न मिल्दैन।’

गत फागुन २३ गतेदेखि सुरु भएको दोस्रो खोप अभियानअन्तर्गत सरकारले १५ जिल्लाका ५५ वर्षमाथिका सहित देशभरका अन्य जिल्लाका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिक र अन्यलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैंकाे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु गरेका थिए। सरकारले सुरुदेखि नै यो जनसंख्यालाई समयमै दोस्रो डोज उपलब्ध गराइने दाबी गर्दै आएको थियो। 

गत फागुन २३ गतेदेखि सुरु भएको दोस्रो खोप अभियानअन्तर्गत सरकारले १५ जिल्लाका ५५ वर्षमाथिका सहित देशभरका अन्य जिल्लाका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिक र अन्यलाई कोभिसिल्डको पहिलो डोज खोप दिएको थियो।

तर भारतले दुई महिनाअघि खोप निर्यातमा बन्देज लगाएपछि भारतबाहेक अन्य देशमा उत्पादन भएका एउटै फर्मुलाका अस्ट्राजेनेका खोपको जोहो गर्ने सरकारी प्रयास अझैसम्म सफल हुन सकेको छैन। गत आइतबार स्वास्थ्य मन्त्रालयको कोभिड अपडेटमा बोल्दै मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले तत्काल खोप उपलब्ध हुन सक्ने सम्भावना नरहेको बताएका थिए। पछिल्लोपटक विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनेका खोप १२ देखि १६ हप्तासम्म लगाउन सुझाव दिएको छ।  

कोरोना भाइरसको पहिलो डोज लगाए रोगविरुद्ध लड्न सक्ने क्षमता कस्तो हुन्छ भन्ने विषयमा केही सीमित अध्ययन भएका छन्। कतिपय अध्ययनले पहिलो डोज पनि भाइरसविरुद्धको प्रतिरक्षा प्रणाली विकास गर्नमा प्रभावकारी रहेको देखाएका छन् भने भाइरसका नयाँ भेरियन्टविरुद्ध काम गर्न दुवै डोज लगाउनुपर्ने अन्य अध्ययनले देखाएका छन्। संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी खोपको पहिलो डोजले रोगको प्रतिरोध प्रणालीलाई भाइरसको कुनै अवयवसँग परिचय दिने र दोस्रोले रोग प्रतिरक्षा प्रणालीलाई त्यही अवयव देखाएर अघिल्लो परिचयपछि तयार भएको भाइरसबारेको ‘स्मृति’ का आधारमा भाइरसलाई तुरुन्त निष्क्रिय पार्न सशक्त ‘रेस्पोन्स’ दिन सिकाउने बताउँछन्। उनी दुवै डोजको एउटै ‘अवयव’ हुने हुँदा दोस्रो डोजले वाञ्छित मात्राको अतिरिक्त खुराक अर्थात् ‘बुस्टर’ प्रभाव दिन सक्ने तर्क गर्छन्।

कोभिसिल्डका दुई डोजको अन्तराल तीन महिनाभन्दा बढी हु“दा त्यसको प्रभावकारितका कस्तो हुन्छ भन्नेमा अनुसन्धानका आँकडा आफूले पढ्न नपाएको उल्लेख गर्दै डा. सुवेदी भन्छन्, ‘चरणबद्ध हिसाब (सिरिज) मा दिनुपर्ने अरू खोपहरूको पुरानो अनुभवका आधारमा चाहि“ ५÷६ महिनापछि दि“दा पनि प्रभावकारिता खासै घट्दैन होला भन्ने अनुमान गर्न मिल्छ।’

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा प्रमुख डा. झलक गौतम यति समयभित्रै कोभिसिल्ड अथवा समान फर्मुलाका अर्काे खोप आउँछ भनेर तत्काल भन्न सक्ने स्थिति अझै नरहेको बताउँछन्। ‘सेरम इन्सिच्युटबाट पैसा तिरेको खोप आउन सकेको छैन। कोभ्याक्सले पनि कहिले दिने भन्ने सुनिश्चतता छैन। यस्तो स्थितिमा कोभिसिल्डकै फर्मुलामा बनेका अन्य खोप खरिदमा गम्भीर प्रयास भइरहेको छ,’ डा.गौतम भन्छन्। 

खोपको पहिलो डोजले पनि राम्रो काम गरेको विभिन्न अध्ययनले देखाएको प्रसंग उद्धृत गर्दै उनी खोपको दोस्रो डोज तत्काल उपलब्ध नभए पनि आतंकित हुनुपर्ने स्थिति नरहेको दाबी गर्छन्। गत साता बसेको राष्ट्रिय खोप सल्लाहकार समितिले कोभिसिल्ड खोप १२ सातापछि लगाउन मिल्ने सिफारिस गरेको थियो। अनुदान र खरिदसमेत गरेर नेपालले हालसम्म सेरम इन्सिच्युटद्वारा निर्मित कोभिसिल्डको साढे २४ लाख डोज प्रयोग गरिसकेको छ। पछिल्ला दिनमा चीनको सिनोफर्म कम्पनीद्वारा निर्मित भेरोसेल खोपमार्फत खोप अभियानलाई निरन्तरता दिइएको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App