६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

मन्त्री आलेद्वारा अस्पताललाई ५० अक्सिजन सिलिण्डर प्रदान

निजी लगानीमा खरिद गरेर वितरण गरेकाे हुँ: आले

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै मन्त्री प्रेम आले । तस्विर: दिलबहादुर छत्याल

वन तथा वातावरण मन्त्री प्रेम आलेले सेती प्रादेशिक अस्पताललाई मंगलबार ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेका छन् । कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमणले जटिल प्रकृतिका संक्रमितको चाप बढेर अक्सिजनको अभाव भएका बेला मन्त्री आलेले अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका हुन् ।

मंगलबार बिहान सेती प्रादेशिक अस्पताल परिसरमा उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयलाई ५० वटा भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्कसहितका स्वास्थ्य सामग्री प्रदान गरेका थिए ।

आफ्नो व्यक्तिगत लगानीमा खरिद गरेर ५० वटा अक्सिजन सिलिण्डर र ५० हजार मास्क अस्पताललाई प्रदान गरेको बताएका छन् । ‘अक्सिजनको अभावमा कसैको पनि ज्यान नजाओस भनेर मैले निजी लगानीमा खरिद गरेर अक्सिजन सिलिण्डर अस्पताललाई प्रदान गरेको हुँ’, उनले भने ।

‘अनुदानका सिलिण्डर भनेर गलत प्रचार गरियो’

डोटी निर्वाचन क्षेत्र भएका मन्त्री आले हेलिकोप्टरमा सोमबार स्वास्थ्य सामग्रीसहित डोटी पुगे । उनले सोमबार डोटीमा ७५ वटा भरिएका अक्सिजन सिलिण्डर, ४ अक्सिजन कन्सन्ट्रेटर, ३० एचडियु वेड , १ लाख ५० हजार सर्जिकल मास्क, सेनिटाईजर, ऐन्टिजेन किट, रेम्डेसिभिर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका थिए । डोटीमा वितरण गरिएका अक्सिजन सिलिण्डरमा मन्त्री आलेको निजी लगानीमा सहयोग भनेर तस्विरसहित लेखेर टाँसिएको थियो । चीनले अनुदान दिएका सिलिण्डरमा आफ्नो तस्विर टाँसेर वितरण गर्यो भनेर गलत प्रचार गरिएको भन्दै मन्त्री आलेले आक्रोश पोखेका छन् । अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले स्वास्थ्य विभागले दिएका १५ वटा सिलिण्डर बाहेक १ सय १० अक्सिजन सिलिण्डर निजी लगानीमा खरिद गरेको उनले बताए । १५ दिन अघि १५ लाख डिपोजिट दिएर अक्सिजन सिलिण्डर चाईनाबाट किनेको उनको भनाई छ ।

‘अक्सिजन सिलिण्डर नेपालमा उत्पादन त हुँदैन, अनि चाईनाबाट नल्याएर कहाँबाट आउँछ । मैले व्यक्तिगत लगानीमा चाईनाबाट मगाएको हो,’ उनले भने,‘चाईनाले अनुदान दिएको सिलिण्डरमा स्टिगर टाँस्यो भनेर मिथ्या आरोप लगाइएको छ ।’ गलत प्रचार गरेको भन्दै स्वास्थ्य विभागमा बुझेर सत्यतथ्य लेखिदिन उनले पत्रकारलाई अनुरोध गरे ।

मन्त्री आलेले अक्सिजन सिलिण्डर वितरण गरेको विषयले याहाँ समाजिक सन्जालमा निकै चर्चा पाएको छ । केही व्यक्तिले तस्विर टाँचेर प्रचार गरेको भन्दै आलेको आलोचना गरेका छन् । भने कयौले अक्सिजनको हाहाकार भएर जनता ज्यान गुमाईरहेका बेला आफ्नो निजी लगानीमा अक्सिजन सिलिण्डर अस्पताललाई दिने कामको प्रंशसा गर्दै लेखेका छन् । चाईनाबाट अनुदान आएको सिलिण्डर निजी लगानीमा खरिद गरेको भनियो भनेर आरोप लगाएपछि मन्त्रीका सचिवालयले प्रतिसिलिण्डर २३ हजारका दरले खरिद गरेको भ्याट बिल समेत सार्वजनिक गरेका छन् ।  

अक्सिजन उत्पादन सिमित रहेको सुदूरपश्चिममा कोराेनाको संक्रमणले बिकराल रुप लिँदा अक्सिजन नपाएर संक्रमित ज्यान गुमाउने गरेका थिए । ५० वटा अक्सिजन सिलिण्डर प्राप्त हुँदा अस्पताललाई अक्सिजनको समस्यामा सहज हुने मेडिकल सुपरिटेण्डेण्ट पाण्डेयले बताए ।

प्रकाशित: ११ जेष्ठ २०७८ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App