१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

बागलुङमा ५३२ जना डेंगी सङ्क्रमित फेला

जिल्लामा पछिल्लो तीव्र गतिमा डेंगी सङ्क्रमण बढ्दै गएको छ। जिल्लाभर ५३२ जनालाई डेंगी सङ्क्रमण भएको हो। जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

जिल्लामा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन्। बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेंगी सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए। सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण गरिरहेको उनले बताए।

घिमिरेका अनुसार दसैँ र तिहार पछाडि सङ्क्रमितको सङ्ख्या बढेको बताए। 'सङ्क्रमण बढेपछि परीक्षणलाई तीव्रता दिएका छौँ, वर्षात् हुँदासम्म त्यति सङ्क्रमण फैलिएको थिएन, अहिले बढिरहेको छ। बरेङ गाउँपालिकामा बाहेक अरु पालिकामा सङ्क्रमित भेटिएका छन्,' उनले भने, 'धौलागिरि अस्पताल बागलुङमा, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ।'

डेंगी सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए। खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत पानी जम्मा हुने स्थान र लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने उनको भनाइ छ। रासस

प्रकाशित: २५ कार्तिक २०८२ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App