१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रणमा उदाहरण बन्दै स्थानीय तह

संक्रमितलाई भेट्नेदेखि टोलटोलमा स्वाब संकलन

दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता पहिलो लहरभन्दा निकै बलियो र प्रभावकारी देखिएको छ। गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब संकलन, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा संक्रमतिको भेटघाट, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पताल लैजाने गरेका छन्। कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका हुन्।

 बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्वाब संकलन गरिरहेको छ भने बिरामीको उपचारमा मेयरले दिएको दुई निजी सवारीसाधन, भाडा र नगरपालिकाको स्वामित्वमा रहेको गाडीसमेत प्रयोग गरेको छ। सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ बाहेक सबै वडामै पुगेर स्वाब संकलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए। कोरोनाबाट सबैभन्दा बढी संक्रमित नगरपालिकाभित्रै भेटिएपछि यसपटक नगरपालिका समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उनको भनाइ छ। 

होम आइसोलेसनमा बसेका संक्रमति भेट्न वडास्तरमा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको थियो। नगरपालिकाले बेनी अस्पताललमा आइसोसेलन कक्ष बनाउन ७ लाख रूपैयाँको हाराहारीमा सहयोग गरेकाले होम आइसोलेनमा सिकिस्त भएका संक्रमतिलाई अस्पतल भर्ना गरी उपचारको व्यवस्था मिलाइएको छ। पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले वडास्तरमा स्वाब संकलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निःशुल्क एम्बुलेन्स, संक्रमतिको अवस्था बुझ्न स्वास्थ्यकर्मीसहितको टोली घरघरमा पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए।  

उता मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेसन, स्वाब संकलन तथा संक्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधि गरिरहेको छ। हरेक वडाका संक्रमतिको अवस्था बुझ्न र जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिइएको गाउँपालिकाले जनाएको छ। कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट पनि सहयोग जुटेको छ भने जनप्रतिनिधिसमेत निरन्तर खटेका छन्। त्यस्तै धवलागिरि गाउँपालिकाले समेत संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ। 

सबैभन्दा जोखिम रहेको वडा नं २ लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सकसहित जनप्रतिनिधिको टोली पुगेको छ। त्यस्तै अन्य वडामा लक्षण देखिदाँबित्तिकै स्वाब संकलन र एन्टिजेन परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ। यता रघुगंगा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षण सहित संक्रमतिलाई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा राखेर उपचार गरिरहेको छ। रघुगंगामा संक्रमतिको शरीरमा आवश्यक अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगंग जलविद्युत् आयोजनामार्फत व्यवस्थापन गरी ४० सिलिण्डर तयारी अवस्थामा राखेको छ।

 त्यस्तै गाउँपालिकाभित्रका सबै वडामा पुगेर संक्रमतिको अवस्था बुझ्ने, निःशुल्क औषधि वितरणलाई जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए। ‘हरेक संक्रमतिसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ। समुदायस्तरमै पुगेर धेरै कामसमेत भएका छन्। समुदायले संक्रमतिलाई निःशुल्क भोजनको व्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ,’ सुवेदीले भने।  

उता उत्तरी म्याग्दीमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले समेत अस्थायी कोरोना अस्पताललाई व्यवस्थित र प्रभावकारी बनाएको छ भने संक्रमितको पहिचान, उपचार तथा मृत्यु भएमा शव व्यवस्थापनमा गाउँपालिकाले व्यवस्थित बनाएको छ। कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समेत समन्वय गर्ने तथा शंकास्पद बिरामीलाई तत्कालै स्वाब संकलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेका छन्। 

कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भए पनि यस वर्ष कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमण फैलिन नदिन र संक्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो। यस वर्ष स्थानीय तहको सक्रियताकै कारण पिसिआरका लागि स्वाब संकलन, सङक्रमितलाई आइसोलेसन तथा अस्पतालमै पुर्‍याउने, कन्ट्याक्ट ट्रेसिङमा गरेकालाई समेत होम आइसोलेसनमा राख्नका लागि टोलवासीसँग समन्वयकार्य भूमिकाले सहज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ।  

यसपटक स्थानीय तहको तयारी लोभलाग्दो रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रजिअ गणेशबहादुर अधिकारीले बताए। प्रजिअ अधिकारीले संक्रमतिको ट्रेसिङ, टेस्टिङ र उपचारमा स्थानीय तहको सक्रियताबाट उत्साहित रहेको बताए। ’कतै कमीकमजोरी भए तत्काल सुधारका लागि अनुरोध गर्ने गरेका छौं। जनप्रतिनिधि कोभिड नियन्त्रणमै होमिनुभएको छ,’ प्रजिअ अधिकारीले भने। 

विभिन्न जिल्लाबाट सदरमुकाम बेनी प्रवेश गर्नेलाई लक्षित गरी तयार गरिएको होल्डिङ सेन्टरबाट स्थानीय तहमा पुगेकालाई समेत निगरानीमा यसपटक धेरै चासो दिइएको छ। म्याग्दीका स्थानीय तहले स्वाब संकलनलाई तीव्रता दिएकाले गण्डकी प्रदेशमा धेरै स्वाब संकलन हुने जिल्लाभित्र म्याग्दी पर्ने गरेको छ। म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ९९४ जना पुगेको छ। तीमध्ये ४०९ जना सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्ममा अब ६६३ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App