१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

कोभिडका विरामी बोक्न फोर्स जिप हस्तान्तरण

यतिबेला कोरोनाको विपत छ । विपतमा विरामी बोक्ने सवारी साधनको समेत अभाव छ । सबै सवारीले विरामी बोक्नै मान्ने अवस्था समेत छैन । विरामी बोक्नकै लागि फोर्स मोटरको आधिकारिक विक्रेता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले कोरोना संक्रमति बिरामी बोक्न दुईवटा फोर्सका गाडी सहयोग गरेको छ ।

आयामले नेपाली कांग्रेस कास्कीलाई दुईवटा मोटर सहयोग स्वरुप हस्तान्तरण गरेको हो । सवारी विपतको समयमा कांग्रेसले विरामी बोक्न ती साधन उपयोग गर्नेछ । विपतपछि भने गाडी आयामलाई नै फिर्ता गरिने कांग्रेसले जनाएको छ ।  

आयामका अध्यक्ष धु्रवबहादुर थापाले कांग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, पार्टी सचिव देवेन्द्र रानाभाट तथा कांग्रेस कास्की–१ ख का सभापति कृष्ण कोइरालालाई दुईवटा फोर्स मोटरको चावी हस्तान्तरण गरे । विपतको समयमा हस्तान्तरण भएका दुई मोटरलाई कांग्रेसले विरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पार्टी प्रवक्ता सिग्देलले जानकारी दिए । ‘विपतको बेला दुईवटा मोटरलाई विरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्छौ’ प्रवक्ता सिग्देलले भने, ‘ती साधनका लागि आवश्यक खर्च पार्टीले व्यहोर्छ ।’  

पार्टीले शनिबार हस्तान्तरण भएका दुई मोटरलाई पार्टी कार्यालय चिप्लेढुंगामा राखेर व्यवस्थापन गरिएको छ । आईतबारदेखि विरामी बोक्ने काम शुरु गरिने उनले सुनाए । कोरोना संक्रमित यतिबेला दिन दुईगुणा रात  चौगुणाको दरमा बढिरहेको छ । कतिपय विरामीले एम्बुलेन्स नै नपाउँदा अस्पतालसम्म लैजान समेत नपाएको कठिन परिस्थितिमा दुईवटा गाडी मार्फत विरामीलाई अस्पतालसम्म पुर्‍याउने प्रवक्ता सिग्देलले बताए ।  

लेखनाथस्थित साविक लेखनाथ नगरपालिकाको भवन (हाल पोखरा– २७ को कार्यालय)मा १ सय बेडको कोभिड युनिट हस्पिटल सञ्चालनको तयारी छ । महानगरपालिकाको शिशुवा अस्पतालको मातहतमा रहेको कोभिड युनिटलाई पनि आयामले फोर्सको जिप सहयोग गर्ने जनाएको छ । महानगरपालिका सञ्चालनमा ल्याउने कोभिड युनिट अस्पताललाई समेत एक फोर्स जिप दिने सोंच रहेको आयामका अध्यक्ष थापाले बताए । थापाका अनुसार चालक र फ्युल खर्च सम्बन्धित निकायले व्यहोर्ने छ भने बाँकी समेत खर्चको व्यवस्थापन प्रालिले नै गर्ने छ ।  

‘दुर्गम क्षेत्रमा सर्वसाधारणलाई सेवा दिने उद्देश्य अनुसार पार्टी कार्यालयलाई दुईवटा जिप दिएका हौं,’अध्यक्ष थापाले भने, ‘त्योसँगै महानगरकै लेखनाथस्थित कोभिड युनिट अस्पताललाई पनि एउटा जिप दिने सोंच छ ।’ थापा लायन्स क्लब ३२५ बी १ का पूर्व गर्भनर समेत हुन् । गर्भनर भएकै समयमा थापाले फोर्सका तीन वटा अत्याधुनिक एम्बुलेन्स सहयोग गरेका थिए । सहयोग गरिएको एम्बुलेन्स गण्डकी, धौलागिरी र बाग्मतीमा सञ्चालित छ । 

प्रकाशित: १ जेष्ठ २०७८ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App