८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कर्णालीमा अक्सिजनको चरम अभाव

बाँकेमा स्थानीयको अवरोधका कारण कर्णालीमा अक्सिजनको चरम अभाव सृजना भएको छ। स्थानीयले अक्सिजन भरेर गाडीमा लोड गरेका सिलिण्डर पनि अनलोड गराउन थालेपछि कर्णालीमा त्यसको असर देखिएको हो। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक तीन सय सिलिण्डर अक्सिजन आवश्यक छ। सुर्खेतका लागि एक सय ३० सिलिण्डर मात्रै कोटा निर्धारण गरिएको छ।  

‘बाँकेका स्थानीयको अवरोधका कारण त्यहीँ पनि समयमै आइपुग्दैन्,’ पवनपुत्र ट्रेडर्सका सञ्चालक हरि विसीले भने, ‘कर्णालीमा अक्सिजन प्लान्ट नहुँदा व्यवसायीले मात्रै होइन्, विरामीले पनि ठूलो सास्ती भोग्नु परिरहेको छ।’ बाँकेको अक्सिजन उद्योगमै स्थानीयहरु सिलिण्डर लिएर पुग्ने गरेका छन्।  

बाँके जिल्ला प्रशासन कार्यालयले पनि सुरुमा भेरी अस्पताल र त्यसपछि कोहलपुर मेडिकल कलेजका लागि आवश्यक अक्सिजन सिलिण्डर नभर्दासम्म अन्य जिल्लाबाट लगिएका सिलिण्डरहरु भर्न दिँदैन् । सुर्खेतमा श्रीराम सप्लायर्स र पवनपुत्र ट्रेडर्सले मात्रै अक्सिजन वितरण गर्ने गरेका छन् । यो संकटको बेला दुई सप्लायर्सलाई एक सय ३० वटा मात्रै कोटा निर्धारण गरिएको छ। 

सुर्खेतले ३६ घण्टामा एक पटक मात्रै अक्सिजन भर्ने पालो पाउँछ । त्यसैमा पनि स्थानीयको अवरोध हुँदा त्यसको असर कर्णालीमा पर्ने गरेको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले अक्सिजन आपूर्तिलाई सहज बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्क भइरहेको बताए। ‘विरामीका आफन्तहरु आफै सिलिण्ड बोकेर अक्सिजन प्लान्टमा पुगेर अवरोध गर्ने गरेको जानकारी पाइयो,’ उनले भने, ‘सुर्खेतसहित कर्णालीका अरु जिल्लालाई आवश्यक पर्ने अक्सिजन पठाउनका लागि बाँकेका प्रजिअसँग समन्वय गरिरहेको छु।’

प्रकाशित: २७ वैशाख २०७८ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App