२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पशुपतिनगर नाकामा होल्डिङ सेन्टर र क्वारेन्टिन

इलामको सीमावर्ती नाका पशुपतिनगर। तस्बिर: भीम/नागरिक

भारतीय सीमासँग जोडिएको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले भारतबाट आउने नेपालीका लागि पशुपतिनगर नाकामा होल्डिङ सेन्टर स्थापना गरेको छ। यसरी भित्रिएका नेपालीलाई उनीहरूको घर पुग्ने व्यवस्था नहुञ्जेलसम्म राख्न पशुपतिनगरमै क्वारेन्टिनसमेत व्यवस्था गरिँदैछ।

पशुपतिनगरमा रहेको पर्यटन सूचना केन्द्रमा होल्डिङ सेन्टर स्थापना भइसकेको छ। नाकाबाट आएका व्यक्तिलाई एन्टिजिनसहित सामान्य स्वास्थ्य अवस्था जाँचेर केही समय राख्न सेन्टर स्थापना गरिएको हो। पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि ७ शय्याको क्वारेन्टिन राखिएको छ। यसरी आएका नेपालीलाई उनीहरूको घर पुग्नुअघि अन्यत्र जान नदिन क्वारेन्टिन व्यवस्था गरिएको हो। 

सूर्याेदय नगरबाहेक जिल्लाका अरू पालिका र जिल्लासम्म पुग्ने नागरिकलाई क्वारेन्टिनमा राखिने मेयर रणबहादुर राईले बताए। ‘स्थानीय होटलमा कम्तीमा २५ शय्या क्षमताको क्वारेन्टिन व्यवस्थापन गरिँदैछ,’ उनले भने, ‘तर, क्वारेन्टिनमा खाने–बस्ने खर्च चाहिँ नगरले गर्ने होइन, सम्बन्धित व्यक्तिले नै गर्ने हो।’ उनले क्वारेन्टिनमा बस्ने व्यक्तिका लागि सहुलियत दरमा खान–बस्न सक्नेगरी होटल व्यवसायीसँग समन्वय गरिएको बताए।  

नगरले स्थापना गरेको हेल्प डेस्कमा नाकाबाट भित्रिएका नेपालीको एन्टिजिनसमेत परीक्षण गरिनेछ। ‘परीक्षणबाट देखिएको नतिजाका आधारमा उसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा नगरले सहयोग गर्नेछ,’ मेयर राईले भने, ‘सीमामै कोरोना नियन्त्रणका लागि नगरले प्रयास गरेको हो।’ उनले अहिले भारतबाट छिटफुट रूपमा मात्रै नेपाली आइरहेको र केही समयपछि यो संख्या बढ्ने सम्भावना रहेको बताए।  

कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरमा आइतबारदेखि होटल, सवारी साधन, बजार, पसललगायत बन्द गरिएको छ। अर्काे सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबैखाले सेवा बन्द गरिएको नगरले जनाएको छ। नगरपालिका र वडाहरूले दिने अत्यावश्यक बाहेकका सेवासमेत बन्द गरिएको छ। नगर क्षेत्रमा कोरोनाका कारण कसैको निधन भए शवबाहनको व्यवस्था नगरले नै गर्ने पनि निर्णय भएको मेयर राईले बताए।  

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका अन्य स्थानीय तहले पनि अत्यावश्यकबाहेकका सेवा धमाधम बन्द गरिरहेका छन्। उद्योगी, व्यवसायी र सरोकारवालासमेतको समन्वयमा स्थानीय तहले बजार, पसल, यातायातलगायत सबै क्षेत्रको सेवा बन्द गरेका हुन्।  

देउमाई नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सर्वसाधारणलाई घरबाट निस्किन नदिने निर्णय गरिसकेको छ । नगरले आउँदो ३१ गते राति १२ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नदिने निर्णय गरी सूचना जारी गरेको हो।  

नगरमा खाद्य र अत्यावश्यक सामग्रीका पसल बिहान ६ देखि ९ बजेसम्म खुला राख्ने तर अरू सबैखाले पसल बन्द गराउने निर्णय पनि गरिएको मेयर सूर्य पोख्रेलले बताए। नगरले अत्यावश्यक सेवाबाहेकका सवारी साधनसमेत नचलाउन र लामो दूरीका सवारी साधन नगरभित्र नरोक्न पनि आग्रह गरेको छ । बैठकले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य रूपमा पालना गराउने, हाट, बजार, मेला, पर्व, पाटी, भोजलगायत सबै बन्द गर्ने निर्णय गरेको छ।

माईजोगमाई गाउँपालिकाले आउँदो ३१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । गाउँपालिकाले सवारी साधनसमेत बन्द गर्न आग्रह गरेको छ। माङ्सेबुङ गाउँपालिकाले पनि कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेका सेवा बन्द बन्द गरेको छ। जिल्लामा सबैभन्दा बढी संक्रमण फैलिएको जिल्ला सदरमुकाममा पनि बजार, पसल, यातायातलगायत सेवा बन्द छन्। इलाम नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा आउँदो ३१ गतेसम्मलाई बन्द गराएको छ । अन्य नगर र गाउँपालिकाले पनि मानिसको भिड हुने, आउ–जाउ धेरै हुनेखालका सबै गतिविधि बन्द गराएका छन्।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ। ४ जनाको मृत्यु भएको छ। इलाम नगरपालिकामा सबैभन्दा बढी ७५ जना संक्रमित छन् । रोङ गाउँपालिकामा २१, माई नगरमा १७, चुलाचुलीमा ७, सूर्याेदयमा ५, देउमाई नगरमा ४, फाकफोकथुम र माइजोगमाई गाउँपालिकामा २÷२ तथा माङ्सेबुङ गाउँपालिकामा १ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०७८ ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App