७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अस्पतालहरुमा 'ट्राइएज' क्लिनिक सञ्चालन गर्न र दरबन्दीका स्वास्थ्यकर्मीलाई हाजिर गराउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ट्राइएज क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले कोभिड १९ संक्रमितहरुको उपचारको सुरुको व्यवस्थापनका लागि ट्राइएज क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको हो।

‘२५ हव अस्पताल र स्याटेलाइट अस्पतालहरुले २४ सै घन्टा सातै दिन कोभिड १९ संक्रमितहरुको उपचारको सुरुको व्यवस्थापनका लागि ट्राइएज क्लिनिक सञ्चालन गर्ने र ती अस्पताहरुले एउटा एउटा मोबाइल नम्बर सार्वजनिक गर्ने र स्याटेलाइट अस्पतालहरुसँग र स्वास्थ्य विपद आपतकालीन केन्द्रको समन्वयमा बिरामी व्यवस्थापन गर्न’ पनि निर्देशन दिएको छ।

ट्राइएज क्लिनिकमा बिरामीको सुरुको अवस्थाको व्यवस्थापन, अक्सिजन थेरापी, परामर्श, डिस्जार्च वा रिफर लगायतका प्रावधान रहेका हुन्छन्।

यसैगरी मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई आआफ्नो दरबन्दी रहेको संस्थामा हाजिर गराउन पनि निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।

उनले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि आवश्यक उपचारको व्यवस्थाका लागि अध्ययन बिदामा रहेका हाल अध्ययन नभएको अवस्थाका सबै स्वास्थ्यकर्मीहरुलाई दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भई सेवा गर्नका लागि निर्देशनसहितको पत्र पठाइएको बताए।

मन्त्रालयले सूचना परिपत्र गर्दै विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउन सकिने पनि बताएको छ।

मन्त्रालयले विदेश जानेहरुको पीसीआर परीक्षण सबै सरकारी पीसीआर प्रयोगशाला र न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पीसीआर र ए वर्गका प्रयोगशालाहरुले गर्ने व्यवस्था गर्न पनि परिपत्र गरेको छ।

पीसीआर परीक्षणका लागि सबै प्रयोगशालाहरुले २४ सै घन्टा सातै दिन नमूना लिनका लागि पनि निर्देशन दिएको छ।

प्रकाशित: १९ वैशाख २०७८ १२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App