भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका थप दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचार गराइरहेका वृद्धको मृत्यु भएको हो। नेपालगन्ज उपमहानगरपालिका–१२ का ७० वर्षीय वृद्धको मंगलबार राती १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।
गत चैत २९ गते नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोहलपुर नगरपालिका– १२ का वृद्धको उपचारका क्रममा मृत्यु भएको हो। वैशाख ६ गते मेडिकल कलेजमा पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ आएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि उपचारको क्रममा बुधबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। मृतकको शवलाई नेपाली सेना र परिवारले व्यवस्थापन गर्ने जनाइएको छ। कोरोना संक्रमणबाट बाँकेमा मृतकको संख्या ६६ पुगेको छ।
प्रकाशित: ८ वैशाख २०७८ ०५:५४ बुधबार