१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कोभिसिल्ड दोस्रो खोप लगाएका चिकित्सकमा कोरोना पोजेटिभ

विश्वव्यापी महामारी कोभिड–१९ को जोखिमबाट बच्न नेपालमा दोस्रो चरणको खोप कार्यक्रम सुरु भइरहेको छ। सुरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतका पेशाकर्मीबाट सुरु गरिएको कोभिसिल्ड खोपको दोस्रो डोज स्वास्थकर्मीहरूले लगाइसकेका छन्। त्यसरी दोस्रो चरणको खोप लगाइसकेका कतिपय स्वास्थकर्मीलाई भने कोरोना संक्रमण देखिएको छ।  

काठमाडौंको निजामती कर्मचारी अस्पतालमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. कपिलमणि केसीमा कोभिसिल्डको दोस्रो खोप लगाएको करिब तीन सातापछि कोरोना संक्रमण देखिएको छ। अस्पतालबाट केही समयको बिदा लिएर रूपन्देही गएका उनलाई कोभिशिल्डको दोस्रो खोप लगाएपछि कोरोना पोजेटिभ देखिएको हो। करिब एक सातादेखि उच्च ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिएपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको उनले बताए।

‘दोस्रो चरणको खोप लगाइसकेको करिब तीन सातापछि कोरोनसँग मिल्दो लक्षण देखियो। पिसिआर जाँच गराउँदा पोजेटिभ देखियो,’ उनले भने। लक्षण देखिएपनि खोप लगाइसकेकाले सुरुमा कोरोना भयो भन्नेमा ध्यानै नगएको उनको भनाइ छ। एक सातासम्म स्वास्थ्यमा निरन्तर समस्या हुँदै स्वास्थ्य जटिल हुँदै गएपछि मात्र पिसिआर जाँच गर्न गएको उनले बताए। डा. केसीले भ्याक्सिनले उच्चतम सुरक्षा (पिक प्रोटेक्सन) दिने चरणमा आफू संक्रमित भएको बताए।  

‘दोस्रो चरणको भ्याक्सिन लगाएको तीन साता भनेको उच्चतम सुरक्षा प्रदान गर्ने समय हो तर म त्यही बेलामा संक्रमित भएर थला पर्नुप¥यो,’ उनले भने। डा. केसीमा पहिलो खोप लगाएपछि ज्वरो आउने, खोकी लाग्ने, आवाज बस्नेलगायतका समस्या देखिएको थियो। पहिलो खोप लगाएको करिब एक महिनासम्म विभिन्न समस्या (साइड इफेक्ट) देखिएको भएपनि दोस्रो खोप लगाउँदा भने त्यस्तौ कुनै समस्या नभएको उनले बताए।

रूपन्देहीमै अर्का एक चिकित्सकलाई पनि दोस्रो चरणको खोप लगाएपछि कोरोना संक्रमण भएको डा. केसीले जानकारी दिए। ती चिकित्सकमा भने सामान्य किसिमका लक्षण देखिएको र पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो।  

केही दिनअघि भारतको नयाँ दिल्लीस्थित सत्यवादी राजा हरिसचन्द्र अस्पतालमा कार्यरत एक नर्स पनि कोभिसिल्डको दोस्रो खोप लगाएको एक महिनापछि कोरोना संक्रमित भएकी थिइन्। विज्ञहरूले उक्त घटनालाई आश्चर्यजनक नभएको बताएका थिए। तथापि खोप सत प्रतिशत प्रभावकारी रहेको उनीहरूको तर्क थियो। भारतकै मध्यप्रदेशको गान्धी मेडिकल कलेजमा कार्यरत एक वरिष्ठ चिकित्सकमा पनि कोभिसिल्डको दोस्रो खोप लगाएपछि पनि कोरोना संक्रमण देखिएको थियो। उनले मार्च १ मा दोस्रो खोप लगाएकामा मार्च १० मा कोरोना संक्रमण देखिएको थियो।  

नेपालमा पहिलो चरणमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको र भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको खोप वितरण गरिएको थियो। उक्त खोपलाई कोरोनासँग लड्ने प्रभावकारी खोपमा रूपमा हेर्ने गरिएको छ। 

प्रकाशित: ७ वैशाख २०७८ ०३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App