coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना हावाबाट सर्ने १० प्रमाण भेटिए

विश्वलाई कोरोना महामारीको दोस्रो लहरले गाँजिरहेका बेला वैज्ञानिकले हावाबाट पनि कोरोना भाइरस सर्ने १० वटा प्रमाण भेटेका छन्। गत साता विश्वप्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटमा छापिएको अध्ययन प्रतिवेदनमा यी प्रमाणहरूबारे उल्लेख गरिएको छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाका विभिन्न संस्थामा कार्यरत ५ वैज्ञानिकले संयुक्तरूपमा उक्त अध्ययन गरेका हुन्। पहिलो प्रमाणका रूपमा वैज्ञानिकले कोभिड–१९ व्यापक प्रसारमा निश्चित कार्यक्रम तथा जमघट (सुपरस्पे्रडिङ इभेन्ट्स) धेरै हिसाबले जिम्मेबार रहेकाले यो हावाको माध्यमबाट सरेको देखिएको तथ्य राखेका छन्। मानिसको आनीबानी तथा अन्तरक्रिया, कोठाकोआकार, ठूलाखाले कन्सर्टमा देखिने अन्य सूचक, पानीजहाज, केयर होम, वधशालालगायतका संरचनामा गरिएको विस्तृत समीक्षाले लामो रेन्जमा पनि भाइरसको प्रसारण भएको देखाएको छ।  

उक्त अध्ययनले दोस्रो प्रमाणमा क्वारेन्टिन होटलमा नजिकका फरकफरक कोठामा बसेका तर एकआपसमा सम्पर्क नभएका मानिसमा भाइरस प्रसारण हुनुलाई लिएको छ। यसैगरी विश्वमा कोरोना संक्रमित कुल संख्यामा लक्षण नदेखिएका र लक्षण देखिनुअघिको अवस्थामा रहेका मानिसबाट हुने संक्रमणले कम्तीमा ३३ देखि ५९ प्रतिशत हिस्सा लिएको देखिएको छ। वैज्ञानिकले यसलाई हावाको माध्यमबाट भाइरस सर्ने तेस्रो प्रमाणका रूपमा मानेका छन्। प्रत्यक्ष मापनले पनि के देखाएको छ भने मानिसले बोल्दा एरोसोलका हजारौं कण र केही ठूला कण (ड्रपलेट) निस्कन्छन्। यसले हावाको माध्यमबाट हुने प्रसारणलाई पुष्टि गर्छ।

कोभिड–१९ संक्रमण घरबाहिर (आउटडोर) भन्दा घरभित्र (इनडोर) मा अधिक देखिएको र घरभित्र भेन्टिेलेसनको व्यवस्था गरेको अवस्थामा भाइरसको प्रसारण अत्यधिक घटेको देखिनुलाई वैज्ञानिकले चौथो प्रमाण मानेका छन्। यी दुवै नतिजाले हावाबाट हुने प्रसारणलाई पुष्टि गर्ने उनीहरूको दाबी छ। यसैगरी पाँचाैं प्रमाणमा अस्पताललगायत निश्चित स्वास्थ्य सेवा उपलब्ध गराउने स्थानमा हुने संक्रमण (नोसोकोमियल) हो। यस्ता स्थानमा एकआपसको सम्पर्क र ससाना कणमार्फत हुने संक्रमणको सम्भावनालाई न्यून गरिएको हुन्छ, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को प्रयोग गरिएको हुन्छ । तर यी स्थानमा हावाबाट हुने संक्रमणलाई रोकथाम गरिएको हुँदैन। छैटौं प्रमाणमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणले भाइरस हावामा १–१ घण्टाको अर्धजीवनसहित ३ घण्टासम्म तैैरिन सक्ने तथ्यलाई लिइएको छ।  

कोभिड–१९ का बिरामी बसेका कोठा र कारबाट संकलन गरिएको नमुनामा पनि भाइरस पाइएको छ । अन्य कतिपय अध्ययनले हावामा कोभिड–१९ को नमुना संकलन गर्न नसकिने देखाए पनि यो अपेक्षा गर्न सकिने उनीहरूको दाबी छ । दादुरा र क्षयरोग जस्ता हावाबाट सर्ने दुई प्रमुख रोगका जीवाणुलाई कोठाको हावाबाट कहिल्यै पनि संकलन गर्न सकिएको छैन। विशेषगरी यस्ता अत्यन्त ससाना कण संकलन चुनौतीपूर्ण हुन्छ। यसरी संकलन गर्दा भाइरसको निर्जलीकरण हुने, भाइरस नष्ट हुनेलगायतका समस्या देखिन्छन्।

कोभिड–१९ का बिरामी राखिएका अस्पतालका एयर फिल्टर र भवनमा जडित हावाका नली (डक्टर पाइप) मा समेत भाइरसका नमुना भेटिनुलाई वैज्ञानिकले हावाबाट यो भाइरस सर्ने सातौं प्रमाण मानेका छन्। यी स्थानमा हावाका ससाना कणको मात्र पहुँच हुन्छ। यसैगरी एउटै हावाको नलीले जोडिएका तर फरक पिँजडामा राखिएका संक्रमित र संक्रमण नभएका जनावरको अध्ययनले भाइरस प्रसार भएको देखिएको छ। हावाका ससाना कणमार्फत भाइरस प्रसारलाई यसले यथेष्ट हिसाबले प्रमाणित गरेको दाबी वैज्ञानिकको छ।  

यसैगरी अहिलेसम्म कुनै पनि अध्ययनले हावाबाट कोरोना भाइरस संक्रमण हँुदैन भनेर ठोस र स्थिर प्रमाण दिन नसक्नुलाई पनि वैज्ञानिकले प्रमाण मानेका छन्। भाइरस प्रसारणमा प्रमुख माध्यम मानिएको श्वासप्रश्वास क्रममा निस्कने कण र संक्रमित बस्तु छँुदा हुने संक्रमणलाई प्रमाणित गर्न पर्याप्त प्रमाण नहुनुलाई वैज्ञानिकले अर्को प्रमाणका रुपमा लिएका छन् । एकआपसमा नजिक रहेका मानिसमा श्वासप्रश्वासमार्फत भाइरस सर्नुलाई प्रमाणको रुपमा मानिए पनि उक्त अध्ययन प्रतिवेदनमा वैज्ञानिकले श्वासप्रश्वास क्रममा निस्कने ठूला कणभन्दा उच्च संक्रमणका लागि ससाना कण झन् बढी जिम्मेबार रहने तर्क गरेका छन्।

अध्ययनको निष्कर्षमा ती वैज्ञानिकले हावामार्फत सर्ने कुरालाई शंका गर्नु वैज्ञानिक गल्ती हुने जिकिर गरेका छन् । जनस्वास्थका हिसाबले यो नतिजा अत्यन्त चिन्ताजनक रहेका औंल्याउँदै उनीहरूले सार्वजनिक स्वास्थ्यसँग सम्बद्ध सबैले ढिलाइ नगरीकन यो पक्षलाई तत्काल सम्बोधन गर्न आवश्यक रहेकोे बताएका छन्।

प्रकाशित: ६ वैशाख २०७८ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App