६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

भेरी अस्पतालमा ८१ को परीक्षण गर्दा ७५ जनालाई कोरोना

अस्पतालमा दिउँसो थप एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल । तस्बिर : नागरिक

तीव्र रुपले फैलिएको कोरोना संक्रमणको दर नेपालगन्जमा झन् भयावह बन्दै गएको छ। यहाँका विभिन्न प्रयोगशालामा कोरोना परीक्षण गर्दा दिनहुँजसो संक्रमितको संख्या अत्यधिक रुपले बढिरहेको छ। भेरी अस्पताल नेपालगन्जले बितेको २४ घण्टाभित्र ८१ वटा स्वाब परीक्षण गर्दा आइतबार ७५ जनालाई कोरोना पुष्टि भएको छ। परीक्षण गरिएको स्वाबमध्ये ९२.६ प्रतिशतलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। पछिल्लो समयमा भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट अत्यधिक रुपले संक्रमित फेला परिरहेका छन्।  

उक्त अस्पतालको कोभिड वार्डमा आइतबार दिउँसो पनि थप एक महिलाको मृत्यु भएको छ। बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ निवासी ५२ वर्षीया महिलाको आइतबार अपरान्ह ४ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। स्वास्थ्यमा समस्या आएपछि गत चैत ३१ गते भेरी अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।  

यसअघि शनिबार बेलुका बर्दिया राजापुर नगरपालिका वडा नम्बर १ निवासी ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो। अस्पतालका अनुसार उनको बेलुकी ७ बजेतिर मृत्यु भएको हो। भेरी अस्पतालमा यही बैशाख २ गते भर्ना भएका उनको शनिबार बेलुकी ७ बजेतिर मृत्यु भएको थियो। यस्तै भेरी अस्पतालमा उपचार गराइरहेकी बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ८ निवासी ७८ वर्षीया महिलाको पनि शनिबार बेलुका ७ः४० बजेतिर मृत्यु भएको थियो। स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गरिएकोमा बैशाख १ गते पोजेटिभ आएपछि २ गते भेरी मृत्यु भयो।  

यसैगरी भेरी अस्पतालमा शनिबार राती नै दैलेख नारायण नगरपालिका वडा नम्बर १ निवासी ६८ वर्षीया महिलाको मृत्यु भयो। गत चैत ३० गते पिसिआर परीक्षण गरिएकोमा ३१ गते कोरोना पोजेटिभ देखिएको थियो। यही बैशाख १ गते भेरी अस्पतालमा भर्ना भएकी उनको शनिबार राती साढे ९ बजेतिर मृत्यु भएको हो। यो सँगै कोरोना संक्रमणबाट बाँकेका मृतकको संख्या ६० र बाहिरी जिल्लाको मृतक संख्या ९७ पुगेको फोकल पर्सन ओलीले बताए।

प्रकाशित: ५ वैशाख २०७८ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App