coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा कोरोना संक्रमण उच्चः नेपाल–भारत सीमा खुल्ला, विद्यालय निर्वाध सञ्चालन

भारतबाट नेपालगन्ज फर्किदै गरेका नेपाली नागरिक । तस्बिर : अर्जुन/नागरिक

नेपालगन्जमा कोरोना संक्रमण उच्च रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा भने निर्वाध रुपले आवत–जावत चलिरहेको छ । भारतमा उच्च रुपले कोरोना भाईरस फैलिंदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा कुनै कडाई नगरेको सर्वसाधारणको गुनासो छ । नयाँ वर्ष र चैते दशै मनाउन भारतका विभिन्न शहरबाट यतिखेर ठूलो संख्यामा नेपाली नागरिक फर्किरहेका छन् । सीमा क्षेत्रमा उनीहरुको सामान्य स्वास्थ्य जाँच गर्ने काम बाहेक अरु कुनै सावधानी अपनाएको पाइदैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अचेल भारतबाट दैनिक रुपमा एक हजारदेखि २ हजारको संख्यामा नेपाली नागरिक फर्किने गरेका छन् । बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले अचेल दैनिक रुपमा एक हजारदेखि २ हजारको हाराहारीमा नेपाली नागरिक फर्किने गरेको बताए । ‘भारतमा काम गरेर फर्केका नेपाली नागरिकको संख्या धेरै छ, घर फर्किरहेका नेपाली नागरिकलाई हामीले कसरी रोक्नु र ?’ उनले नागरिकसँग भने ‘सीमामा एउटा हेल्थ डेक्स राखिएको छ, त्यहाँ अनिवार्य रुपमा स्वास्थ्य जाँच गरिन्छ ।’  

सीमा नाकामा सवारी साधनलाई भने आवत–जावतमा रोक लगाइएको रानाले दाबी गरे । भारतबाट फर्केका ब्यक्तिको चेकजाँचमा कडाई गर्न आफ्नो मातहतका प्रहरीलाई निर्देशन दिइएको उनले बताए । प्रहरी प्रमुख रानाले थपे, ‘जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठक आज बस्दैछ, बैठकले गरेको निर्णय अनुसार अब हामी अगाडी बढ्छौं ।’

नेपालगन्जमा कोरोना संक्रमण भुसको आगो जस्तै फैलिरहेका बेला बाँकेका सरकारी तथा संस्थागत(बोर्डिङ स्कुल) विद्यालयहरु पनि निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । भेरी अस्पतालका अनुसार कोरोना भाईरसका नयाँ संक्रमित मध्ये अधिकांस शिक्षक र विद्यार्थी रहेका छन् । तर, विद्यालयहरुले स्वास्थ्य मापदण्ड विपरित निर्वाध रुपमा पढाई सञ्चालन गरिरहेको अभिभावक बताउँछन् । ‘कोरोना भाईरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्, तर विद्यालय बन्द गर्ने विषयमा कुनैपनि जिम्मेवार निकाय गम्भीर छैनन्,’ एक अभिभावकले भने ‘हाम्रा छोरा छोरी संक्रमित भएर कुनै घटना भईहाल्यो भने त्यसको कस्ले जिम्मेवारी लिन्छ ?’

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल नेपाल–भारत सीमा नाका र विद्यालय तथा कलेज बन्द नगर्दासम्म कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न नसकिने बताउँछन् । ‘भारतबाट दिन प्रतिदिन संक्रमित भित्रिरहेका छन्, विद्यालयले निर्वाध रुपमा पढाई सञ्चालन गरिरहेका छन्, प्रहरी प्रशासनलाई कुनै मतलब छैन,’ उनले भने ‘यस्तै लापरबाहीले कोरोना नियन्त्रण बाहिर हुने निश्चित छ, कोरोना भाईरस समुदायमै फैलिसक्यो ।’  

दोस्रो चरणमा फैलिएको संक्रमण निकै कडा रहेको रिसालले सुनाए । ‘रोगको बारेमा शिक्षकले भन्ने कि चिकित्सकले ?,’ उनले थपे, ‘यदी विद्यालय खोलेर लापरबाही गर्नुहुन्छ भने त्यसको परिणाम राम्रो हुनेछैन, कुनैपनि बच्चाले खोप पाएका छैनन्, त्यसकारण हाम्रो अनुरोधलाई कृपया मानिदिनुस् ।’

प्रकाशित: २ वैशाख २०७८ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App