वीरगञ्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन्। वीरगञ्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
उनका अनुसार आज बिहान १० बजेसम्म हैजा सङ्क्रमित ६७६ जना अस्पतालमा भर्ना भएका थिए। ‘अहिले यहाँका विभिन्न अस्पतालमा हैजा सङ्क्रमित ३२ जना बिरामी सघन उपचार कक्ष (आइसियू) मा उपचाररत छन् भने सात जना उच्च हेरचाह कक्ष (एचडियू) मा उपचाररत छन्,’ उनले भने, ‘यहाँका डेढ दर्जन अस्पतालको जनरल वार्डमा १८९ बिरामी छन्।’ साथै वीरगञ्ज आसपासमा २२८ हैजाका बिरामी उपचाररत छन्।
स्वास्थ्य कार्यालय पर्साका अनुसार १५२ वटा नमुना आरडिटीमार्फत कोलेरा जाँच गर्दा हैजाका सङ्क्रमित भेटिएका छन्। सङ्क्रमितमध्ये ७६ जना डिस्चार्ज तथा रेफर भएका छन् भने ७४ जनामा सङ्क्रमण देखिएको छ। यहाँका ३२ वटा बिरामीको दिसाको नमुना ‘कल्चर’ जाँचका लागि पठाइएका मध्ये २० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। रासस
प्रकाशित: १३ भाद्र २०८२ १८:१६ शुक्रबार





