१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

डाक्टर भन्छन् : पुरानो कोरोना हजार जनामा सर्न सक्छ भने नयाँ १७ सयमा

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबाट डर नमान्न सबैलाई आग्रह गरेका छन्। कोरोनाकाे नयाँ प्रकार छिमेकी मुलुक भारतमा समेत आइसकेको अवस्थामा डा. पाण्डेले सामाजिक सञ्जालमार्फत बच्नका लागि विभिन्न उपाय अपनाउन तर नआत्तिन सुझाव दिएका हुन्।  

यस विषयमा डा. पाण्डे फेसबुकमा लेख्छन् :

बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं। यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन। भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ। त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो। पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशतभन्दा बढी सर्न सक्दछ। उदाहरणका लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशतभन्दा बढी अर्थात् १७०० जनालाई संक्रमण गराउन सक्छ।

यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन। यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो।

अन्य व्यक्तिसँग भेट्दा मास्क सही तरिकाले अनिवार्य रूपमा लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाटरबैठक नगर्ने तथा हातलाई नियमित रूपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन।

आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने (जाडोमा मर्निङ वाक नगर्नु राम्रो), तनाव नलिने, राति ८-९ घण्टा सुत्ने, मौसमी फलफूल खाने, औषधिसेवीले आफ्नो औषधि नछाड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै सँगै जानेछ।

ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो। गलत सूचना नै तनावको स्रोत हो। तसर्थ आधिकारिक समाचार मात्र हेर्नेरपढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाव कम गर्ने मुख्य उपाय हुन्।

प्रकाशित: १९ पुस २०७७ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App