संयुक्त अरब ईमिरेट्स (युएई) ले बेलायतसहित युरोपेली मुलुकहरूमा द्रुत रूपमा फैलिईरहेको नयाँ स्वरुपको कोरोना भाईरसका सिमित केसहरु फेला परेको जनाएको छ।
युएईको राष्ट्रिय आपतकालीन संकट तथा प्रकोप व्यवस्थापन प्राधिकरणले विदेशबाट आएका केही व्यक्तिमा कोरोना भाईरसको नयाँ स्वरुप देखा परेको जनाएको हो। प्राधिकरणले रिपोर्ट गरिएका नयाँ केसहरु विदेशबाट यात्रा गरेर आउनेहरुमा देखिएको जनाएपनी देश र संख्या भने खुलाएको छैन।
युएईमा पछिल्लो समय कोभिड १९ का कारण संक्रमित हुनेहरूको संख्या बढ्दै गएको छ। यहाँ पछिल्लो एक सातामा ९ लाख बढीको कोभिड १९ परीक्षण गरिएको छ भने अहिलेसम्म संक्रमित हुनेहरुको कुल संख्या २ लाख नाघेको छ। यी मध्ये १ लाख ८३ हजार जना रोगमुक्त बनिसकेका छन्। त्यस्तै मृत्यु हुनेको संख्या ६ सय ६५ पुगेको छ। परीक्षणको मामिलामा युएईले देशको कुल जनसंख्या भन्दा धेरैको परीक्षण गरेर रेकर्ड नै कायम गरेको छ।
युएईमा अहिले कोरोना विरुद्धको भ्याक्सिन लगाउने काम पनि भईरहेको छ। अबुधाबीमा चिनियाँ कम्पनी सिनोफर्माद्वारा उत्पादित भिरो सेल भ्याक्सिन निशुल्क रूपमा लगाई राखिएको छ भने दुबईमा हालै अमेरिकी कम्पनी फाईजर र बायोएनटेकद्वारा उत्पादित भ्याक्सिन लगाउन शुरु गरिएको छ। यसबाट अहिलेसम्म धेरै नेपालीले लाभ लिईसकेका छन।
बेलायतबाट शुरु भएको कोरोना भाईरसको नयाँ स्वरुप अमेरिका , स्विजरल्याण्ड , डेन्मार्क , फ्रान्स , नर्वे , अष्ट्रेलिया , जर्मनी , जापान , दक्षिण कोरिया , युएई हुँदै अहिले दक्षिण एसियामा समेत भित्रिई सकेको छ। नयाँ स्वरूपको कोरोना भाईरस पहिलेको भन्दा बढी संक्रामक रहेकोले अहिले पूरा विश्व नै चिन्तामा परेको छ। कोरोनाको नयाँ स्वरुप देखिएपछि अहिले थुप्रै देशले आफ्नो सीमा सील गरेका छन्।
प्रकाशित: १६ पुस २०७७ ०३:५३ बिहीबार





