१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

बिपी प्रतिष्ठानमा क्यान्सरको उपचार सुरु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ।

कोरोना कहरकैबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सर रोगको उपचार सुरु गरेको छ। वीर हस्पिटल न्याम्सबाट मेडिकल अंकोलोजीमा डिएम गरेकी डा. सोनिया दुलाल स्वास्थ्य मन्त्रालयको बण्डमार्फत प्रतिष्ठानमा आएपछि क्यान्सर रोगको उपचार सुरु भएको हो। मेडिकल अंकोलोजीमा डिएम गरेर पूर्वक्षेत्रमा सेवा सुरु गर्ने डा. दुलाल पहिलो विशेषज्ञ चिकित्सक हुन्। यसअघि केही निजी अस्पतालमा रेडिएसन अंकोलोजिष्टहरु मात्र थिए। डा. दुलालले गत साउन १ गतेदेखि प्रतिष्ठानमा सेवा सुरु गरेकी हुन्। उनले सेवा सुरु गरेपछि कोभिड १९ को कहरकैबीचमा अहिलेसम्म १ सय बढीको थेपारी भइसकेको प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागले जनाएको छ।

विभागीय प्रमुख प्राडा सञ्जीव शर्माका अनुसार प्रतिष्ठानमा मेडिकल अंकोलोजी उपचार सेवा सुरु भएपछि पूर्वक्षेत्रका क्यान्सर बिरामीहरुले धेरै राहत पाएका छन्। विगतमा यहाँबाट क्यान्सरका बिरामीहरु रिफर भएर भरतपुर वा उपत्यका जाने गरेका थिए। पछिल्लोसमय कोरोना संक्रमण र लकडाउनले गदा क्यान्सरका बिरामीलाई उपचार सेवा पाउन निक्कै सास्ती भइरहेको थियो। अहिले यो क्षेत्रका क्यान्सर बिरामीहरुलाई धेरै राहत भइरहेको र विभागले पनि गर्नुपर्ने सहयोग सक्दो गर्ने विभागीय प्रमुख प्राडा शर्माले भने।

मेडिकल अंकोलोजिष्ट डा. दुलालका अनुसार आफूले सेवा सुरु गरेपछि मंगलबारसम्म १ सय १ जनाको थेपारी भइसकेको छ। अहिले सीमित स्रोतसाधन तथा जनशक्तिको कारण दिनमा ४ देखि ८ जनालाई मात्र दैनिकरुपमा राख्ने गरिएको उनले बताइन्। पूर्वमा क्यान्सरका बिरामी धेरै भएको र कोभिडको कारण उपचारको लागि राजधानी जान नपाएको कारण आफू स्वास्थ्य मन्त्रालयको बण्डमा २ बिपी प्रतिष्ठान आएको उनले बताइन्। वातावरण बनेमा बण्ड अवधिपछि पनि आफू प्रतिष्ठानमा रहेर सेवा दिने चाहना भएको उनको भनाइ छ। ‘मैले नै बिपी प्रतिष्ठानलाई छाने, यो क्षेत्रका क्यान्सर विरामीहरु उपचारको लागि अहिले काठमाण्डौं जान समस्या भइरहेको थियो। यो क्षेत्रमा धेरै क्यान्सर रोगी छन्,’ उनले भनिन्, ‘बिपीलाई पनि आवश्यकता थियो। भविष्यमा पनि यही रहेर मेडिकल अंकोलोजीलाई स्थापित गर्ने लक्ष्य छ।’

डा. दुलाललाई मेडिसिन विभागले आवश्यक सहयोग गरिरहेको छ। मेडिकल अंकोलोजीका लागि अलग्गै डेडिकेटेड जनशक्ति, वार्ड र विभाग आवश्यक पर्छ। यसको लागि अहिले सेटअप गर्ने काम भइरहेको डा. दुलालले बताइन्। ‘उपकुलपति र विभागीय प्रमुखबाट धेरै साथ, सहयोग पाइराखेको छु,’ डा.दुलालले भनिन्। प्रतिष्ठानमा अंकोलोजी सेन्टरको भवन निर्माणाधीन अवस्थामा छ। भविष्यमा ४ सय बेडको अलग्गै अंकोलोजी सेन्टर सञ्चालनमा आउनेछ। विवादको कारण झण्डै २ बर्षदेखि निर्माण रोकिएको यो भवन अहिले पुनः सुचारु भएको छ। ‘’अंकोलोजी सेवालाई अझ गुणस्तरीय, प्रभावकारी बनाउन वीपी प्रतिष्ठानलाई चुनौती र अवसर पनि छ,’ विभागीय प्रमुख प्राडा शर्मा भन्छन्।

प्रकाशित: २६ कार्तिक २०७७ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App