१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जिल्लामा पहिलोपटक पिसिआर मेसिन

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि जिल्लामा पहिलोपटक पिसिआर मेसिन भित्रिएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी सङ्घीय सरकारले आज पिसिआर मेसिन हस्तान्तरण गरेको हो।  

जिल्लामा पिसिआर मेसिन नहुँदा चितवन, पोखरालगायतका स्थानमा लगेर कोभिड–१९ को परीक्षण गर्नुपर्ने अवस्थामा मेसिन भित्र्याइएको हो। मेसिन भित्र्याइएको भएपनि यसलाई जडान गरेर नियमित सञ्चालनमा ल्याउन एक महिना लाग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए। उक्त मेसिनका लागि स्थान र जनशक्ति व्यवस्थापन, मेसिनको गुणस्तर परीक्षणलगायत काम बाँकी रहेकालेले गर्दा पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने चापागाईको भनाइ छ।  

जिल्लामा सङ्क्रमणको दर बढिरहेको अवस्थामा सङ्घीय सरकारका तर्फबाट उपलब्ध गराइएको पिसिआर मेसिन सांसद तिलक महतले अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई हस्तान्तरण गरेकाहुन्। पिसिआर मेसिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै सांसद महतले यसले कोभिडविरुद्धको लडाइलाई अझै सहज बनाउने बताए। कार्यक्रममा महतले जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै जिल्लामैै सबै सेवा उपलब्ध गराउनतर्फ आफूले सङ्घीय सरकारसँग पहल गरिरहेको बताए।  

नयाँ मेसिनले एक पटकमा ९० देखि १०० वटा नमूनाको परीक्षण गर्न सक्ने क्षमता रहेको अध्यक्ष खनालले बताए। उनका अनुसार सो मेसिनबाट दैनिक ४०० देखि ५०० नमुनाको परीक्षण गर्न सकिनेछ। हाल नवलपरासीपूर्वमा सङ्क्रमितको सङ्ख्या एक हजार २९९ पुगेको छ। सङ्क्रमितमध्ये ८५० जना निको भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: १ कार्तिक २०७७ १४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App