२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीपीको कोभिड अस्पतालको भेन्टिलेटर ३ महिनामै बिग्रियो

अनियमितताको आशंका

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पताल सञ्चालन भएको ३ महिना पनि नबित्दै अधिकांश भेन्टिलेटरहरु बिग्रिएको छ। संघीय सरकारले बजेट उपलब्ध गराए पछि खरिद गरेर कोभिड अस्पतालमा ९ वटा भेन्टिलेटर जडान गरिएको थियो। कोभिड अस्पताल सञ्चालन भएको ३ महिना पनि नबित्दै ती भेन्टिलेटरहरु बिग्रिएपछि आर्थिक अनियमितताको आशंका गरिएको छ।  

भेन्टिलेटर खरिदको लागि संघीय सरकारले वीपी प्रतिष्ठानलाई १२ करोड रुपैयाँ दिएको थियो। करोडौं खर्चिएर खरिद गरिएको नयाँ भेन्टिलेटर बिग्रिएपछि अहिले संक्रमितहरुले कोभिड अस्पतालमा विरामीहरुले आइसियुमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ। प्रतिष्ठानका एक चिकित्सकका अनुसार बुधबार दिउँसो धरान ८ का युवाको कोभिड अस्पतालमा भेन्टिलेटर नपाएर इमर्जेन्सीमा नै मृत्यु भएको थियो। ‘उहाँलाई कोभिड अस्पतालमा भेन्टिलेटरमा लैजान निक्कै प्रयास गरियो, तर भेन्टिलेटर बिग्रिएर थन्किएकोले लैजान सकिएन। इमर्जेन्सीमा नै उहाँको ज्यान गयो,’ ती चिकित्सकले भने।

प्रतिष्ठानको कोभिड अस्पतालमा जडान गरिएको ९ वटामध्ये २ वटा भेन्टिलेटर मात्र सञ्चालनमा रहेको स्रोतको भनाई छ। अन्य सात वटा भेन्टिलेटरहरु हाल मर्मत भइरहेको छ। ती भेन्टिलेटरहरु व्यापारीसँगको मिलेमतोमा खरिद गरिएकोले कमसल जडान गरिएको स्रोतले जनायो। ‘मिलेमतो र कमिशनको चक्करले कोभिडको भेन्टिलेटरले यो हालत भएको हो,’स्रोतले भन्यो।

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीका प्रशासनिक सल्लाहकार भनिएका दिलिप भट्टराईले व्यापारीहरुसँग मिलेमतो गरेर अस्पतालका उपकरण र सामग्रीहरु खरिद गरेको आरोप लाग्दै आएको छ। तर, भट्टराईले भने यो आरोपको खण्डन गर्दै आइरहेका छन्। यसअघि पनि प्रक्रिया मिचेर खरिद गरिएको सामानको विल मिलाउन दबाब दिएपछि कोभिड अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले राजिनामा दिएकी थिइन्। यस्तै प्रक्रिया विपरीत भएको खरिदको हिसाब मिलान गर्न नमान्दा खरिद शाखा प्रमुख तथा मूल्यांकन समितिका सदस्य सचिव विष्णु चापागाईको सरुवा समेत गरिएको थियो।  

नेपालमा पनि कोरोना महामारी आउन थालेपछि गत बैशाखमा वीपी प्रतिष्ठालने लेभल थ्री कोभिड अस्पताल शुरुवात गरेको थियो। सय बेडको भनिएको उक्त अस्पताल भने झण्डै ४ महिनापछि साउन अन्तिमदेखि मात्र सञ्चालनमा आयो। तर, अहिले सञ्चालनमा आएको ३ महिना पनि नपुग्दै जडान गरिएको भेन्टिलेटरहरु बिग्रिएको हो। प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले कोभिडको केही भेन्टिलेटरमा समस्या आएकोले मर्मत भइरहेको जानकारी दिए।  

यसैबीच, अस्पताल निर्देशक डा. साहले एक सूचना जारी गर्दै समन्वय गरेर मात्र संक्रमित विरामी भर्नाको लागि प्रतिष्ठान ल्याउन आग्रह गरेका छन्। अधिकांश बेडमा लक्षणसहितका विरामीहरु भर्ना भइसकेको भन्दै प्रतिष्ठानले एक सूचना जारी गर्दै समन्वयकर्ता डा.इन्द्र लिम्बुलाई सम्पर्क गरेर मात्र विरामी भर्ना गर्न ल्याउन प्रतिष्ठानले आग्रह गरेको हो।  

अस्पताल निर्देशक डा.साहले सम्बन्धित व्यक्तिलाई समन्वय नगरि आएका विरामीलाई आइसियु, भेन्टिलेटर तथा बेड उपलब्ध गराउन सुनिश्चित गर्न नसकिने पनि बताएका छन्।

प्रकाशित: २३ आश्विन २०७७ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App