coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बढी शुल्क लिने प्रयोगशालालाई २४ घण्टे चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने विभिन्न आठ निजी प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको छ। २४ घण्टाभित्र सुधार नगरेमा कारबाही गर्ने मन्त्रालयले जनाएको छ। गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ वटा प्रयोगशालाले सरकारको मापदण्ड २ हजारभन्दा बढी लिएर पिसिआर परीक्षण गरेको पाइएको हो।

राजधानीका बिएण्डबी अस्पतालको प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, सूर्य हेल्थ केयर, भिकोड ल्याब, स्टार अस्पताल, इन्ट्रिपेड ल्याब, सिडिएललगायतका प्रयोगशालाले बढी शुल्क लिएर पिसिआर परीक्षण गरेको पाइएको र २४ घण्टाभित्र लिएको शुल्कमा समायोजन नगरेमा प्रयोगशालाको स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगलालाई निर्देशन दिने निर्णय भएको छ। सरकारले गत भदौ २८ को निर्णयअनुसार सबै प्रयोगशालाको लागि पिसिआर परीक्षण शुल्क २ हजार तोकेको थियो।

त्यसैगरी तोकेको शुल्कभन्दा बढी लिने गरेका प्रयोगशालाले समायोजन नगरेमा ती प्रयोगशालाहरूलाई कालोबजारी गरेको आरोपमा प्रयोगशाला बन्द गराउने गरी गृह मन्त्रालय तथा उद्योग वाणिज्य संघलाई कालोबजारी गरेको आरोपमा कारबाही गर्न पत्र पठाउने निर्णय भएको छ। बुधबार मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा र इन्सिडेन्ट कमाण्ड समितिको बैठकले योसहित विभिन्न निर्णय गरेको हो।

बैठकले सोही क्रममा नेसनल गाइडलाइनअनुसार परीक्षणमा नपरेका तथा स्वास्थ्य तथा सूचीकृत नभएका प्रयोगशालाले नमुना संकलन गर्ने तथा परीक्षणको सहजीकरण गरेको पाइएमा कडा कारबाही गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ।

होम आइसोलेसनमा फ्लो अफ गरेबापतको शोधभर्ना स्थानीय तहको सरकारले गर्ने र आइशा्ेलेशनको लागि शोधभर्ना प्रदेश सरकारले पठाउने निर्णय गरेको छ।

कोरोना संक्रमणबाट थप ७ को मृत्यु
दैनिक कोरोना संक्रमणबाट मृत्यु हुने क्रममै गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ५ पुरुष छन्। मृत्यु हुनेमा काठमाडौंका ३४ र ८६ वर्षीया महिला छन्। त्यस्तै सुनसरी र मोरङका ६०, सप्तरीका ३९ वर्षीय, काठमाडांैका ५४ वर्षीय र रुपन्देहीका ८२ वर्षीय पुरुषको मृत्यु भएको। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ।

गत २४ घण्टामा थप १५ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थपसहित नेपालमा कुल संक्रमित संख्या ७७ हजार ८ सय १७ पुगेको छ। नयाँ संक्रमितमध्येमा बुधबार पनि काठमाडौं उपत्यकामा ५७.८ अर्थात् ९ सय २ जना छन्। काठमाडांैमा सबैभन्दा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना छन्। उपत्यकाबाहिर मोरङमा ९८, सुनसरीमा ३८, मकवानपुरमा ३८, नवलपरासीमा ४५, सुर्खेतमा ४१ र रुपन्देहीमा ७० जना संक्रमित छन्।

कुल संंक्रमितमध्ये हालसम्म ५६ हजार ४ सय २८ जना निको भइसेका छन् भने देशभरिमा २० हजार ८ सय ९१ जना सक्रिय संक्रमित छन्। तीमध्ये संक्रमितमध्ये होम आइसोलेसनमा १० हजार ८ सय ४ जना र संस्थागतमा १० हजार ८७ जना छन्। तीमध्ये २ सय १ जना आइसियुमा र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

हाल देशभरिमा ८ वटा जिल्ला रुपन्देही, ललितपुर, चितवन, सुनसरी, मोरङ, सिराहा, काठमाडौं र भक्तपुर जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको र मुख्य सहरहरुमा सुर्खेत, रुपन्देही, काठमाडौं, भक्तपुर, ललितपुरमा संक्रमित दरमा वृद्धि भइरहेकाले ६० वर्षमाथिका र दीर्घरोगीलाई सकेसम्म घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरे।

प्रकाशित: १५ आश्विन २०७७ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App