१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

पिसिआर नेगेटिभ ! सुरक्षित कि झन् असुरक्षित ?

आजभोलि हरेकले दैनिकजसो सबैभन्दा बढी उच्चारण गर्ने शब्दावली भनेको ‘कोरोना भाइरस’ हो भन्दा अत्युक्ति नहोला। नहोस् पनि किन, गएको आठ महिनादेखि नेपाल मात्र होइन, विश्व नै यस महामारीको चपेटामा परेको छ। हजारौंको ज्यान कोरोना संक्रमणका कारणले गइसकेको छ, हाल पनि जाँदै छ र खोप उपलब्ध नभएसम्म गइरहनेछ। यसको उपचारमा प्रयोग हुने विशेष औषधिको खोजी पनि जारी नै छ।

 हाल खोप र औषधि नबनिसकेको हुँदा कोरोना भाइरस जोकोहीलाई पनि लाग्न सक्नेछ। लागे अनिवार्य मरिन्छ भन्ने भ्रम पनि छ। तसर्थ, सबैले संक्रमण छ र छैन भन्नका लागि पिसिआर गर्न व्यग्र देखिन्छ। पिसिआरको नतिजा नेगेटिभ देखे धेरैले कोरोनाले उप्रान्त कहिल्यै छुँदैन र संक्रमण नै गर्दैन भन्ने भ्रम पालेको उनीहरूकै क्रियाकलापबाट झल्किन्छ। पिसिआर नेगेटिभ देखिनु भनेको नमुना दिएको समयमा सो व्यक्ति कोरोनामुक्त रहेछ भन्ने मात्र हो र खुसी देखिनु स्वाभाविक पनि हो।  

तर नमुना दिएको समयपछि कुनै पनि बेला सो व्यक्ति संक्रमितको सम्पर्कमा पुगे कोरोना संक्रमणको जोखिम भने रहिरहनेछ। त्यसो भए पिसिआर नेगेटिभ देखिनु भनेको कोरोनाबाट सुरक्षित कि झन् असुरक्षित ?

पिसिआरलाई विश्वस्तरीय परीक्षण गर्ने प्रविधि मानिन्छ। कोरोना भाइरस पत्ता लगाउन पनि यसको विश्वमा व्यापक प्रयोग हँुदै आइरहेको छ। नेपालमा पनि पिसिआरको नाम धेरै सुनिने गरेको पाइन्छ। अझ कोरोना भाइरस संक्रमण पत्ता लगाउने सन्दर्भमा यसको प्रयोगका लागि व्यापक दबाबसमेत परेको थियो र त्यो कायमै छ।

 हुन पनि कोरोना भाइरसको त्रास, यसको फैल“दो दिशा र विदेशबाट भित्रिन सक्ने अवस्थाले गर्दा यसको प्रयोगबाट पत्ता लगाउने दबाब बढेको थियो र छ। विगतमा पिसिआर र आरडीटी टेस्टसँगसँगै गरेको भए पनि सबैको माग भने पिसिआरमा थियो र छ। मानिस आफूलाई कोरोना संक्रमण भयो कि भएन ? आफू संक्रमित भए आफ्नो परिवारको सदस्यलाई सर्ने हो कि ? उपचारको आवश्यक छ कि छैन ? 

पिसिआरको नतिजा नेगेटिभ देखे धेरैले कोरोनाले उप्रान्त कहिल्यै छुँदैन र संक्रमण नै गर्दैन भन्ने भ्रम पालेको उनीहरूकै क्रियाकलापबाट झल्किन्छ।

भन्नेजस्ता विविध प्रश्नहरू गरिरहने र त्यसको उत्तर आरडिटीभन्दा पिसिआर प्रविधिको प्रयोगबाट बढी सम्बोधित हुने भएकाले पनि त्यसको माग र दबाब बढेको हो। पिसिआर केही हप्ताअगाडिसम्म सबैको सहज पहुँचमा थिएन र संक्रमण भएको भए पनि लक्षण नहँुदा उक्त परीक्षण गर्ने गरिएको थिएन। यसको उपलब्धता पनि सरकारी संस्थामा मात्र थियो। तर पछिल्लो समयमा कोरोना परीक्षणका लागि नयाँ निर्देशिका बनेसँगै पिसिआर परीक्षण धेरैको सहज पहुँचमा पुगेको देखिन्छ भने निजी अस्पताल र संस्थाहरूलाई पनि त्यसको इजाजत दिइएको छ। हाल आफूलाई कोरोना संक्रमणको शंका लागे ५५ सय रूपैयाँमा तुरुन्त परीक्षण गर्न सक्ने अवस्था छ। तर आम मानिसमा अहिले पनि केही भ्रम रहेको पाइन्छ। पिसिआरमा नेगेटिभ भए अब उप्रान्त कोरोनाले छँुदैन भन्ने बलियो विश्वास रहेको पाइन्छ। त्यो खालको क्रियाकलाप सामाजिक सञ्जालमा छरपस्ट देखिने गरेको छ।

 पिसिआरमा कोरोना भाइरस नदेखिनु भनेको सो समयमा कोरोनामुक्त रहेछ भन्ने हो। यो आफैंमा राम्रो त हो तर आगामी दिनमा झन् चनाखो हुनुपर्ने भन्ने सन्देश पनि हो। तर यसबारे थप सतर्कता अपनाइएको देखिँदैन। काठमाडौंलगायत नेपालका विभिन्न ठाउँमा कोरोनाको संक्रमण तीव्र गतिमा बढ्दै गएको अवस्थामा पिसिआर नेगेटिभ भएका व्यक्तिले सानो हेलचेक्र्याइँ मात्र पनि गरे कुनै पनि बेला संक्रमण हुन सक्नेछ। तसर्थ, पिसिआरको नेगेटिभ नतिजाले तत्काल कोरोना संक्रमणबाट सुरक्षित भएको संकेत गरे पनि आगामी दिनमा विशेष गरेर कोरोनाको महामारी रहुन्जेल (खोप उपलब्ध नहुँदासम्म) असुरक्षित नै रहिरहने भएकाले झन् सतर्कता अपनाउनुपर्नेछ।

पिसिआर पोजिटिभ वा कोरोना संक्रमण देखिएको व्यक्ति आफूले त्यसबारे थाहा पाएपछि एकदम हतास हुने गरेका प्रशस्त उदाहरण छन्। यो स्वाभाविक पनि छ किनभने आठ महिनादेखि हामीले कोरोनाले पारेको व्यापक मानवीय क्षतिबारे देखेका, सुनेका र पढेका छौं। यसले मनोवैज्ञानिक रूपमा गहिरो नकारात्मक असर र छाप पारेको छ र रहेछ भनेर लकडाउनको अवधिमा भएका शृंखलाबद्ध आत्महत्याहरूको अप्रत्यासित संख्याबाट पनि अनुमान लगाउन सकिन्छ। हाल अस्पतालमा शड्ढयाको कमी हुँदै जादा सामान्य लक्षण भएकाहरूलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको छ। तीमध्ये कतिपय संक्रमितहरूसँग पंक्तिकारले दैनिकजसो संवाद पनि गरेको र गर्दै आइरहेको छ। उनीहरूमा त्रास, हतास मन रहेकाले मृत्युसम्मको सोचाइ राखेको र कल्पना गरेको देखिन्छ। हामीले ठूलो संख्यामा संक्रमित स्वास्थ्य लाभ पनि गर्दछन् र घर फर्किएका छन् भनेर सम्झाइबुझाइ गरे पनि नसकिएको अवस्था छ।

 विश्व र नेपालको तथ्यांक हेर्ने हो भने झन्डै ६० देखि ६० प्रतिशतको हाराहारीमा संक्रमितहरू निको भएर जाने गरेका छन्। नेपालमा धेरै संक्रमितमा उपचारपछि आत्मबल बढेको प्रशस्त उदाहरण पनि छन्। आत्मबल मात्र बढ्ने होइन, शारीरिक रूपमा पनि सुरक्षित हुनेबारे धेरैलाई थाहा नहुन पनि सक्छ। यहाँ भाइरसले संक्रमण र आक्रमण गरेपछि शरीरमा बन्ने ‘एन्टीबडी’ विकासबारे भन्न खोजिएको हो। यसरी प्राकृतिक रूपमा विकास भएका ‘एन्टीबडी’ले आगामी दिनहरूमा भाइरसले गर्न सक्ने आक्रमणलाई निस्तेज पार्छ भन्ने हो। यद्यपि यसबारे धेरै कुरा थाहा हुन र अनुसन्धानहरू हुन बाँकी नै छ। यसबारे अनुसन्धानहरू तीव्र गतिमा भइरहेका छन्। विश्वमा स्विडेन एक यस्तो देश हो, जहाँ सरकारले नै जनस्वास्थका मापदण्डहरू अपनाउन कडा निर्देशन दिएको छैन। हालसम्म लकडाउन पनि गरेको छैन। प्राकृतिक रूपमा संक्रमित हुने र समूहगत रोग प्रतिरोधात्मक क्षमता अथवा ‘हर्ड इम्युनिटी’ वृद्धि गर्नु सो देशको मुख्य लक्ष्य रहेको पाइन्छ। 

यो प्रयोग कतिको प्रभावकारी भयो वा हुन्छ र हुनेछ भन्ने कुराको निक्र्योल आगामी दिनमा हुने विश्लेष्णले नै देखाउनेछ। नेपालमा एकपटक संक्रमित भएपछि अपवाद छाडेर फेरिफेरि संक्रमण हुने र कडा लक्षणसहित भर्ना हुने गरेको पाइएको छैन। प्रारम्भिक अनुसन्धानहरूले संक्रमित भएपछि शरीरमा बन्ने ‘एन्टीबडी’ सामान्यतया उपचार भएको दुईतीन महिनासम्म रहने देखाएका छन्। तसर्थ, संक्रमित हुँदैमा चिन्तित र निराशावादी मात्र हुनुहँुदैन र पर्दैन। एकपटक भाइरससँग लडेर मुक्त भएपछि आत्मविश्वास मात्र होइन, दोस्रोपटक तुरुन्तै संक्रमित र बिरामी हुनुपर्ला भनेर कोरोना संक्रमित नभएकाहरू जस्तो त्रसित र चिन्तित भइराख्नुपर्दैन।

हाल कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ। जोकोही कुनै पनि बेला संक्रमित हुन सक्नेछ। संक्रमित भएर बसेका र हुन बाँकी रहेका दुवै उत्तिकै मानसिक तनावमा छन्। दीर्घरोगीहरूमा सबैभन्दा बढी मानवीय क्षति हुने गरेकाले संक्रमण नै नहोस् भन्नका लागि जनस्वास्थका मापदण्डहरू पूर्ण र इमानदारीसाथ अनुशरण गर्नु बुद्धिमानी हुनेछ। यदि जोकोही संक्रमित भएको र भइरहेको अवस्थामा सकारात्मक सोच र आत्मविश्वास बढ्ने लेखरचना, कथा आदि पढ्ने र सुन्ने अथवा दृश्यहरू हेर्ने गर्नुपर्छ। कोरोना संक्रमणको सफल उपचार भएकाहरूको अनुभव सुन्ने गरे त्यो अझ प्रेरणादायी र ऊर्जाशील हुनेछ। त्यसको फलस्वरूप सकारात्मक सोचको वृद्धि हुनेछ, जसले गर्दा संक्रमितले छिटै स्वास्थ्यलाभ गर्नेछ। कोरोना नेगेटिभ हँुदैमा मात्तिने र पोजेटिभ हुँदैमा आत्तिने नगरौं, सावधानी अपनाउन नछाडौं।  

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालअन्तर्गतको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित: ७ भाद्र २०७७ ०१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App