७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बिनाजाँच प्रवेश दिँदा संक्रमणको उच्च जोखिममा उपत्यका

पछिल्लो चरणमा काठमाडौं ठेगाना बताए पनि भारत र तराईका विभिन्न जिल्लाबाट आएकाहरूमा कोरोना पुष्टि भएको अस्पतालहरूले जनाएका छन्। प्रदेश २ तथा भारतलगायत अन्य विभिन्न देशबाट आएकाको परीक्षण गर्दा दैनिक चार/पाँचजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालले एक सातायता तराईका केही जिल्ला र भारतको जुनसुकै ठाउँबाट आएकामा पिसिआर परीक्षणको दायरा बढाएको हो। अहिले अस्पतालले प्रतिदिन २ सयदेखि २ सय ५० जनाको नमुना परीक्षण गर्दै आएको जनाएको छ।  

शुक्रबार मात्र काठमाडौं उपत्यकामा १० जनामा कोरोना पुष्टि भयो। यो संख्या केही दिनदेखि नियमित तीनदेखि १० जनाको दरले संक्रमण पुष्टि भइरहेको तथ्यांकले देखाउँछ। मंगलबार उपत्यकामा नौ र बुधबार सातजनामा पुष्टि भएको थियो। काठमाडौंभित्रका भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए पनि उनीहरू काठमाडौं बस्दै आएका तर स्थायी ठेगाना भारतको विहार र प्रदेश २ का प्रभावित जिल्ला हुने गरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए। ‘अस्पतालले कोरोना प्रभावित देश तथा जिल्लाबाट आएकाहरूको लक्षणबिनाकालाई पनि आँखा चिम्लेर परीक्षण गर्ने गरेको छ,’ उनले भने।  

निर्देशक डा. राजभण्डारीका अनुसार भारतको मतियारी, कतार, दुबई, मलेसियालगायत ठाउँबाट आएकाहरूको परीक्षण भइरहेको छ। त्यसैगरी प्रदेश २ का रौतहट, बारा, पर्सालगायतबाट आउनेमा संक्रमण पुष्टि भएको हो। पछिल्लो चरणमा भर्ना भएका बिरामीमा कोरानाको लक्षण रहेको चिकित्सकले जनाएका छन्।  

अस्पतालले एक सातायता तराईका केही जिल्ला र भारतको जुनसुकै ठाउँबाट आएकामा पिसिआर परीक्षणको दायरा बढाएको छ।

दुई संक्रमित सम्पर्कविहीन  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार दिनअघि रिपोर्ट आएका दुई पुरुष अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्। ‘न बोलाउन सम्पर्क नम्बर छ न आफैं रिपोर्ट लिन आउँछन्,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. राजभण्डारीले भने। उनीहरू भारतबाट आएको र पुरुष रहेको विवरण परीक्षण फाराममा जानकारी भए पनि नाम र फोन नम्बर नभएकाले सम्पर्क हुन नसकेको र खोजी जारी रहेको उनले जानकारी दिए।  

सचेत नागरिक आफैं होम आइसोलेसनमा बस्न सक्ने तर त्यस्तो नहुँदा एकजनाले सयौंलाई सार्न सक्ने राष्ट्रिय इपिडिमियोलोजी तथा रोेग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए। ‘राजविराजमा एकजनाले २१ जनामा सारेको देखियो,’ उनले भने। अहिले भारतको विहारबाट फर्निचर, हेयर कटिङ र टायल ओछ्याउने पेसामा आबद्ध दैनिक सयौंको संख्यामा लुकिछिपी फर्किसकेको उनले जानकारी दिए।  

कोरोनाबाट मृत्यु हुने ४४ पुगे, थप १३३ जनामा संक्रमण  

शुक्रबार पर्साको वीरगन्ज नगरपालिकाकी कोरोना संक्रमित ८५ वर्षीया महिलाको मृत्यु भएको छ। उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनमा निमोनिया र मुटुसम्बन्धी समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४४ पुगेको छ।  

दुई सातादेखि घट्दै गएको कोरोना संक्रमण शुक्रबार पनि बिहीबार भन्दा केही कम १ सय ३३ जनामा पुष्टि भएको छ। योसहित नेपालका कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना निको भइसकेका छन्। यो हिसाबले ७०.४६ प्रतिशत निको भएको देखिन्छ।  

शुक्रबार १ सय ७ जना निको भई डिस्चार्ज भएका छन्। ३ हजार ९ सय ८७ वटा नमुना परीक्षणबाट संक्रमण दर ३.३४ प्रतिशत देखिन्छ। असार १० गते यो दर ९.२ प्रतिशत थियो। एक महिनाको अवधिमा ६ प्रतिशतले संक्रमण दर घटेको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। हालसम्म देशभरिमा ३ लाख ३५ हजार ८२ वटा नमुना परीक्षण भइसकेको छ।  

शुक्रबार सबैभन्दा बढी पर्सामा ३० जना, झापामा १९ र काठमाडौंमा १० जना, दैलेख र कैलालीमा ८÷८ जना संक्रमित भएका हुन्। हाल देशभरिमा १९ हजार ४ सय ४४ जना क्वारेन्टिनमा छन् भने ५ हजार ३ सय ८३ जना सक्रिय संक्रमित छन्।  

‘जनस्वास्थ्य मादपण्ड पालना गरेर मात्र काममा लगाउनू’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सेवाप्रदायक निकाय तथा व्यवसायी कम्पनीलाई कर्मचारीलाई काममा लगाउने क्रममा जनस्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ। जसअनुसार लामो लकडाउनपछि नियमित काममा फर्किने क्रममा कार्यालयमा समेत कोरोनाको जोखिम हुने जनाउँदै उच्च सतर्कतासाथ काममा लगाउन मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अनुरोध गरेका छन्।  

सम्बन्धित कार्यालयहरूले भीडभाड कम गर्नेगरी कर्मचारीहरूले काम गर्ने वातावरण बनाउने, घरबाटै मिल्ने भएसम्म घरबाटै काम गर्ने व्यवस्था मिलाउने, कार्यालयका कोठाहरूमा हावा राम्रोसित खेल्ने व्यवस्था हुनुपर्ने, कार्यालय परिसरभित्र छिर्नुपूर्व सबैको ज्वरो नाप्ने, साबुनपानीले हात धुने, नाकमुख छोपिनेगरी मास्क लगाएर मात्र काम गर्ने व्यवस्था मिलाउनेजस्ता नियम पालना गर्नुपर्नेछ। त्यसैगरी हरेक दिन घरीघरी छोइने झ्याल, ढोका, टेबुल, मेचजस्ता सामान निसंक्रमण गर्ने व्यवस्था हुनुपर्नेछ।  

त्यसैगरी हरेक कर्मचारीबीच कम्तीमा दुई मिटर दूरी कायम राख्ने, सकेसम्म बैठक नगर्ने÷नगराउने, गर्नैपरे दुई मिटर दूरी कायम गर्ने, गोष्ठी, सभा, सम्मेलन आयोजना नगर्ने, भीडभाड हुने खालका बैंक, मालपोत, यातायात कार्यालय, प्रशासन कार्यालय, पसल, सपिङ मलहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरेको छ। 

प्रकाशित: १० श्रावण २०७७ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App