१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानको रजिष्ट्रारमा डा.रेग्मी नियुक्त

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त रहेको रजिष्ट्रार पदमा डा.मोहन चन्द्र रेग्मी नियुक्त भएका छन् । प्रतिष्ठानकै प्रसुती विभाग प्रमुख रहेका डा.रेग्मीलाई आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका हुन् । उनले नियुक्ती पत्र पाइसकेको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ‘उहाँ रजिष्ट्रारमा नियुक्ती हुनुभएको हो,’डा.रेग्मीको नियुक्ती पुष्टि गर्दै प्रवक्ता सापकोटाले भने । उनका अनुसार ५ वर्षको कार्यकालको लागि डा.रेग्मी नियुक्त भएका हुन् ।

प्रतिष्ठानका उपकुलपतिले ३ जनाको नाम सिफारिश गरेपछि सहकुलपति एवं स्वास्थ्यमन्त्रीले रजिष्ट्रार नियुक्ती गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले डा.रेग्मीको नाम पनि सिफारिश गरेका थिए । डा.रेग्मी नेकपा निकट चिकित्सक मानिन्छन् । वीपी प्रतिष्ठानभित्रैबाट र डाक्टरहरुबाट पनि रजिष्ट्रार नियुक्ती हुने रेग्मी पहिलो व्यक्ति हुन् । यसअघिका रजिष्ट्रारहरु कोही पनि डाक्टरी पेशाका थिएनन् ।

रजिष्ट्रारमा नियक्त डा.रेग्मी प्रसुतीका बिशेषज्ञ चिकित्सक हुन् । प्रतिष्ठानमा उनको बिशेषताले गर्दा निक्कै रुचाइने डाक्टरमा पर्छन् । यस्तै, उनी फिस्टुला फ्रि नेपालका पनि अभियन्ता हुन् । उनले फिस्टुला पीडित महिलाहरुलाई निःशुल्क उपचार सेवाको अभियान चलाएका छन् ।

प्रतिष्ठानमा यसअघिका तत्कालिन रजिष्ट्रार तुलबहादुर श्रेष्ठको कार्यकाल सकिएपछि प्रतिष्ठान रजिष्ट्रारविहीन भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका श्रेष्ठको सोही अवस्थामा कार्यकाल सकिएको थियो । रजिष्ट्रारमा डा.रेग्मीको नियुक्तीसँगै प्रतिष्ठानमा पदाधिकारीले पुर्णता पाएको छ । रजिष्ट्रारको जिम्मेवारी पनि उपकुलपतिले सम्हाल्दै आएका थिए ।

प्रकाशित: ४ श्रावण २०७७ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App