नेपालकै प्रतिष्ठित गोल्डकपमध्ये विराटनगरमा आयोजना हुने ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिता लगातार घाटामा गएको छ।
विराट गोल्डकपको ७ र ८ औं संस्करण सम्पन्न हुँदा दुवै संस्करण घाटामा भएको प्रतिवेदन सार्वजनिक भएको हो। गोल्डकप ट्रष्टले विराटनगरमा पत्रकार सम्मेलन गर्दै ८ औं संस्करण आयोजना गर्दा २२ लाख ६२ हजार ८ सय ८ रुपैयाँ घाटा भएको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।
प्रतियोगिता सम्पन्न भएको ९ महिनापछि आइतबार सार्वजनिक गरिएको आय–व्यय विवरण अनुसार गोल्डकपबाट २२ लाख ६२ हजार ८ सय ८ रुपैयाँ नोक्सानी भएको देखाइएको छ।
उनले ८ औं संस्करणअन्तर्गत २०८० चैत १५ देखि २४ गतेसम्म भएको प्रतियोगितामा प्रायोजक बापत रकम नपाएपछि ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए। यसअघि हुँदै आएको प्रतियोगितामा ट्रष्टको कार्य समितिले एक जना व्यक्तिलाई संयोजक राखेर प्रतियोगिता गर्दै आएको थियो। यसपटक ट्रष्ट समिति आफैंले प्रतियोगिता आयोजना गर्यो।
विगतको वर्ष झैँ यस पटक प्रतियोगिता आयोजना गर्दा आर्थिक संकटले भने जस्तो उद्योग, व्यापार, व्यवसायबाट प्रायोजक जुटाउन समस्या भोग्नु परेको बताउँदै, अध्यक्ष शाहीले भने, ‘सरकारको क्षेत्रबाट दिइने भनिएको रकमसमेत प्राप्त नभएपछि झन् गोल्डकप नोक्सानमा गयो। प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्वाट तोकिएको रकम प्राप्त नभएपछि समस्या भोग्नु पर्यो। दुई वटा मुख्यमन्त्री फेरियो तर, ट्रष्टलाई दिने भनिएको रकम कसैबाट पनि प्राप्त गर्न सकेनौं। मुख्यमन्त्री केदार कार्की हुँदा प्रदेश सरकारबाट २५ लाख रुपैयाँ दिने भनिएको थियो। तर, केदार कार्की मुख्यमन्त्रीबाट हटेपछि आएका अर्को मुख्यमन्त्री हिक्मतकुमार कार्की कहाँ कयौं पटक जाँदा दिने भन्ने आश्वासनमा मात्रै प्राप्त भयो।’
नेपालकै ऐतिहासिक गोल्डकपमध्येको विराट गोल्डकपलाई प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले तोकेको रकमसमेत विभिन्न बाहाना बनाएर उपलब्ध नगराउँदा ट्रष्टले आर्थिक भार खेप्नु परको उनको भनाइ थियो।
उनले भने, ‘यस पटक प्रतियोगिता आयोजना गर्नका लागि एन्फाले मिति तय गरे पनि आयोजना गर्नका लागि महत्त्वपूर्ण पक्ष भनेको आर्थिक नै हो, त्यो स्रोत सुनिश्चित भए मात्रै तोकिएको समयमा गोल्डकप आयोजना गर्न सक्छौं।’
महानगरपालिकाले विगतमा सहयोग गरेको र यस पटक पनि गोल्डकपका नाममा बजेट छुट्याइ दिएको छ। प्रदेश सरकारले सहयोग गर्ने भनेको छ। गत वर्षको समेत जोड राम्रो सहयोग प्राप्त हुन्छ भन्ने आशामा ट्रष्ट रहेको शाहीले बताए।
गोल्डकपमा ८२ लाख ६० हजार ८ सय ३५ रुपैयाँ आम्दानी भएको र १ करोड ५ लाख २३ हजार ६ सय ४३ रुपैयाँ खर्च भएको जानकारी दिइएको हो। ट्रष्टले गोल्डकप घाटामा जानुको मुख्य दोष भने कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई थोपरेको छ। ट्रष्टका अध्यक्ष शाहीले प्रदेश सरकार र राखेपले कबोल गरेको रकम उपलब्ध नगराउँदा गोल्डकप घाटामा गएको प्रस्टाए।
गोल्डकप गराउँदाको समयमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले २५ लाख रुपैयाँ बजेट राखिदिएको बताउँदै, अध्यक्ष शाहीले भने, ‘तर, उहाँ सरकारबाट बाहिरिएपछि नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो। तर, प्रदेश सरकारले रकम उपलब्ध गराएन। प्रदेश सरकारबाट २५ लाख र राखेपबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने आश्वासन प्राप्त भएपछि प्रतियोगिता आयोजना गरिएको थियो। सरकारले २५ लाख मात्रै दिएको भए गोल्डकप नाफामा जाने थियो।’
उनले थपे ‘यस विषयमा हामीले प्रदेश खेलकुद विकास बोर्ड र सामाजिक विकास मन्त्रालयलगायत सबैतिर कयौं पटक गएर भेटौं तर, कतैबाट सहजीकरण भएन। सरकारले इटहरी गोल्डकप, झापा गोल्डकप र धरानमा हुने बुढासुब्बा गोल्डकपलाई समेत रकम दिएन। यसले पनि सरकार खेलकुदप्रति जिम्मेवारी छैन भन्ने प्रष्ट हुन्छ।’ अध्यक्ष शाहीले भने ।
गोल्डकपको ७ औं संस्करणमा पनि ८७ लाख बराबरको घाटा भएको थियो। यसरी लगातार २ वटा प्रतियोगितामा ठूलो घाटा बेहोर्ने अवस्था सिर्जना हुँदा ९ औं संस्करण कसरी हुन्छ भन्ने चिन्ताले छाएको ट्रष्टले जनाएको छ।
प्रतियोगिताको ७ औं संस्करणको संयोजक विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रहेका थिए। उनकै संयोजकत्वमा भएको प्रतियोगितामा ८७ लाख रुपैयाँ बराबरको घाटा भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो। यसअघि भएका प्रतियोगिता थोरै रकम भए पनि ट्रष्टले नाफा कमाउँदै आएको थियो।
गत वर्षको प्रतियोगितामा काठमाडौंको मच्छिन्द्र क्लबले साङ्ग्रिला मोरङ एफसीलाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रकाशित: २८ पुस २०८१ २०:५५ आइतबार