७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विश्वमा सबभन्दा पहिले कोरोनाविरुद्ध सफल खोप हामीले बनायौं : रुस

तस्बिर : भारतस्थित रुसी दूतावासकाे ट्विटबाट

रुसले आफूले कोरोना भाइरसविरुद्ध पहिलो खोप बनाएको दाबी गरेको छ ।

रुसी समाचार संस्था स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेस्नल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोभले कोरोनाविरुद्ध ‘विश्वको पहिलो खोप’ को क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको दाबी गरेका हुन् ।  

उनले भनेका छन्, ‘मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले खोपको परीक्षण सम्पन्न गरेको हो र यो मानिसका लागि सुरक्षित देखिएको छ। जजसलाई यो खोप दिइयो, तीमध्ये एउटा समूहलाई यही जुलाई १५ र अर्काे समूहलाई २० तारिखमा अस्पतालबाट डिस्चार्ज गरिनेछ ।’  

रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो खोपको गत जुन १८ मा क्लिनिकल ट्रायल सुरु गरेको थियो ।  

परीक्षणकर्ता सेचेनोफ युनिभिर्सिटीका अर्का वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकासेभ भन्छन्, ‘यो चरणको परीक्षणको उद्देश्य खोप मानिसका लागि सुरक्षित छ वा छैन भनेर सुनिश्चित गर्नु थियो। खोप सुरक्षित प्रमाणित भएको छ ।’

उनका अनुसार अब यसको व्यापक उत्पादनका लागि आवश्यक तयारी पनि भइरहेको छ ।  

भारतस्थित रुसी दूतावासले पनि ट्विट गर्दै आफ्नो देशले कोरोनाविरुद्ध पहिलो खोप बनाएको दाबी गरेको छ । 

अहिले विश्वका अन्य देशमा पनि कोरोनाविरुद्धका खोप निर्माण तथा परीक्षण जारी छ ।  

रुसले आफूले कोरोनाविरुद्ध पहिलोपटक खोप बनाएको दाबी गरे पनि यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कुनै प्रतिक्रिया दिएको छैन । डब्लुएचओका अनुसार विश्वमा अहिलेसम्म कोरोनाविरुद्ध २१ वटा खोप मानवमा परीक्षण गरिएको छ र त्यसको नतिजा आउन बाँकी छ। 

यो पनि पढ्नुहोस्

भारतले पनि बनायो कोरोनाविरुद्ध खोप, मानिसमा परीक्षण गर्ने तयारी

प्रकाशित: २९ असार २०७७ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App