१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

भारतले पनि बनायो कोरोनाविरुद्ध खोप, मानिसमा परीक्षण गर्ने तयारी

भारतले पनि कोरोना भाइरसविरुद्ध खोप विकास गरेको छ । जसको परीक्षण आउने जुलाई महिनामा गरिने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको हैदराबादस्थित औषधि कम्पनी भारत बायोटेकले कोरोनाविरुद्ध खोप विकास गरेको हो । जुन खोप परीक्षणका लागि अब जुलाई महिनामा केही स्वयंसेवकलाई लगाउने तयारी छ ।  

निर्माता कम्पनीले खोपको परीक्षण चाँडोभन्दा चाँडो थालिने बताएको छ, तर कति जनलाई खोप लगाइन्छ भन्ने कुरा खुलाएको छैन । यसअघि यो खोप जनावरलाई लगाएर परीक्षणले गरिएको र परिणाम प्रभावकारी आएको कम्पनीले दाबी गरेको छ ।  

अहिले विश्वका विभिन्न देशले कोरोनाविरुद्ध खोप निर्माण तथा परीक्षण गरिरहेका छन् । जानकारका अनुसार अहिले विश्वमा १२० वटा भन्दा बढी यस्ता खोप विकास गरिएका छन् । भारतमा पनि आधा दर्जन औषधि कम्पनी खोप निर्माणमा जुटेका छन् ।

तर मानव परीक्षणसम्म आइपुगेको यो नै पहिलो खोप हो । यो खोप विकास गर्ने भारत बायोटेकलाई भारतको औषधि नियामक संस्थाले त्यो खोप मानवमा परीक्षण गर्ने अनुमति दिइसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

कम्पनीका अनुसार मानवमा खोपको परीक्षण दुई चरण गर्नुपर्ने हुन्छ । पहिलो परीक्षणले खोप वास्तवमै सुरक्षित छ कि छैन भन्ने पुष्टि गर्छ भने दोस्रो परीक्षणले खोप कोरोना संक्रमण रोक्न कति सक्षम छ भन्ने प्रमाणित गर्छ ।  

कम्पनीका प्रवक्ताले बीबीसँग भनेका छन्, ‘भारतमा कोरोनाबाट संक्रमित व्यक्तिबाट भाइरसको नमुना लियौं, जसले भ्याक्सिन विकास गर्न ठूलो सहयोग पुग्यो ।’

कम्पनीका प्रमुख डाक्टर कृष्णा इल्लाका अनुसार यो खोपको नाम ‘कोवाक्सिन’ राखिएको छ । जुन खोप इन्डियाज नेसनल इन्डस्ट्रिज अफ भाइरोलोजी र इन्डियन काउन्सिल अफ मेडिकल रिर्चको सहयोगमा तयार पारिएको हो ।  

भारत विश्वमा सबैभन्दा बढी जेनेरिक औषधि तथा खोप  निर्माण गर्ने देशमध्ये एक हो । जस्तै : पोलियो, मेनिनजाइटिस, निमोनिया, रोटाभाइरस, बिसीजी, रुबेलाविरुद्धका खोप पनि भारतले बनाएको हो ।  

सामामान्यतया कुनै खोप विकास गर्न एक दशक नलागे पनि केही वर्ष लाग्छ । तर कोरोना भाइरसविरुद्ध भने आगामी सन् २०२१ को मध्यसम्म कुन न कुनै खोप विकास हुने विशेषज्ञले दाबी गरेका छन् ।  

यो पनि पढ्नुहोस्

बेलायतमा कोरोनाविरुद्ध अर्काे खोप मानिसमा परीक्षण गरिँदै

प्रकाशित: १६ असार २०७७ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App