विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य भएको छ।
बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमबीच उनीहरुले सहकार्यको घोषणा गरेका हुन्। कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल भएको थियो।
महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तिकरणका कार्यक्रमहरुले लैङ्गिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन्। यी संस्थाहरूले महिलाहरू र किशोरीहरूको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन्। निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायहरूले लैङ्गिक समानता तथा बाल संरक्षणप्रवर्धन गर्ने निती आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन्। साथै, आर्थिक सशक्तिकरणका कार्यक्रमहरूद्वारा किशोरीहरू र महिलाहरूलाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन्।
कार्यक्रमको उद्घाटन गर्दै जोन्टाका अध्यक्ष बिना रानाले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन्। रानाले भनिन्, 'लैङ्गिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ।'
महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले बालविवाह मानव अधिकारको उल्लङ्घन भएको चर्चा गर्दै समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
यूनाइटेड नेशनकी सीइडीएडब्ल्यु,कमिटी सदस्य बन्दना रानाले महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैङ्गिक समानता प्रवर्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम रहेको दाबी गरिन्।
एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सिएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् 'नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेलसमावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैङ्गिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभइ सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट, हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं।'
बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव, र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र, र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक छ। यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन्।
प्रकाशित: ११ मंसिर २०८१ १२:३१ मंगलबार