१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोनाको डरले अस्पताल सेवा लिने ५० प्रतिशत विरामी घटे

नेपालमा कोरोना संक्रमण र लकडाउन सुरु भएपछि अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या ५० प्रतिशत भन्दा कम भएको राजधानीका ठूला अस्पतालहरूको तथ्यांकले औंल्याएका छन् । कतिपय अस्पतालमा त ७५ प्रतिशत भन्दा कम छन् ।  

राजधानीको केन्द्रमा रहेको वीर अस्पतालमा लकडाउन अघि विरामीको घुइँचो नै लाग्थ्यो । अहिले आधा भन्दा कम विरामी आउने गर्छन् । वहिरंग विभागमा कम आउँछन् नै आपतै परेपछि आउने आकस्मिक कक्षमा समेत विरामीहरूको संख्या ५० प्रतिशत भन्दा कम भएको छ । वीर अस्पतालमा लकडाउन अघि दैनिक दुई हजारदेखि २५ सय विरामी आउँथे अहिले पाँच सय मुस्किलले आउँछन् । दैनिक दुई सय ५० जना आउने आकस्मिक कक्षमा अहिले ५० देखि ५५ जना मात्र आउँछन् ।  

लकडाउनसंगै सरकारले अति आवश्यक वाहेक अन्य सेवा सुचारु नगर्न भनेकोले आवश्यक सेवा मात्र थिए । लकडाउन खुकुलो भएपछि अस्पतालमा उल्लेख्य विरामी नपुगेको अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले बताए । निर्देशक सेन्चुरीको अनुसार कोभिड १९ को संक्रमण अस्पतालवाट हुन्छ भन्ने त्रासले पनि विरामी सकेसम्म अस्पताल आउन चाहाँदैनन्, लकडाउनले सवारी नपाएपछि उपत्यका वाहिरका विरामी पनि आउन नसकेकोले अस्पतालमा सेवा लिनेको संख्या अन्यन्त न्युन रहेको हो ।

विवरण अनुसार यस अघि लकडाउन अघि टिचिङ अस्पताल महाराजगंजमा दैनिक एक सय ५० जना आकस्मिक कक्षमा विरामी आउँथे । अहिले यो आकस्मिक कक्षमा दैनिक ५० जना मात्र आउँछन् ।

परोपकार प्रसुति गृह अस्पतालमा पनि पहिलेको तुनलामा प्रसुति हुन आउनेको संख्या घटेको छ । अस्पतालमा फागुन महिनामा दुई हजार जना प्रसुति हुन आएका थिए भने जेठ महिनामा १५ सय ५० भित्र झरेका छन् । अस्पतालको अन्य सेवामा पनि विरामीको चाप घटेको अस्पालकी निर्देशक डा. संगिता मिश्रले बताइन् । कोभिड १९ पछि अस्पतालले स्त्रीरोगका अन्य सेवा बन्द गरेको र अहिले पुन संचालन सुरु भएको उनले जानकारी दिइन् ।  

कोभिड १९ र लकडाउनको कारण अस्पतालमा ५० प्रतिशत भन्दा बढी बिरामीको चाप र सेवा घटेको काठमाडौं मेडिकल कलेजले जनाएको छ । अस्पतालकी प्राध्यपक डा.चन्दा कार्कीको अनुसार अस्पतालको आकस्मिक कक्षमा लकडाउन अघि प्रति दिन ६५÷७० जना आउँथे । अहिले ३५÷४० जना मात्र आउँछन् । पहिला दैनिक १४ सय विरामी बहिरंग विभागमा सेवा लिन्थे भने अहिले मुस्किलले तीन÷चार सय पुग्छन् ।  

अस्पतालकी प्राध्यपक डा. चन्दा कार्कीका अनुसार कोभिड १९ को संक्रमणको डरको कारण र लकडाउनले सवारी साधन सजिलै नपाउने भएपछि आकस्मिक कक्षमा विरामी आउन छोडेका हुन् । अर्कोतिर सरकारको निर्देशन अनुसार अस्पतालले सामान्य समस्या भएका नियमित विरामीको लागि अस्पतालले फोनवाटै विरामीलाई परामर्श दिने गरेको छ । फोनको परामर्शले नपुग्ने भएपछि मात्र अस्पताल आउनु पर्ने बाध्यताका विरामी मात्र अस्पताल पुग्छन् ।  

‘यसको लागि अस्पतालले ५० वटा चिकित्सकको फोन नम्वर सामाजिक संञ्जालमा राखेको छ,’ डा. कार्कीले भनिन् । यसरी सेवा दिए वापत अस्पतालले कुनै पनि शुल्क नलिने गरेको उनले सुनाइन् । अस्पतालमा गएपछि कोभिड १९ संक्रमण हुन्छ भन्ने डरले आकस्मिक कक्षमा समेत विरामी आउन छोडेको उनको भनाइ छ । ‘पहिला पेट दुख्यो कि अमाकस्मिक कक्षमा आउँथे, अहिले सकेसम्म घरैमा व्यवस्थापन गर्न खोज्छन्,’ उनले भनिन् ।  

नेपाल मेडिकल कलेज जोरपार्टीमा पनि लकडाउनसंगै आकस्मिक कक्षमा विरामीसंख्या ५० प्रतिशत भन्दा कम पुगेको छ । अस्पतालका निर्देशक डा.रुपेश श्रेष्ठका अनुसार लकडाउन अघि बहिरंग विभागमा दैनिक आठ देखि दुई हजार जना आउँथे भने अहिले दुई सय ५० जना औसत आउने गरेका छन् । यसरी आउनेमा पनि मिर्गौला,मुटु र नियमित खोप लगाउनु पर्ने बाध्यताका शिशु र गर्भवती हुन् ।  

लकडाउन अघि अस्पतालको आकस्मिक कक्षमा दैनिक ७०÷८० जना आउँथे अहिले घटेर १५ देखि २५ जना आउँछन् । अस्पतालले कोभिड १९ पछि धेरै विरामीहरूले आवश्यक परेमा फोनवाटै सल्लाह लिएर काम चलाउने गरेको निर्देशक श्रेष्ठले बताए । यस्ता विरामीलाई अप्ठेरो नपरोस् भनेर अस्पतालले नगरपालिकाको वेभसायटमै सवै विभागका चिकित्सकको सम्पर्क नम्वर राखेको र सोही अनुसार चिकित्सकले सल्लाह दिने गरेको बताए ।

अस्पतालमा उपचार गर्न आउने विरामीको संख्या घटेपछि ठूला अस्पताहरूलाई अस्पतालका कर्मचारीलाई तलव खुवाउन समेत हम्मे परेको काठमाडौं मेडिकल कलेजकी प्राध्यपक डा. कार्की र वीर अस्पतालका निर्देशक डा. सेन्चुरीले बताए ।  

कोभिड १९ पछि नेपालमा मात्र नभएर विकसित राष्ट्रका अस्पतालहरूमा समेत विरामी जान नचाहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । हालै प्रकाशित न्युयोर्क टाइम्सको लेख अनुसार अहिले पनि कोभिड १९ को डरको कारण अस्पताल नजाने सोंचका विरामी धेरैको संख्यामा छन् ।  

विरामी अस्पताल सेवा लिने समय सार्दै जाने र अस्पताल नपुग्नाले विरामी र अस्पताल दुवै पक्षलाई घाटा पुग्दै गएको जनाएको छ । अस्पतालको आम्दानी ठूलो राशिमा घटेको र नयाँ पहिचान भएका क्यान्सर तथा यस्तै गम्भिर रोगहरूको समयमै उपचार नहुँदा अन्य रोगले समस्या थपिंदैछ । हालै गरिएको एक सर्वेक्षण अनुसार १० जना मध्ये एक जनाले मात्र अस्पताल नगएको कारण स्वास्थ्य बिगे्रको बताएका थिए भने ८६ प्रतिशतले स्वास्थ्य पहिलेकै स्थितिमा रहेको बताएका थिए ।

प्रकाशित: १२ असार २०७७ १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App