१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आत्महत्या कसरी रोक्ने ?

मानसिक स्वास्थ्य

सुनिता खड्का

मानसिक स्वास्थ्य भनेको मानवको अवधारणा हो जुन व्यक्तिको भावना, मनोविज्ञान र बौद्विक क्षमतासँग जोडिएको हुन्छ। जसको प्रयोगद्वारा व्यक्तिले दैनिक जीवनमा आइपर्ने शैक्षिक, सामाजिक, धार्मिक, आर्थिक आदि विषयवस्तु र विचारका आधारमा आफ्नो महत्व बुझ्ने गर्दछ। वास्तविकतालाई स्वीकार गर्दै जीवनमा आइपर्ने चुनौती सामना गर्दै जिम्मेवारी बहन गरिरहेको हुन्छ। आफ्नो आवश्यकतालाई पूरा गर्दै समाजसँग पनि जोडिँदै, सहकार्य गर्दै अघि बढ्न सक्ने व्यक्ति नै मानसिक रूपमा स्वस्थ व्यक्तिका रूपमा परिचित हुन्छ। यस्ता व्यक्ति जीवनसँग  रमाउन सक्छन, अवस्थालाई व्यवस्थापन गर्न नेतृत्व लिने, सहकार्य र समन्वय गर्दै आत्म वास्तविकतालाई व्यवहारमा उर्ताने गर्छन्।  

हुन त व्यक्तिले आफ्नो जीवनका बारेमा पृथक् धारणा बनाएको हुनसक्छ सोहीअनुसार उसले आफ्नो सोचाइ, जीवन जिउने शैली, मूल्यमान्यता र सिद्वान्तका आधारमा जिउने गर्दछ।  

आत्महत्या रोक्ने मूलमन्त्रका रूपमा तीनवटा शब्दहरू कनेक्ट, कम्युनिकेट र केयरले प्रभावकारी भूमिका खेल्छन् ।  

त्यसो भए कस्ता हुन्छन् त मानसिक विरामी ? यदि कुनै व्यक्तिको भावना, विचार र व्यवहारमा अचानक परिवर्तन भई व्यक्तिगत, पारिवारिक र सामाजिक गतिविधिमा उसको व्यवहारलाई औंल्याउन सक्ने असर देखाउन थाल्छ र उसका गतिविधिले दैनिक जीवनमा असर गर्न थाल्छ। यदि कसैमा एक्कासि परिवर्तन आउँछ र त्यो उसको व्यवहारमा देखिन थाल्छ जस्तै बोल्न नरुचाउने, साथीभाइ, परिवार र सामाजिक गतिविधिबाट टाढा भई एक्लै बस्न थाल्ने हुन्छ । साथै ऊ बढी सुत्ने या कम सुत्ने गर्छ । कम खाने या बढी खाने, खेल खेल्यो भने पनि शरीरलाई ख्यालै नगरी अत्यधिक खेल्ने, पिउने गरेको भए अत्यधिक पिउने, सवारी चलाउने गरेको भए तीव्र गतिमा हेलचेक्रयाइँ गरी चलाउने, झनक्क रिसाउने आदि व्यवहार देखाउँछ । साधारण समयभन्दा पृथक् बानी र व्यवहार देखाएमा त्यो व्यक्ति मानसिक रूपमा विरामी भएको संकेत मिल्छ । बेलैमा समस्या पहिचान गरी उपचार गरेमा निको हुन सक्छ तर यसको तह बढ्दै गएमा मानिस डिप्रेसनमा जान्छ र आफैंलाई हानी गर्नेसम्मको काम गर्दछ।    

जसले आफैंले आफ्नै जीवन लिने कुरा कहिल्यै सोचेको छैन उसले मानिस किन आत्महत्या गर्दछन् भन्ने बुझ्न सक्दैन। त्यसैले कुनै मानिसले ‘मलाई मर्न मन लाग्छ’ भन्यो भने त्यसले साँच्चै भनेको हो कि ध्यान केन्दि«त गर्न मात्र भनेको हो छुट्टयाउन गाह्रो हुन्छ । जसले गर्दा कतिपय अवस्थामा जानकारी दिँदादिदै पनि आत्महत्या गर्नबाट रोक्न नसकेको अवस्था छ।  

यहाँ एउटा घटना जोडन चाहेँ, एक जना १८ वर्षका भाइले साथीसँग एक दिन भनेछ, ‘मलाई मर्न मन लाग्छ।’ उसले आफ्नो भाइ र आमालाई अप्ठेरो परेका बेला सहयोग गर है पनि भनेछ। तर उस्तै उमेर समूहका साथीहरूले उसका कुरालाई गम्भीर रूपमा लिएनन् र उनीहरूकै स्तरबाट सम्झाएछन्। उनीहरू केही समय गफ गरेर आआफ्नै घरतिर गएछन्। अर्को दिन ती भाइले आफ्नै कोठामा आत्महत्या गरेछन्। साथीसँग सोधीखोजी गर्दा बल्ल यो कुरा बाहिर आयो।

हामीले हाम्रा किशोरावस्थामा पुगेका र जोखिममा रहेका छोराछोरीलाई आत्महत्यासम्बन्धी कति जागरूकता ˚ैलाएका रहेछौ भन्ने यसबाट थाहा हुन्छ। त्यसैले सिंगो समाज र राष्ट्रमा जागरूकता ल्याउन अत्यन्तै आवश्यक छ।  

मानिस किन आत्महत्या गर्छन्? हालसम्मको खोज तथा अनुसन्धानका आधारमा निम्न कारण उल्लेख गरेको पाइन्छ–  

डिप्रेसन  

मानसिक आघात  

बायोपोरल डिसअडर  

साइकोसिस  

डिप्रेसन–विशेषतः विभिन्न कारण जस्तै आर्थिक संकटले, दीर्घ रोग लागेमा, प्रियजनलाई गुमाउनुपरेमा, घरपरिवार, कार्यालय वा साथीबाट समान अनुभूतिको व्यवहार नपाएमा, जागिर गएको खण्डमा, व्यापार तथा व्यवसायमा टाट पल्टेमा, दैवी प्रकोपको चपेटामा परेमा लगायतका कारणले मासिनमा तनाव बढ्ने गरेको पाइन्छ। त्यस्तै दुव्र्यवहारमा परेको पीडा जस्ता घटनाले पनि मानिस डिप्रेसनमा जान्छन्। डिप्रेसनमा भएका मानिसको मस्तिष्क असन्तुिलत हुन्छ। विशेष गरी न्युरोट्रान्समिटरमा सरोटोमिन, डोपामिन र नोएपाइन˚ाइन्स हार्मोनको असन्तुलन भई स्मरण शक्तिलाई नियन्त्रण गर्न गाह्रो भएको अवस्था हुन्छ। जसको कारणले शरीरका मुख्य काम जस्तै खाने, सुत्ने, मानसिक  स्थिति, आक्रमकतामा असर गर्दछ। र, शारीरिक सम्पर्कमा पनि समस्या हुन्छ।

कुनै व्यक्तिको भावना, विचार र व्यवहारमा अचानक परिवर्तन देखिन्छ र उसका गतिविधिले उसकै जीवनमा असर गर्न थाल्छ भने ख्याल गरिहालौं।   

मानसिक आघात–मानसिक आघात कुनै अत्यन्त डरलाग्दो घटनामा परेर, देखेर, सुनेर वा त्यसको बारेमा पढेर व्यक्तिले आफूमा महशुस गरेको पीडा हो । आघातजन्य घटना त्यस्तो भयावह घटना हो जसले व्यक्तिमा चरम चिन्ता र असहायको भावना ल्याउँछ। आघातमा परेको अवस्थामा व्यक्ति गम्भीर मानसिक दबाबमा हुन्छ । यस्तो घटनामा पर्दा व्यक्तिमा आफू वा आफन्तको मृत्यु हुन्छ कि, गम्भीर चोटपटक लाग्छ कि भन्ने गहिरो डर हुन्छ। आघातजन्य घटनाले व्यक्तिका आधारभूत मान्यताहरू जस्तै सुरक्षा, आत्मसम्मान, जीवनको अर्थपूर्णता आदि नष्ट गरिदिन्छ र ऊ पुनः त्यो घटनाको अनुभव गर्छ , अरूको कुरा राम्ररी सुन्न सक्दैन, सपनामा घटनाको बारम्बार झझल्को आइरहन्छ।    

बायोपोरल डिसअडर–बायोपोरल डिसअडरलाई म्यानिक डिप्रेसन पनि भनिन्छ। यसले मानिसको मस्तिस्कमा असर गर्दछ। जसको कारणले मस्तिस्कको नर्भस सिस्टमलाई सन्तुलनमा राख्न सक्दैन। सरोटोमिन, डोपामिन र नोराड्रालाइनजस्ता हार्मोनको असन्तुलनले गर्दा बायोपोरल डिसअडरमा भएका मानिसमा खुसी बनाउने र आनन्द महसुस गर्ने अवस्थामा उतारचढाव ल्याउँछ। जसको कारणले उनीहरू थाकेको महसुस गर्ने, कम सुत्ने तर शारीरिक सम्पर्क गर्ने इच्छा भने सक्रिय हुने गरेको पाइन्छ।

साइकोसिस–साइकोसिस पनि मानसिक रोग हो। यो वंशानुगत पनि हुन सक्छ। यसअन्तर्गत सिजो˚ेनिया, बायोपोरल डिसअडर, डिप्रेसन, लागु औषधि र मनोरञ्जनात्मक रुपमा गरिने पेय र अन्य पद्वार्थको अत्यधिक प्रयोग या एक्कासि छोड्दा पनि साइकोसिस हुन सक्छ। यस्तो अवस्थाका मानिसको मस्तिस्कमा दबाबको मात्रा अत्यधिक हुन्छ।  

डिप्रेसनलाई नै आत्महत्याको प्रमुख कारण मानिन्छ। सबै आत्महत्यामा एकैप्रकारले या एकैप्रकारको सोचाइ आउँछ भन्ने हुँदैन । प्रायः सबै आत्महत्या सुनियोजित तरीकाले गरेको पाइन्छ। कहिलेकाहीँ किशोरकिशोरी र वयस्कहरूले अकल्पनीय घटनाका कारण आवेगमा आएर विनायोजना आत्महत्या गरेको पनि पाइएको छ। कतिपय आत्महत्याको कारण पत्ता लाउन सकिएको छ भने कति रहस्यकै गर्भमा छन्।  

सामाजिक संजालमा ‘म एक्लो महसुस गरिरहेको छु, म टाढा जान चाहन्छु, म मेरो सपनाको संसारमा हराउन चाहन्छु, मलाई अब बाँच्न पुग्यो’ आदि आशय बोकेका भनाइहरू देखेमा त्यसलाई बेवास्ता नगरौं । बरु तिनको सहयोगका लागि पहल गरौं।  

आत्महत्याका ४ वटा अवस्था हुने गरेको पाइन्छ।  

न्यून अवस्था–आत्महत्या गर्ने विचार आएको तर योजना नभएको र गर्न कोसिस पनि नगरेको अवस्था।  

मध्यम अवस्था–आत्महत्या गर्ने विचार आएको तर स्पष्ट योजना नभएको र गर्न कोसिस नगरेको अवस्था।  

उच्च अवस्था–आत्महत्या गर्ने विचार आएको र विशेष योजना बनाएको तर गर्न कोसिस नगरेको अवस्था।  

गम्भीर अवस्था–आत्महत्या गर्ने विचार आएको र विशेष योजना बनाएको र गर्न कोसिस  गरेको अवस्था।    

मानिस आत्महत्या गर्नुभन्दा अघि कस्ता लक्षणहरू देखाउँछन्।  

विशेष गरी एक हप्ताअगाडि देखि नै राम्ररी सुत्न सकेको हुँदैन।

अलि उदास भएजस्तो देखिन्छ र एकान्तमा बस्न खोच्छ।  

पहिले जस्तो कुनै पनि काम गर्न इच्छा देखाउँदैन।

हार्मोनहरूको असन्तुलनले गर्दा जीवनसँग रमाउन सक्दैन।

आफूले आफैंलाई घृणा गर्छ र आफ्नो जीवन अर्थहीन भएको महसुस गर्छ।

उसको मनमा नकारात्मक सोचको मात्रा बढ्नाले घरपरिवार, साथीभाइ कसैले पनि उसलाई माया र हेरचाह गर्दैनन् भन्ने सोच्छ।

उसको सोचाइमै परिवर्तन आएको हुनाले अरूले उसको भावना वा चाहना नबुझेको र आफ्नो भावनाको कसैले कदर नगरेको जस्ता अभिव्यत्ति दिने गर्दछ।

मृत्युको बारेमा र मर्न मन लाग्छ भन्ने गरेको पाइन्छ।

मर्नका लागि प्रयोग गरिने विभिन्न तरीकाको खोजी गरेको पनि पाइन्छ।  

कसैले यसभन्दा अघि पनि आत्महत्या गर्ने कोसिस गरेको हुन सक्छ।

उसको परिवारका सदस्यले पनि आत्महत्या गर्ने कोसिस गरेको या आत्महत्या नै गरेको हुन सक्छ।  

कसरी, कहाँ, कहिले र कुन समयमा मर्ने भन्ने समेत योजना बनाएको पाइन्छ।  

कसैनकसैलाई आफ्नो योजनाको बारेमा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा जानकारी दिएको पाइन्छ।  

सामाजिक संजालमा ‘म एक्लो महसुस गरिरहेको छु, म टाढा जान चाहन्छु, म मेरो सपनाको संसारमा हराउन चाहन्छु, मलाई अब बाँच्न पुग्यो’ आदि आशय बोकेका भनाइहरू देखेमा त्यसलाई बेवास्ता नगरौं । बरु तिनको प्रोफाइलमा गएर हेरौं र सहयोगका लागि पहल गरौं।  

तपाईलाई कसैले माथि उल्लेख गरेअनुसारका कुरा गरे आत्महत्याको विषयलाई यसरी उठान गर्न सक्नुहुन्छ। तपाईं नडराई सीधै प्रश्न गर्नुहोस् ‘के तिमी आत्महत्या गर्ने बारेमा सोच्दै छौ? योभन्दा अगाडि पनि तिमीले सोचेका थियौ र कसरी गछौ या योजना मात्र बनाएका हौ जस्ता प्रश्हरू सोध्नुहोस् र उसको उत्तरलाई सक्रिय रूपमा सुन्नुहोस्। आफू आत्तिएको जस्तो या उसका कुरालाई गम्भीर रूपमा लिए जस्तो नगर्नुस् तर समान अनुभूति र सहयोगको भावना भने देखाउनुहोस्। त्यसपछि उसका कुराले तपाई अत्यन्तै दुःखी, चिन्तित र पीडित बनाएको र ऊ तपाइँका लागि महत्वपूर्ण व्यक्ति कुरा सुनाउनुस्। सम्बन्धित व्यक्तिसँग भेट्न उत्पे्ररित गर्नुहोस् र भेटाउन सहयोग पनि गर्नुहोस्।  

मनोचिकित्सकसँग उपचार गराएको केही समयपछि आध्यात्मिक डाक्टरकोमा योग अभ्यास, ध्यान र प्राणायामको प्रशिक्षण लिएमा मानसिक अवस्थामा आएको दबाबलाई नियन्त्रण गर्न मद्दत पुग्छ । विभिन्न आशन, श्वासप्रश्वास क्रिया, एकाग्रताले आनन्दको अनुभूति गराउन सहयोग गर्दछ।

एउटा कुरा ख्याल गर्नुहोस् उक्त व्यक्तिले साँच्चै आत्महत्या गर्न लागेको हो कि कसैलाई घुर्काउन भनेको हो पक्का गर्नुहोस्। सोहीअनुसार सहयोगको व्यवस्थापन गर्नुहोस् तर उसलाई  एक्लै नछोडनुस् । सहयोगको व्यवस्था नभएसम्म ऊसँगै बस्नुहोस्। उसलाई तुरुन्त सहयोग चाहिएमा मानसिक स्वास्थ्य नेपालको ९८४९६३०४३० या ९८४००२१६०० नम्बरमा सम्पर्क गरी सहयोग लिन सकिन्छ ।  

आत्महत्या गर्नबाट कसरी रोक्ने ?  

आत्महत्यालाई रोकथाम गर्न सकिन्छ तर पहिले यसलाई रोक्नुपर्छ। हामीले यसबारे कुरा गर्नुपर्छ र हाम्रो कुरा गर्ने तरीकाले यसलाई असर गर्छ।  

मनोचिकित्सकको सहयोग लिने किनभने मानसिक रोगलाई मनोचिकित्सककै आवश्यकता हुन्छ। मनोचिकित्सकको सुझाव, सल्लाह र मार्गनिर्देशनअनुसार विरामीको हेरचाह गरेमा विरामी पुनः स्वस्थ्य हुन सक्छ। उसको हेरचाह कसरी गर्ने, के गर्ने, के नगर्ने, उसका  दैनिक क्रियाकलापका बारेमा डाक्टरसँग स्पस्ट रूपमा बुझ्ने र डाक्टरको सल्लाहअनुसार मात्र औषधि प्रयोग गर्ने। बोलाएको समयमा विरामीलाई अनिवार्य रूपमा डाक्टरकोमा लैजाने। अब ठीक भयो भनेर आफैं औषधिको मात्रा घटाउने, छोडने गर्नु हुँदैन। उसका हरेक गतिविधिलाई नजिकबाट नियाल्ने र केही अनौठो महसुस गरेमा तुरुन्त डाक्टरलाई जानकारी गराउने। र, सोही अनुसार काम गर्ने। सक्रिय रूपमा सहयोगी बन्ने र समय समयमा के चाहिन्छ, कस्तो छ भनेर अन्तरक्रिया गरिरहने। अन्तरक्रियाको क्रममा जीवनका बारेमा सकारात्मक परिवर्तन ल्याउने कुरा गर्ने। स्वास्थ्य र सरसफाईका बारेमा छलफल गर्ने र सँगै बस्न पे्ररित गर्ने। उसका लागि हानिकारक हुने खालका वस्तु उसको पहुँच नपुग्ने ठाउँमा राख्ने र धैर्यधारण गर्ने किनभने उसलाई तपाईंको सहयोग र साथ लामो समयसम्म आवश्यक पर्छ।  

‘के तिमी आत्महत्या गर्ने बारेमा सोच्दैछै? योभन्दा अगाडि पनि तिमीले सोचेका थियौ र कसरी गछौ या योजना मात्र बनाएका हौ? जस्ता प्रश्नहरू सोध्नुहोस् र उसको उत्तरलाई सक्रिय रूपमा सुन्नुहोस्।

मनोचिकित्सकसंगको उपचार र औषधि प्रयोगको केही समयपछि आध्यात्मिक डाक्टरकोमा पनि योग अभ्यास, ध्यान र प्राणायामको प्रशिक्षण लिन उत्प्रेरित गरेमा राम्रो हुन्छ। दैनिक अभ्यास  गरेको खण्डमा मानसिक अवस्थामा आएको उच्च र कम दवावलाई नियन्त्रण गर्छ। विभिन्न आशनहरू, श्वासप्रश्वास क्रिया, एकाग्रताले आनन्दको अनुभूति गराउन सहयोग गर्दछ। फलस्वरूप मन, मस्तिस्क र दबाबको अवस्थालाई व्यवस्थापन गर्न सहयोग गर्दछ।

माइन्डफुलनेस  बेस कगनेटिभी थेरापीले नकारात्मक सोचाइलाई कसरी हटाउने भन्ने सिकाउँछ। यसको नियमित रूपमा अभ्यास गरेमा डिप्रेसनमा सुधार हुँदै जान्छ। किनभने योग अभ्यास, ध्यान र प्राणायामले मानसिक स्वस्थ्यका लागि चाहिने हार्मोन उत्पादन गर्न थाल्छ।  फ लस्वरूप बिस्तारै सोचाइमा सकारात्मकता आउन थाल्छ। यसको अभ्यास दैनिक रूपमा बढाउँदै जानुपर्छ। ताकि गर्ने व्यक्तिले आनन्दको महसुस र स्वस्फूर्त गर्ने खालको वातावरण बनाउनुपर्छ। अन्यथा यो उसका लागि बोझ बन्न सक्छ।  

आत्महत्या अन्यन्तै सम्वेदनशील विषय भएकाले मनोचिकित्सक या मनोवैज्ञानिकको सल्लाहअनुसार मात्र सहयोग गरौं। जब योग अभ्यास उसको दिनचर्या बन्छ तब उसले दैनिक रूपमा आफ्नै घरैमा पनि थप केहि अभ्यास गर्न सक्छ।  

जस्तैः  

बसेर आनन्द आउने अवस्था कल्पना गर्ने।

शरीरका विभिन्न भागमा सचेत हुने, तातो, कस्सिएको र पीडाको महसुस गर्ने।  

आँगनमा हिँड्डुल गर्ने र त्यसबखतमा अनुभूतिमा ध्यान दिने।

शारीरिक व्यायाम गर्ने जसले गर्दा नचाहिने विकार पसिनाको रूपमा शरीरबाट बाहिर आउँछ।  

यदि यी गतिविधि दैनिक रूपमा आफैं गर्ने या कसैका साथमा गरेमा सोचेभन्दा धेरै प्रभावशाली नतीजा आउने छ।फेरि पनि विरामीलाई ठिक भयो भनेर एक्लै नछाड्ने बरु आफूसँगै उमेर र क्षमताअनुसारका काममा संलग्न गराउने, गर्न प्रेरित गर्ने र उसलाई आफ्नो निगरानीमै राख्ने।  

अन्त्यमा, आत्महत्यालाई रोक्ने मूलमन्त्रका रूपमा कनेक्ट, कम्युनिकेट र केयर यी तीन शब्दले प्रभावकारी भूमिका खेल्छन् ।  

(खड्का सुनगाभा वाटिका नेपालकी निर्देशक तथा मनोविमर्शकर्ता हुन् ।)

प्रकाशित: ६ असार २०७७ १०:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App