७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोना संक्रमित गर्भवती भरतपुर अस्पतालमा

भरतपुर अस्पतालको आइसोलेसन वार्डमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित २५ वर्षीया गर्भवतीलाई उपचारका लागि राखिएको छ । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १, चौकीटोल स्थायी घर भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बुधबार हेटौँडाबाट भरतपुर ल्याइएको हो ।

हेटौँडास्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि भरतपुर अस्पताल ल्याई आइसोलेसन वार्डमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । भरतपुर महानगरपालिका १२, मालपोतचोक नजिकै रहेको डेरामा श्रीमानसहित बस्दै आएकी ती महिला जेठ ९ गते श्रीमानसँग मोटरसाइकलमा हेटौँडा गएकी थिइन् ।

हेटौँडा पुगेपछि स्थानीय जनप्रतिनिधिहरुले कोरोना परीक्षणपछि मात्र घर जानु भनेपछि ती महिला र उनका श्रीमान् बेलुका हेटौँडा ४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टीनमा राखिएको थियो । भोलिपल्ट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । गर्भवतीको नतिजा पोजेटिभ आएपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो । उनका श्रीमानको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।

कोरोना संक्रमित गर्भवती श्रीमानसँग डेरामा बस्दै आएको घरलाई बुधबार नै सिल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले संक्रमित महिला डेरामा बस्दै आएको घरमा अन्य तीन जना बस्दै आएकोले बिहीबार उनीहरुको स्वाब संकलन गरी पिसिआर विधिबाट कोरोना परीक्षण गरिने जानकारी दिए । उनीहरु तीन जना घरबेटीको परिवारका सदस्य रहेको तिवारीले बताए ।

प्रकाशित: १४ जेष्ठ २०७७ १५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App