१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘वनको काफल वनकै चरीलाई’

वीरेन्द्रनगर- वनको काफल वनकै चरीलाई
तिम्रो माया दुई दिनको भएनि, मेरो माया जुनीभरिलाई...

गायक राजु परियार, गायिका सिर्जना बिरही र बिमा कुमारीको समधुर स्वरमा सजिएको यो गीत विशेष गरी चैत वैशाखतिर औधि रुचाइन्छ । यतिखेर वन जंगलमा लठरम्म काफल फलेका हुन्छन् । मौसमी प्राकृतिक सौन्दर्यसँग गीत लक्षित हुँदा पनि यतिबेला गीत अझ बढी रुचाइन्छ ।

गीतमा भनिएजस्तै यस वर्ष वनको काफल वनकै चरीलाई भएको छ । यतिबेला बजारका चोकचोकमा पाइने उक्त काफल टिप्न कोही गएका छैनन् । ती काफल बजारसम्म पुग्न सकेका छैनन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) को प्रभाव जंगलमा पाइने काफलमा पनि परेको छ । यतिबेला केहीले आम्दानीको राम्रो स्रोत ठान्थ्ये । काफल पाइने समयमा यहाँका बासिन्दा काफल लिएर वीरेन्द्रनगरलगायतका बजारमा जाने भए पनि यस वर्ष काफल टिप्न नसकेको बाबियाचौरका दीपक जोशीले जानकारी दिए । यहाँका मालिका, कोल्चे, पाँचपोखरी, दोबाटा, सुसेलीको जंगलमा काफल पाइन्छ । अहिले बेलाबेलामा वर्षा भइरहँदा त्यति धेरै काफल पाक्न पाएको छैन । ‘धेरै नपाके पनि केही व्यक्ति काफल टिपेर बजार पुर्‍याउँथ्ये,’ उनले भने, ‘तर अहिले त्यस्तो भएन ।’

गर्मी बढेपछि अबको केही दिनमा काफल लठरम्म पाक्ने उनको भनाइ छ । धेरै परिवारले काफलबाट राम्रो आम्दानी गर्छन् । ‘यसमा लगानी नहुने हुँदा पनि कतिपयले यसबाट राम्रो आम्दानी हुन्छ,’ रतुकी गीता चपाईंले भनिन्, ‘अहिले जंगलमा काफल टिप्न कोही गएका छैनन् ।’ पाकेका केही काफल खस्ने गरेको र चराचुरंगीको आहारा हुने गरेको उनले बताइन् । कतिपय बालबालिकाले काफल बिक्री गरेर कापीकलममा खर्च गर्ने उनको गीता बताउँछिन् । चैतदेखि जेठसम्म यहाँका जंगलहरूमा काफल पाइन्छ ।

त्यस्तै यो समयमा काफल बिक्री गरेर राम्रो आम्दानी गर्ने गरेको गुर्भाकोट–३, धारापानीकी खली दमाईले बताइन् । ‘गत वर्ष यो समयमा काफल बजार पुगी सकेको हन्थ्यो,’ उनले भनिन्, ‘यस वर्ष काफल टिप्न गएकै छैन ।’ यहाँका हिले, गोब, टिम्मुरे, काउले, गोगनेपानी, भदालेलगायतका जंगलमा काफल पाइन्छ । ‘यो समयमा दैनिक खर्चका लागि आम्दानीको स्रोत काफल हुने गथ्र्याे,’ उनले भनिन्, ‘यो वर्ष भएन ।’

प्रकाशित: २३ वैशाख २०७७ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App