७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कतार एयरलाइन्सबाट आएकाहरूको खोजी गर्दै प्रहरी

चितवन – चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका एक सय ५८ जनामध्ये चितवनका ६ जनालाई प्रहरीले खोजी कार्य सुरू गरेको छ। कतार एयरलाइन्सको विमानबाट चितवन आएकाहरूमा दीक्षा कँडेल, शम्भु नेपाली, पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला र सुरेश गुरूङ रहेका छन्। 

प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेस्कको निर्देशनअनुसार उनीहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय, विशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए।

कतार एयरलाइन्सको विमान चढेर फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षीया युवतीलाई टेकु अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखा परेको थियो। अहिले उनको आइसोलेसनमा उपचार भइरहेको छ। सोही विमानबाट नेपाल फर्किएका अन्य यात्रुमा पनि कोरोना फैलिने सम्भावना भएकाले चितवनमा आएका जोखिममा रहेका छ जनालाई प्रहरीले खोजी गरेको हो। 

प्रभावकारी बन्दै लकडाउन

सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण नफैलियोयस् भनि मंगलबारदेखि एक हप्ताको लागि घोषणा गरेको लकडाउन चितवनमा दोस्रो दिन अघिल्लो दिनभन्दा बढी प्रभावकारी देखिएको छ। सदरमुकाम भरतपुरका भित्री सडकमा मोटरसाइकल, कार, अटोरिक्सा, साइकल भने फाट्टफुट्ट चलेका छन् । पैदल हिँड्नेहरु पनि बाटोमा भेटिएका छन् ।
नारायणगढदेखि लोथरसम्मको हाइवेमा सवारीसाधन कम गुडेपनि भित्री सडकहरुमा निर्वाध गुडेका थिए ।

लकडाउनबारे जानकारी नभएर वा अवज्ञा गरेर सडकमा हिँड्ने र सवारी कुदाउनेहरु साँझसम्मै देखिन्थे। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना भाइरसको महामारीबाट आफू बच्न र अरुलाई बचाउन सबै जना घरभित्रै बस्न, अत्यावश्यक कामबाहेक अरुबेला घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
 

प्रकाशित: १२ चैत्र २०७६ ०८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App