१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

कोशी प्रदेशमा २ हजार ६ सय एचआइभी संक्रमित

कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी एआरटी सेवा लिइरहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ  ।  

शुक्रबार विराटनगरमा एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) सँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको पत्रकार अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले संक्रमणको फैलावट रोक्न समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेको बताए ।  

उनले कोशी प्रदेशमा रहेका कुल संक्रमितमध्ये २५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या अत्यधिक रहेको  जानकारी दिए । प्रदेशमा ११ वटा एआरटी केन्द्रहरूले संक्रमितको सहजताका लागि विभिन्न सेवाहरू निः शुल्क उपलब्ध गराउँदै आएको उनले बताए ।  

केन्द्रहरूबाट एचआईभी परामर्श तथा परीक्षण, कन्डम वितरण, एआरटी औषधि, यौन रोगको परामर्श, भाइरल लोड परीक्षण, ईआईडी परीक्षण र पीएमटीसीटी आमाबाट बच्चामा सर्ने संक्रमण रोक्ने सेवा उपलब्ध हुने घिमिरेले जानकारी दिए ।  

उनका अनुसार गत आर्थिक वर्ष ९१ हजार ६ सय ९१ जना गर्भवतीको परिक्षण गर्दा १० जनामा एचआइभी संक्रमण भेटिएको बताए । नवजात शिसुमा एचआई भी संक्रमण हुन नदिन सबै गर्भवती महिलाको  निःशुल्क एचआइभी परिक्षण गर्ने व्यवास्था गरिएको उनले बताए ।  

एएचएफ नेपालका मेडिकल एडभाइजर डा. उन्नत श्रेष्ठले देशभर ३४  हजारभन्दा बढी संक्रमित रहेको अनुमान गरिएको भए पनि हाल २ हजार ७ सय जना संक्रमतिले देशभर संचालनमा रहेका एआरटी सेन्टरबाट सेवा लिइरहेको जानकारी दिए।  

उनका अनुसार विशेषगरी यौनकर्मी, समलिंगी, कैदीबन्दी र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा संक्रमणको दर बढी देखिएको छ । डा.श्रेष्ठले सन् २०३० सम्ममा एचआईभी एड्सलाई जनस्वास्थ्यको समस्याका रूपमा अन्त्य गर्ने रणनीति सरकारले लिएको बताए । यसका लागि सबै पक्षको सक्रिय साथ र सहयोग आवश्यक रहेकोमा श्रेष्ठले जोड दिए ।  

 

प्रकाशित: २५ वैशाख २०८३ २०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App