३० श्रावण २०७७ शुक्रबार
स्वास्थ्य

नेपालमा दस जनामध्ये एकलाई दम

काठमाडौं - नेपालमा प्रति १० जना व्यक्तिमध्ये एक जनामा दम रोग रहेको अनुसन्धानले देखाएको छ। विश्व दम रोग दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित एक अन्तक्र्रियामा हालै सार्वजनिक गरिएको एक स्वास्थ्य अनुसन्धानको तथ्यांकलाई आधार बनाएर विज्ञहरू नेपालमा दम रोगी घट्नुको सट्टा झन्झन् बढ्दै गएको बताए। प्रतिवेदनअनुसार नेपालमा कुल जनसंख्याको ११.७ प्रतिशतमा दम रोग छ।

सबैभन्दा बढी कर्णाली प्रदेशमा २५.१ प्रतिशतमा यो रोग छ। यो भनेको प्रतिचार जनामध्ये एक जनामा दम हुनु हो। कर्णालीपछि प्रदेश २ मा १६.४ प्रशितमा दम पाइएको छ। यसको अर्थ प्रति ६ जनामध्ये एकमा दम रोग हुनु हो। त्यसपछि सुदूरपश्चिम प्रदेशमा १४.३, प्रदेश ३ मा ११.७, प्रदेश ५ मा ९.५, प्रदेश १ मा ६.२ र गण्डकीमा ६ प्रतिशतमा दम रोग छ। सुदूरपश्चिममा प्रतिसात जनामध्ये एकलाई दम रोग भएको पाइएको छ। दम रोगबाट मृत्यु हुनेहरूमध्ये ९० प्रतिशत अति कम विकसित मुलुकमा हुन्छ। विश्वमा अकाल मृत्युको चौथो कारण दम रोग हो।

नेपालमा बढ्दो सहरीकरण, परम्परागत इन्धन, धूमपानजस्ता कारणले दम रोग बढिरहेको विज्ञ चिकित्सकहरूले औंल्याए। वीर अस्पताल श्वासप्रश्वास रोग विभागका प्रमुख डा. अशेष ढ्ुंगानाले भने, ‘पहिला चुरोट र दाउराको इन्धनले दम रोग बढ्ने बढी थिए, अहिले बाहिरी प्रदूषणले दम रोगी बढेका छन्।’ सहरीकरणसँगै निस्कने धुलो, गाडीको इन्धनबाट निस्कने धुवाँका कारण पनि दम रोगी बढ्दै गएको र दमका रोगीमा थप समस्या बढिरहेको डा. ढुंगानाको भनाइ छ।

चिकित्सकका अनुसार पहिला र अहिलेको दम रोगका लाग्नुको कारणमा परिवर्तन आएको छ। पहिला नियमित लामो समयसम्म धूमपान गर्ने र आगोमा खाना पकाउनेमा दम रोग देखिन्थ्यो, अहिले सडकको धुलो–धुवाँका कारण दम रोगी बढेका छन्।

चिकित्सकका अनुसार पहिला र अहिलेको दम रोगका लाग्नुको कारणमा परिवर्तन आएको छ। पहिला नियमित लामो समयसम्म धूमपान गर्ने र आगोमा खाना पकाउनेमा दम रोग देखिन्थ्यो, अहिले सडकको धुलो–धुवाँका कारण दम रोगी बढेका छन्। ‘पहिला लामो समय चुरोट सेवन गर्नेमा दम हुन्छ भन्ने कुरा प्रमाणित भएको थियो, अहिले चुरोट नपिउनेहरूमा पनि दम रोग गराउँछ भन्ने कुरा अनुसन्धानले प्रमाणित गरिसकेका छन्,’ डा. ढुंगानाले भने। नेपालमा अहिले बढिरहेको प्रदूषणको परिणाम अबको आठ÷नौ वर्षमै दम रोगीको संख्या बढ्ने उनको अनुमान छ। चुरोट र प्रदूषण दुवैको असर पछि गएर दमका रूपमा निस्कने उनको भनाइ छ। यी दुवैको सम्पर्क हुने जनसंख्या अहिले पनि उस्तै स्वरूपमा भएकाले दम रोग घट्नुको सट्टा बढ्ने क्रममा छ।

चिकित्सकका अनुसार प्रदूषणको कारण दम रोगी बढ्छ नै, पुराना रोगीमा समस्या झन् जटिल बन्छ। बढ्दो प्रदूषणका कारण सहरवासी, कलकारखानामा काम गर्ने मजदुर, गाउँघरमा दाउराको चुलो, गुइँठाबाट खाना पकाउने भान्छे महिलाहरू, कर्णाली प्रदेशमा जाडोमा घरभित्र आगो ताप्नेहरूमा दम रोगको बढी जोखिम देखिएको छ। प्रदूषणमा हुर्केका बालबालिकामा पनि सानो उमेरमै दम रोग हुने जोखिम हुने चिकित्सकहरू बताउँछन्। प्रायः नियमित धूमपान गरेका मानिसमा बुढेसकालमा देखिने यो रोग आजभोलि आधा उमेर नपुग्दै देखिन थालेको अस्पतालमा पुग्ने बिरामीको स्थितिले देखाएको छ।

राष्ट्रिय इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा दम रोगसम्बन्धी जनचेतनाको कमी, ग्रामीण भेगमा दाउरा तथा गुइँठाबाट खाना पकाइनु, वायुप्रदूषण, बढ्दो सहरीकरण, इनहिलर उपचार पद्धतिप्रतिको नकारात्मक धारणा, भौगोलिक विकटता, दुर्गममा छातीरोग विशेषज्ञको अभाव, महँगो उपचार पद्धति, सबैमा स्वास्थ्य बिमाको पहुँच नहुनुजस्ता समस्याका कारण दम रोग न्यूनीकरण चुनौतीपूर्ण बनेको छ। दम रोग लागिसकेका बिरामी नियमित उपचारमा पुग्ने, नियमित व्यायाम गर्ने, धुलोधुवाँबाट बच्ने गरे दम रोगीलाई फाइदा पुग्छ।

दम रोगबाट बच्न धुलोधुवाँबाट टाढा रहन, दाउरा तथा गुइँठाको आगोको सम्पर्कमा नरहन, कलकारखानामा काम गर्दा मास्कको प्रयोग गर्न, घरभित्र आगो नबाल्न, धूमपानको प्रयोग नगर्न विज्ञहरू सुझाउँछन्। व्यक्ति स्वयंले गर्ने सुरक्षासँगै देशलाई प्रदूषणमुक्त गर्न वातावरण क्षेत्रमा सरकारले विशेष नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सुझाव डा. ढुंगानाको छ।

प्रकाशित: ५ मंसिर २०७६ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App