चितवनको मह गुणस्तर योग्य रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा गरिएको परीक्षणबाट नेपाल सरकारले बनाएको मापदण्डभन्दा चितवनको महको गुणस्तर धेरैै राम्रो पाइएको हो ।
मौरीपालन विकास केन्द्र भण्डारा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनले महको गुणस्तर परीक्षणका लागि दश वटा नमुना संकलन गरेर प्रयोगशालामा पठाएका थिए । परीक्षणका क्रममा सबै नमुनाको गुणस्तरको नतिजा उत्कृष्ट आएको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईले जानकारी दिए ।
‘चितवनका ११ वटा फर्मबाट रुदिलो, तोरी, चिउरी, फापर र जंगली स्रोतको मह परीक्षणका लागि नमुना पठाइएको थियो । नेपाल मौरीपालन असल अभ्यास कार्यान्वयन निर्देशिका २०७४मा लेखिएका आठ वटा मापदण्ड परीक्षण गर्दा मापदण्डभन्दा धेरै उत्कृष्ट पायौँ,’ कार्यालय प्रमुख अमगाईले भने ‘चितवनमा उत्पादन भएको मह उपभोक्ताले ढुक्क साथ सेवन गर्न सक्नुहुन्छ ।’ उहाँका अनुसार, महको पानीको आद्रता, गुलकोज अनुपात, रिड्युसिङ सुगरको अनुपात, हाइड्रोक्सिमिथाइल फरफुरल, खरानी, फर्मिक एसिड, पानीमा अघुलनशील पदार्थको मात्र परिक्षण गरिएको थियो ।
परिक्षणको क्रममा हाइड्रोक्सिमिथाइल फरफुरलको मात्र प्रतिकेजि ५ देखि १५ एमजिसम्म रहेको पाइएको छ । प्रतिकेजि ४० एमजिभन्दा माथि भएरमा राम्रो मानिदैन । हाइड्रोक्सिमिथाइल फरफुरलको मात्रा जति कम त्यति राम्रो रहेको उनले बताए । पौष्टिक तत्वपनि बढी हुने उनले बताए । त्यस्तै पानीको आद्रता १६ देखि २१ प्रतिशत, गुलकोज अनुपात ० दशमलव २, रिड्युसिङ सुगरको अनुपातको अनुपात ६९देखि ७९सम्म रहेको पाइएको छ । यस परीक्षणबाट आएको नतिजाले सकारात्मक सन्देश दिएको उनले बताए ।

उपभोक्ताले गुणस्तरिय महको पहिचान गर्न नसक्दा ठगिने गरेका छन् । कति महको रङ र जम्ने नजम्मे महको विषयमा उपभोक्ता अलमलमा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मी बताउँछन् । ‘गुलकुजको मात्रा केही बढी भएको मह जम्ने गर्दछ । जम्दा वित्तिकै मह गुणस्तरिय छैन भन्न मिल्दैन । जमेको महको गुणस्तर राम्रो हुन्छ,’ रेग्मीले भने ‘महको स्रोत अनुसार रङ र स्वाद फरक हुन्छ । यसमा केही पनि झुक्निु पर्दैन ।’
कतिपय उपभोक्तामा महको गुणस्तरियताको विषयमा भ्रम समेत छ । त्यसलाई चिर्नका लागि विभिन्न माध्यम प्रयोग गरेर सचेतना मुलक कार्यक्रम गर्दै आएको उनले बताए । परियोजना मार्फत चितवन र मकवानपुरमा मोरी जोन क्षेत्रका कार्यक्रम समेत सञ्चालन भएका छन् । अन्य जिल्लाभन्दा चितवनमा मह उत्पादनमा अग्र स्थानमा छ ।
नेपालमा व्यवसायीक रूपमा मौरीपालन गर्ने किसान १३ हजारको हाराहारीमा छन् । नेपालमा मेलीफेरा मौरी एक लाख ३० हजार, सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी छन् । चितवनमा मात्र १६ हजार पाँच सय मौरीका घार रहेका छन् ।
नेपालमा वार्षिक चार हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । त्यसमध्ये चितवनमा दुई सय ६८ मेट्रिक टन उत्पादन हुने गरेको सरकारी तथ्यांक छ ।
प्रकाशित: १७ असार २०८२ १८:४१ मंगलबार





