१३ माघ २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

सातौँ दिनमा रेडियोग्राफरहरूको आन्दोलन : सेवा अवरुद्ध गर्ने चेतावनी

प्रस्तावित ओएनएम (संगठन र व्यवस्थापन निर्देशिका)मा रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टको न्यायोचित समावेशको माग गर्दै सुरु भएको आन्दोलन आज (बुधबार) सातौं दिनमा प्रवेश गरेको छ।

सरकारी रेडियोग्राफी संघका अध्यक्ष दामोदर रोक्काले स्वास्थ्य र जनसंख्या मन्त्रालयको निरन्तर मौनता र उपेक्षाप्रति गम्भीर आपत्ति जनाउँदै अब सेवा अवरुद्ध गर्ने चेतावनी दिएका छन्। ‘हामी सात दिनदेखि कालोपट्टी बाँधेर विरोधमा काम गरिरहेका छौँ,’ अध्यक्ष रोक्काले भने, ‘र हिजो माइतीघर मण्डलामा सयौँ रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टको उल्लेखनीय उपस्थिति रह्यो, जहाँ हामीले एकजुट आवाजमा विरोध जनायौँ।’

उनका अनुसार आन्दोलनको आगामी रणनीति तय गर्न भोलि (बिहिबार) बिहान बैठक बोलाइएको छ। ‘उक्त बैठकमा अब अत्यावश्यकबाहेकका सबै सेवा स्थगन गर्ने निर्णय हुन सक्छ,’ उनले थपे। ‘रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्ट स्वास्थ्य सेवा प्रणालीको अभिन्न हिस्सा हुन्,’ अध्यक्ष रोक्काले थपे, ‘तर प्रस्तावित ओएनएममा हाम्रो पहिचान, विभागीय ढाँचा र भविष्यप्रति स्वास्थ्य र जनसंख्या मन्त्रालय मौन छ, जुन अस्वीकार्य छ।’

आन्दोलनकारीले प्रस्तावित ओएनएममा रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टको स्पष्ट, निष्पक्ष र न्यायोचित समावेश गर्नुपर्ने माग राखेका छन्। त्यस्तै, कार्यभारअनुसार दरबन्दीको पुनःसंमायोजन र योग्यताका आधारमा अस्पतालमा रेडियोग्राफी विभागको स्वतन्त्र र सशक्त स्थापनाको माग समेत राखिएको छ।

‘हामी संवादको ढोका खुला राख्न चाहन्छौँ,’ अध्यक्ष रोक्काले भने, ‘तर स्वास्थ्य र जनसंख्या मन्त्रालयको चुप्पी अब असह्य बन्दै गएको छ। यदि यो अवस्था रह्यो भने, सेवा बन्दको सबै जिम्मेवारी मन्त्रालयले लिनुपर्नेछ।’ सरकारी रेडियोग्राफी संघले नेतृत्व गरेको आन्दोलनमा विभिन्न पेशागत संघ–संस्था, नागरिक समाज, र स्वास्थ्य क्षेत्रका सरोकारवाला पक्षले ऐक्यबद्धता राखेको जनाइएको छ। 

प्रकाशित: ११ असार २०८२ १४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App