गर्मी बढेसँगै उपत्यकामा झाडापखालाका बिरामी बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ।
अस्पताल निर्देशक डा. युवानिधि बसौलाका अनुसार पछिल्लो समय दैनिक भर्ना हुुने गरी बिरामी आइरहेका छन्। दैनिक औसत सातजनाका दरले यस्ता बिरामी आइरहेको अस्पतालको आकस्मिक कक्षले जानकारी दिएको छ। कक्षका इन्चार्ज भानेश्वर यादवका अनुसार उनीहरूमध्येमा दुईदेखि तीनजना दैनिक भर्ना भइरहेका छन्। सोमबार साँझसम्म चारजना भर्ना भई उपचाररत छन्। अन्य दैनिक उपचारपछि घर फर्किरहेको निर्देशक बसौलाले बताए।
एक सातायता झाडापखालाका बिरामी बढ्न सुरु भएको हेल्पिङ ह्यान्ड्स अस्पतालले जनाएको छ। अस्पताल निर्देशक मुक्तबहादुर श्रेष्ठका अनुसार चाहबिलनजिकका क्षेत्रबाट बिरामी आइरहेका छन्। उनीहरू दैनिक १५ देखि २० जनाका दरले उपचारमा आइरहेको बताए। भर्खरै सुरु भएको र यो बढ्ने क्रममा रहेको उनले बताए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सोमबारसम्मको तथ्यांकअनुसार उपत्यका र उपत्यकाबाहिरका केही जिल्लामा झाडापखाला उल्लेखनीय संख्यामा पाइएको छ। महाशाखामा प्राप्त कुल तथ्यांकअनुसार काठमाडौं १९७, ललितपुर ६०, भक्तपुर ५५, काभ्रे ३७ र पर्सामा ४९ जनामा यो समस्या देखिएको छ। यो सातासम्ममा आठ सय २९ जना पुगेका छन्। गत वर्ष यही समयमा सात सय ४३ जनामा संक्रमण भएको थियो।
त्यसैगरी हालसम्म विभिन्न जिल्लामा हैजा पनि पुष्टि भएको छ। भक्तपुर ३७, दोलखा ४, रूपन्देही ३, भोजपुर २ र खोटाङमा दुईजनामा हैजाको आशंका गरिएको छ। पछिल्लो समय विगतका वर्षमा भन्दा झाडापखालाको संख्या घट्दै गएको अस्पतालहरूको अनुभव छ। ‘पछिल्ला वर्षहरूमा झाडापखाला हुनेको संख्या कम देखिन्छ’, हेल्पिङ ह्यान्डस अस्पतालका निर्देशक डा. श्रेष्ठले भने।
विकसित मुलुकमा वर्षौं पहिला नियन्त्रणमा आइसकेको झाडापखाला नेपालमा भने बर्सेनि उल्लेखनीय संख्यामा भेटिनुको कारण हामीले प्रयोग गर्ने पानी र खानपान प्रमुख कारण रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुन बताउँछन्। ‘जापानमा पनि झाडापखाला हुने गरेको देखिँदैन, अरू देशमा पनि यस्तो छैन’, उनले भने।
पुनको विचारमा बर्सेनि जारको पानीमा हैजाका जीवाणु भेटिएको रिपोर्ट आइरहनु, धाराको पानी पनि विशुद्ध हुनेजस्ता मुख्य कुरामा सुधार नहुँदा समस्या बर्सेनि देखिएको हो। नियमित उपभोक्ता माझमा पुग्ने यस्ता पानीका स्रोतको अनुगमन नहुनुले पनि समस्यामा अपेक्षित सुधार हुन नसकेको डा. पुन बताउँछन्। ‘मुख्य कुरा हामीले पिउने पानीको शुद्धीकरण सय प्रतिशत हुनुपर्छ, त्यो हुन सकेको छैन’, उनले भने।
वर्षाको समयमा पानीको मुहान दुषित हुनु, मुहानबाट पानी शुद्ध पठाए पनि फुटेका पुराना पाइप जुन ढलको पाइपसँग जोडिएका हुन्छन्। ती पाइपबाट पानी आइपुग्दा संक्रमित हुँदा पनि पानी दुषित हुने गर्छ। यस्तो पानी होस् या जारबाट लिइएको पानी शुद्धीकरण गरेर मात्र प्रयोग गरेमा झाडापखालाबाट बच्न सकिने उनले बताए। पानी उमालेर, शुद्धीकरण गरेर मात्र पिउने, सडेगलेका खानेकुरा नखाने, सकेसम्म घरबाहिर सफाइको सुनिश्चित नभएको ठाउँका खानेकुरा खान नहुने चिकित्सकको सुझाव छ।
प्रकाशित: ११ असार २०८२ ०९:३४ बुधबार