३० असार २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

'पाठ्यक्रममा स्वास्थ्य शिक्षा ऐच्छिक होइन अनिवार्य बनाइनुपर्छ'

विद्यालय तहका पाठ्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका विषयहरू अनिवार्य रूपमा पढाइनु पर्ने आवश्यकता औंल्याइएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त आवश्यकता औंल्याइएको हो। यौन तथा प्रजनन स्वास्थ्यका विषयमा काम गर्दै आएको सीप सूचना समाज (सिसो), नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले विद्यालय तहमै यौन शिक्षा दिन सकेको खण्डमा भविष्यमा हुने समस्याबाट मुक्त भइने बताए। उनले किशोरकिशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा  जानकारीको अभाव हुनाले समस्यामा पर्ने गरेका घटनाहरू बाहिर आएको बताए।

उनले भने, 'विद्यालय तहबाटै यौन शिक्षा अनिवार्य बनाइनुपर्छ। कानुनले व्यवस्था गरेका अधिकारका बारेमा युवा तथा किशारकिशोरीलाई केही जानकारी छैन।'

यस्तै उनले अन्य विषयहरूमा जस्तै स्वास्थ्य शिक्षा विषयका शिक्षकहरूको दरबन्दी पनि छुट्याउनुपर्ने माग राखे।

यससम्बन्धी शिक्षा दिन सके यसको अभावमा आउन सक्ने समस्या समयमै समाधान गर्न सकिने उनको भनाइ छ।

सोही क्रममा यौन तथा प्रजनन स्वास्थ्य विज्ञ खेमबहादुर कार्कीले यौन स्वास्थ्य सबैका लागि आवश्यक विषय भएको बताएका छन्। यसको आवश्यकता सबैलाई भए पनि समाजमा आफ्ना समस्या खुलेर राख्न र बहस गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ। उनले यसबारे सचेतना फैलाउन आवश्यक रहेको बताए।

साथै उनले अस्वस्थ्यकर जीवनशैलीले पनि मानिसमा यौन दुर्बलताको समस्या बढाइरहेको बताए।

यस्तै प्रेस काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसमबन्धी पर्याप्त समाचार सङ्कलन हुन नसकेको बताउँदै उनले यो संवेदनशील विषय भएकाले यसबारेमा समाचार सङ्कलन, सम्प्रेषण गम्भीर भएर गर्नुपर्ने उल्लेख गरे।

सिसो नेपाल र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा सञ्चारकर्मी तथा पत्रकारहरूका लागि ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो। उक्त अभिमुखीकरणमा काठमाडौं उपत्यकाका साथै अन्य जिल्लाबाट पनि सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ७ असार २०८२ १९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App