नेपाली चलचित्र हुन् या म्युजिक भिडियो । कुनै न कुनै चलचित्र या म्युजिक भिडियोमा पात्रले चुरोट एवं खैनी सेवन गरेको भूमिका हुन्छ, तर यस्तो दृश्यको चलचित्र हेरेका नयाँ पुस्ता र बालबालिकामा प्रभाव परी यसको प्रयोगकर्ता बढ्ने गरेको सरोकारवालाले औंल्याएका छन् । काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य खबर पत्रिकाद्वारा संयुक्त रूपमा आयोजित एक छलफलमा यस्तो औंल्याइएको हो ।
सो क्रममा एक्सन नेपालका कार्यक्रम निर्देशक आनन्द चन्दले चलचित्रमा देखिने यस्ता दृश्यले युवा पुस्ता प्रभावित भई छिटो धूमपान सेवन गर्ने गरेको बताए । चलचित्रमा चुरोट र खैनी सेवन गरेको दृश्य राख्दा हेर्न पुगेका बालबालिकामध्ये ७० प्रतिशतले चुरोट सेवन गर्ने गरेको अध्ययनले देखाएको औंल्याए । धेरैजसो मानिस सिनेमा हेर्न जाँदा बाबुनानी लिएर जाने र त्यसको पहिलो प्रभाव कलिला किशोर–किशोरीमा पर्ने बताए । चन्दले चलचित्रमा देखिने यस्ता दृश्यबाट सिकेर लतमा परेका युवकयुवती धेरै भएकाले भविष्यमा यो लत मृत्युको कारण बन्ने बताए ।
सिनेमाका पात्रले चुरोट पिएको दृश्यले बालमस्तिष्कमा चुरोट सेवन गरेमा ठूलो मान्छे भइन्छ भन्ने प्रभाव पर्न गई चुरोट पिउने गरेको चन्दले बताए । सानो उमेरदेखि चुरोट पिउनेहरूलाई पछि गएर फोक्सोको क्यान्सर बढी हुने गरेको देखिएको छ’, उनले भने । यो मृत्युको कारकतत्वको प्रयोग घटाउन चलचित्र निर्माताको योगदानले प्रभाव पर्ने उनले बताए । ‘सुर्तीजन्य पदार्थ न्यूनीकरणमा यहाँहरूको योगदान आवश्यक देखिन्छ’, उनले भने ।
चलचित्र बोर्डका अध्यक्ष दिनेश डिसीले पुरानो चलचित्रको तुलनामा नयाँ चलचित्र र भिडियोमा चुरोट खैनी सेवन गरेको दृश्य घट्दो क्रममा रहेको र यसको अन्त्यका लागि चलचित्र निर्देशकको भूमिका विशेष हुने सुझाए । ‘गरिब पात्र हुनेबित्तिकै बिँडी भिरेको दृश्य राख्नैपर्छ भन्ने छैन । विकल्प राखेर पनि चलचित्र सशक्त बनाउन सकिन्छ’, उनले भने । अब आधिकारिक रूपमा दर्ता गर्ने चलचित्र उद्योगहरूले हामीसँग अनुमति लिएर चलचित्र निर्माण गरेमा यस्तो दृश्य चलचित्र बन्नुअघि नै सेन्सर गर्न सकिने बताए । युट्युब भिडियोमाथि भने नियमन गर्न संघले नसक्ने बताए । उनका अनुसार भारतले सन् २००५ पछि चलचित्रमा चुरोट एवं खैनी राख्ने क्रम घटाउँदै लगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले हाल नेपाली चलचित्र तथा म्युजिक भिडियोमा प्रयोग हुने सुर्तीजन्य पदार्थ सेवनको दृश्य हटाउने या यस्ता खालका दृश्य नै नराख्ने गरी चलचित्र र भिडियो निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा सबैभन्दा बढी घाँटी र फोक्सोका क्यान्सर वृद्धि भएको छ । यो स्थिति रोक्न पनि चलचित्रकर्मीको भूमिका आवश्यक छ’, उनले भने । बढिरहेको क्यान्सर सबैभन्दा बढी सुर्तीजन्य पदार्थसँग सम्बन्धित रहेको उनले बताए ।
स्वास्थ्य मन्त्रालय अनुगमन शाखाका प्रमुख डा. भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ सेवन गर्नेमा घाँटी र फोक्सोको क्यान्सर भएको बताए । नेपालमा सुर्तीजन्य पदार्थ सेवनको कारण प्रतिवर्ष तीन हजार नौ सय दुईजनाको मृत्यु हुने गरेको छ भने विश्वमा प्रति चार सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको छ । तथ्यांकअनुसार नेपालमा ५० लाख जनसंख्या चुरोट प्रयोग गर्छ । पछिल्लो समय नयाँ संरचनामा बनेका तमाखु, भेप, हुक्का र निकोटिन पाइप प्रयोग गर्ने चलन बढेको र यसको सबैभन्दा बढी प्रयोगकर्ता पनि युवा पुस्ता रहेको बताए ।
सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन अधिकृत गोपीकृष्ण रेग्मीले नेपालमा सुर्तीजन्य पदार्थ अन्त्य कानुन बनेको र यसको व्यवस्थाअनुसार चलचित्र र भिडियोमा सुर्तीजन्य पदार्थको विज्ञापनलाई प्रतिबन्ध लगाएकाले धुमपानजन्य पदार्थका दृश्य निषेध गरेकाले अबका निर्माताले यो ऐनको अवमूल्यन गर्न नहुने बताए । ‘कुनै पनि चिन्ह वा संकेतद्वारा सुर्तीजन्य सामग्री प्रवद्र्धन, प्रसारण गर्न ऐनले निषेध गरेको छ, यो ऐन चलचित्र तथा भिडियोको क्षेत्रमा लागु हुनुपर्छ’, उनले भने ।
प्रकाशित: २ असार २०८२ २०:३८ सोमबार